यसरी सम्भव भएको थियो एमसीसीमा ‘गठबन्धन-सहमति’

तर राजनीतिक माहोल फेरियो, माओवादी र नेकपा एस एमसीसीमा ‘व्याख्यात्पमक टिप्पणी’सहित पारित गराउन राजी भएपछि १५ फागुन राति ८ बजे नेपालको संसद्बाट एमसीसी पास भयो।

यसरी सम्भव भएको थियो एमसीसीमा ‘गठबन्धन-सहमति’

काठमाडौं।  शनिबार बिहान नेपालको राजनीतिमा हलचल थियो। एमसीसीले सत्तागठबन्धन फुटुने संकेत पटक पटक भयो।

तर शनिबर दिउँसो राजनीतिक माहोल फेरियो। शुक्रबार सुदूरपश्चिम पुगेका नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको फोनले काठमाडौं आइपुगे।

धनगढीमा एमसीसीकै कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको र सरकार छाड्ने संकेत गरिसकेका नेपाल एकाएक काठमाडौं आएपछि एमसीसी पारित गराउने सहमति बन्यो।

सुदूरपश्चिमको कार्यक्रम रद्द गर्दै शनिबर बिहानै काठमाडौं आएका नेपालले लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे। त्यसअघि उनले शुक्रबार राति नै सुदूरपश्चिमबाटै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए।

शुक्रबार साँझ प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोट गएर दुई घण्टा छलफल गरेका थिए। त्यसअघि बिहीबार संसद् भवनमै पनि देउवा र ओलीबीच छलफल भएको थियो। बिहीबारै साँझ ओली बालुवाटार पुगेका थिए।

एमसीसी पास गराउनै प्रमुख प्रतिपक्षीसँग नजिकिएका प्रधानमन्त्री देउवा नजिकिँदा सत्ताका अन्य दल नेकपा माओवादी नेकपा एसमा तनाव उत्पन्न भइसकेको थियो।

माओवादी र नेकपा एसले पार्टीको बैठकबाट औपचारिक रूपमै यथास्थितिमा एमसीसी पास हुन नहुने अडान लिएका थिए। प्रधानमन्त्रीले जबर्जस्ती एमसीसी पास गर्न खोजे सरकारबाट बाहिरिने धम्कीसमेत दिएका थिए यी दुई दलले।

यता प्रधानमन्त्री तथा सरकारमा रहेको प्रमुख दल कांग्रेस कुनै हालतमा एमसीसी पास गराउन लागिपरेको थियो। गठबन्धनभित्र साथ नपाए ऊ एमालेको समर्थन जुटाउन भरमग्दुर प्रयासरत थियो। तर राजनीतिक माहोल फेरियो, माओवादी र नेकपा एस एमसीसीमा ‘व्याख्यात्पमक टिप्पणी’सहित पारित गराउन राजी भएपछि १५ फागुन राति ८ बजे नेपालको संसद्बाट एमसीसी पास भयो।

…अनि गले प्रचण्ड र नेपाल

बिहीबार एमाले र कांग्रेसबीचमा भएको दुुई पटकको संवादले राजनीतिक वृतमा नयाँ समीकरणको सम्भवनामलाई सार्थक बनायो। एमसीसी पास नगराउन प्रधानमन्त्री बनिदिन याचना गरेर प्रचण्ड शर्तसहित ओलीसमक्ष पुगेका थिए।

प्रधानमन्त्री बनिदिन ओलीसमक्ष पुगेका प्रचण्डलाई ओलीले पनि केही शर्त तेर्स्याए। जहाँ पार्टी एक हुँदा बखत आफूमाथि लगाइएका २९ बुँदाका आरोपहरू सार्वजनिक रूपमा खण्डन गरिनुपर्नेसम्मका थिए।

तर प्रचण्डको प्रत्युत्तर सार्वजनिक नभए पनि माओवादीका नेताहरू कांग्रेस एमालेको गठबन्धन बन्ने र एमसीसी धकेलिनेमा विश्वस्त हुन थालेका थिए।

शुक्रबार बिहानै प्रचण्डले पार्टीका मन्त्रीहरूसहित स्थायी कमिटी सदस्यहरूलाई खुमलटारमा बोलाए। खुमलटारमा प्रचण्डले प्रस्ट रूपमा भनेका थिए, अब कांग्रेससँगको गठबन्धन नरहने भयो।’ प्रचण्डले ओलीसँग आफ्नो संवाद बैठकमा ब्रिफिङ गरेका थिए।

त्यसपछि नेताहरूले (खासगरी मन्त्रीहरूले) अधिकतम उपाय निकालेर गठबन्धन टिकाउन प्रचण्डलाई सुुझाए। तर बिहीबार बिहान प्रधानमन्त्री देउवासँग तिक्क्तपूर्ण संवाद गरेका प्रचण्डले एमसीसीमा आफूलाई सहज बनाउन नेकपा एसलाई अघि सार्ने जुक्ति निकाले। जसको परिणामस्वरूप माधव नेपाल सुदूरपश्चिमबाट काठमाडौं आएका थिए।

यता प्रचण्डले त्यसै दिन पार्टीका नेता शक्ति बस्नेत र अर्थमन्त्री जनार्दन शर्मालाई पनि परिचालन गरे। बस्नेत र शर्मा कांग्रेसका नेताहरू गगन थापासँग भेट गर्न पुगे। थापाले केही दिनअघि सारेको ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गरेका थिए। त्यसमा पछि माधव नेपालनिकट थपिए कानूनका जानकार गोविन्द बन्दी।

त्यसपछि यी सबै शुक्रबारै एकपटक प्रधानमन्त्री देउवासँग छलफलमा जुटेका थिए।

यता शनिबार बिहानै नेता नेपाल प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी पास गराउने र सत्ता गठबन्धन पनि नटुट्ने मध्यमार्गी उपायको खोजीमा थिए। जसका लागि देउवा तयार पनि भएका थिए। ‍शनिबार पुनः कांग्रेस नेता थापा, माओवादी नेता बस्नेत र अर्थमन्त्री शर्मा तथा कानूनविद् बन्दी भेटेर व्याख्यात्मक घोषणाको एउटा खाका बनाए।

शनिबार दिउँसो नेता नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र प्रचण्डका साथै नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा छलफल चल्यो। खनाल र माओवादी नेता श्रेष्ठ एमसीसीको चर्को विरोधमा थिए। तर नेपाल र प्रचण्ड सत्ता गठबन्धन भत्किए आउन सक्ने चुनौतीसँग डराए। र निकाले एमसीसीको पक्षमा व्याख्यात्मक टिप्पणी।

कांग्रेस र एमालेको गठबन्धन बने सभामुख अग्नि सापकोटादेखि माधव नेपालसहित १४ सांसदको पद नै खारेज हुने सम्भावना प्रचण्डले देखे। जसको कारण नै आफू व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गराउन सहमत भएको प्रचण्डले खुलाए।

यो पढ्नुहोस्ः सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ : प्रचण्ड

देउवाको दोहोरो दबाब

एमसीसी कुनै हालतमा पास गराउने एकोहोरो रटान कसेका प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धन टुट्नु र जुट्नुसँग खासै चिन्ता देखिएको थिएन। जन केही दिनयता ओलीसँगको उनको निरन्तरको भेटवार्ताले पुष्टि गर्छ।

एमालेसँगको सहकार्यको त्रास देखाएर उनी सत्ता गठबन्धनमा हाबी भइरहे। एमसीसी पास नगराए गठबन्धन फुट्न सक्ने प्रचण्ड र नेपाललाई त्रास सिर्जना गरिरहे।

सत्तागठबन्धनका सहयात्रीको मनोविज्ञान बुुझेर प्रधानन्याधीशमाथि महाअभियोग लगाउनसम्म उत्रिएका देउवाले एमसीसी टेबुल नगरे एमालेको माग पूरा गर्न सभामखुविरुद्ध महाअभियोगसम्म त्रास फैलाए। जसले गर्दा पनि नेपाल र खासगरी माओवादी एमसीसीमा व्याख्यात्मक टिप्पणीसहित राजी भए।

तर प्रधानमन्त्री देउवा गठबन्धन र प्रतिपक्षी दुवैसँग निरन्तर संवादमै थिए। पछिल्लो दुुई सातायता हरेक दिनजसो गठबन्धनका नेताहरू र एमालेसँग समानान्तरण संवादमा देखिएका थिए देउवा।

साउनयता लगातार प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएका एमालेले सभामुख बहिर्गमनको माग गर्दै आइरहेको छ। जसका कारण माओवादीमाथि दबाब बढाउन देउवालाई थप सहज भएको थियो।

यसरी दोहारो रणनीतिमा उत्रिएका देउवाले जताबाट भए पनि एमसीसी पारित गराउने रणनीति बनाइरहेका थिए। माओवादी र नेकपा एस पनि गठबन्धनबाट अलग हुने डिलमा पुग्ने खतराबाट फर्किन सफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved