रेल सञ्चालन पुनः अनिश्चित

जयनगर–जनकपुरसम्म रेल सञ्चालन हुने भनिएपछि खुसी भएका जनकपुरवासीमा रेल सञ्चालन फेरि अनिश्चित भएपछि निराश भएका छन्। रेल सञ्चालन गर्न सरकारले ल्याएको रेल सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल सञ्चालन अनिश्चित भएको हो।

रेल सञ्चालन पुनः अनिश्चित
फाइल तश्वीर

जनकपुरधाम। जयनगर–जनकपुरसम्म रेल सञ्चालन हुने भनिएपछि खुसी भएका जनकपुरवासीमा रेल सञ्चालन फेरि अनिश्चित भएपछि निराश भएका छन्। रेल सञ्चालन गर्न सरकारले ल्याएको रेल सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल सञ्चालन अनिश्चित भएको हो।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ। ड्राईरनको सफलता पश्चात् यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको थियो। तर, अध्यादेश निष्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन खडा भएको छ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल उद्घाटन गरेर मात्र नहुने सेवा सञ्चालन गर्न कानून चाहिने बताउँदै उनले भने, ‘‘कानून (अध्यादेश) निष्क्रिय भएको कारण तत्काल यात्रुसहित रेल सञ्चालन गर्न सकिँदैन।’’ उनले पुनः कानूनको व्यवस्था भए मात्र उद्घाटनको मिति तय गरिने बताए।

उनले रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठिक रहेको भए पनि कानून अभावमा रेल सञ्चालन गर्न नसकिने बताए। उनले भने, ‘‘रेल सञ्चालन गरिएको खण्डमा घटना दुर्घटना भयो भने समस्या आउन सक्छ।’’

सङ्घीय सदनको बैठकमा ६० दिनभित्र अध्यादेश सदनमा पेस गरिसक्ने कानुनी प्रावधान रहेकोमा यस अवधिभित्र रेल अध्यादेश २०७८ पेस नभएको कारण स्वतः निष्क्रिय भएको महाप्रबन्धक झाले जानकारी दिए।

झाको अनुसार सदन नचलेको अवस्थामा फेरि पनि अध्यादेश ल्याउन सकिन्छ वा मन्त्रालयले छोटो अवधिका लागि कार्यविधि बनाएर रेल सञ्चालन गर्न सकिन्छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गत मङ्सिर १५ गते सरकारले खरिद गरेको रेल तत्काल सञ्चालन नगर्दा रेलको इन्जिनमा समस्या आउने र रेलको संरचनामा थप नोक्सानी हुनसक्ने भन्दै रेल सम्बन्धी कानून व्यवस्था गरी रेल सञ्चालन गर्न कारण सहित अध्यादेश पेस गरेकी थिइन्।

त्यसबेला सङ्घीय संसद्को अधिवेशन नभएको र रेल सम्बन्धी कानून व्यवस्था गर्न आवश्यक भएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ गत मङ्सिरमा जारी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved