इन्स्पेक्टरले महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी दर्ता

धनुषाको एक इलाका प्रहरी इन्चार्जले आफ्नै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको छ।

इन्स्पेक्टरले महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी दर्ता
प्रतीकात्मक तस्वीर

जनकपुरधाम। धनुषाको एक इलाका प्रहरी इन्चार्जले आफ्नै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको हो।

जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई प्रहरी निरीक्षक यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी छिन्।

पीडित महिला प्रहरीले जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटेको बेला भिडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।

ड्युटीको क्रममा इन्स्पेक्टर यादवले पटक पटक गलत नियतले शरीरका अङ्गहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छिन् ।

तर, प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन्।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादवविरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। उनले घटनाको छानबिन पश्चात् मात्र सत्य तथ्य भन्न सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved