सत्ता गठबन्धन धरापमा, सभामुख हटाउने शर्तमा अर्को समीकरणको कोशिश

एमसीसी प्रतिनिधिसभामा ‘टेबल’ गर्दा संसद्‌भित्रको नाराबाजी र संसद्‌बाहिर सडकमा सत्ता गठबन्धनकै दलका कार्यकर्ताले गरेको भिडन्तपछि देउवाले वैकल्पिक गठबन्धनको सम्भावनाको खोजी गर्न थालेका हुन्।

सत्ता गठबन्धन धरापमा, सभामुख हटाउने शर्तमा अर्को समीकरणको कोशिश

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीविरुद्ध मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले वैकल्पिक गठबन्धनको प्रयास पनि समानान्तर रूपमा अघि बढाएका छन्। सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमा संख्या जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

संयुक्त राज्य अमेरिकाको सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ (एमसीसी) सँग नेपाल सरकारले गरेको सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभामा ‘टेबल’ गर्दा संसद्‌भित्रको नाराबाजी र संसद्‌बाहिर सडकमा सत्ता गठबन्धनकै दलका कार्यकर्ताले गरेको भिडन्तपछि देउवाले वैकल्पिक गठबन्धनको सम्भावनाको खोजी गर्न थालेका हुन्।

पछिल्लोपटक आज (११ फागुन) बिहान प्रधानमन्त्री देउवाका दूतका रूपमा गृहमन्त्री बालकृष्ण खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका थिए।

उक्त भेटमा भोलि (१२ फागुन) बस्ने प्रतिनिधिसभा बैठकमा छलफलका लागि प्रस्तुत हुनसक्ने एमसीसी सम्झौतालाई पारित गर्न भूमिका खेल्न आग्रह गरेका थिए। एमसीसीको विपक्षमा मतदान गर्ने हो भने आफूहरूले गठबन्धन जोगाउन नसक्ने पनि उनले बताएका थिए।

प्रचण्डसँगको भेटपछि खाँण प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए। प्रधानमन्त्री देउवाका प्रतिनिधिका रूपमा पुगेका खाँणलाई ओलीले सभामुखबाट सापकोटालाई ‘पदअनुकूल आचरण नगरेको’ भनी हटाउन कांग्रेस सहमत भएमा एमालेले संसद्‌ अवरोध हटाउने बताएका थिए। ओलीले एमालेलाई संससंसद्‌भित्र प्रवेश गर्ने वातावरण बनाएमा एमसीसीबारे निर्णय गरी अघि बढ्ने आश्वासन पनि दिएको स्रोतको दाबी छ।

उता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टोखा पुगेर पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग मंगलबार साँझ छलफल गरेका थिए। फूटको संघारमा रहेको जसपाको भट्टराई पक्षले एमसीसीको पक्षमा मतदान गर्ने यसअघि नै बताइसकेका छन्। डा. भट्टराईले बुधबार बिहानै एमसीसीबारे ट्वीट गरेका थिए- ‘… कि गठबन्धनका सबै दलले पक्षमा भोट हाल्नुपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो ! अर्को बाटो छैन !”

पदीय आचरण अनुकूल व्यवहार नगरेको भनी प्रतिनिधिसभाको दुईतिहाई सदस्यले प्रस्ताव पारित गरेमा सभामुखलाई पदबाट हटाउन सकिने संवैधानिक प्रावधान छ।

अहिले प्रतिनिधिसभामा कायम रहेकामध्ये एमालेका ९८, कांग्रेसका ६१, जनता समाजवादी पार्टी (डा. बाबुराम भट्टराई पक्ष) का १२ र लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना सदस्य हटाउने पक्षमा छन्। यो संख्याले सभामुख हटाउने पक्षमा रहेमा एक सय ७४ जना पुग्ने छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी टेबल गर्नेबेलामा सदनभित्र माओवादी केन्द्र र नेकपा (एस) का सांसदले होहल्ला गरेका थिए। माओवादी केन्द्रले त्यसअघि नै जबर्जस्ती एमसीसी अघि बढाउन खोजेमा सरकार छाड्ने र विपक्षमा मत दिने निर्णय गरिसकेको छ। नेकपा (एस)को सचिवालय बैठकले ९ फागुनमा एमसीसीको विपक्षमा मत दिने निर्णय गरिसकेको छ।

पार्टीको उक्त निर्णयका बावजुद पनि दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र भने संसद् सचिवालयलाई दिएका छैनन्। प्रचण्ड र माधव नेपाल दुवै जना एमसीसीप्रति नरम भए पनि पार्टीभित्रको अवस्था भने उनीहरूको प्रतिकूल रहेको छ।

एमसीसी संसद्‌मा पेश गर्नुअघि आइतबारै बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल तीनै जना एमसीसी अघि बढाउन सहमत भएका थिए। एमसीसी पारित गर्न वातावरण बनाउने र सत्ता गठबन्धन टिकाएर अघि बढ्ने ‘भद्र सहमति’ गरेको स्रोतको दाबी छ तर त्यसविपरीत प्रतिनिधिसभामा माओवादी मुख्य सचेतक देव गुरुङले विरोधमा बोलेका थिए।

अर्थमन्त्री जनार्दन शर्मा ‘बिरामी’ भएकाले अनुपस्थित भए भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरेका थिए। सम्झौता टेबल गर्नुअघि प्रचण्डसँगको सल्लाहमा गुरुङले त बोले नै, प्रचण्डबाहेक माओवादीका सबै सांसदले नाराबाजी गरे। नेकपा (एस)का नेपाल मौन बसे पनि उनीसँगै बसेका झलनाथ खनालले सत्तापक्षकै आसनबाट नारा लगाएका थिए। त्यसपछिको विरोध थेग्न नसकेर देउवा गठबन्धनमा पुनर्विचार गर्ने अवस्थामा पुगेको पनि स्रोतको दाबी छ।

प्रधानमन्त्री देउवा दम्पती ५ फागुनको गठबन्धन बैठकलगत्तै साँझ सवा ८ बजे ओलीनिवास, बालकोट गएर करिब पौने २ घण्टा लामो छलफलमा नै नयाँ गठबन्धनबारे ‘भद्र सहमति’ भएको पनि स्रोतको दाबी छ। कांग्रेस-एमाले-लोसपा-जसपा गठबन्धनमा सहमति भएमा संघीय सरकारमा एमाले सहभागी हुने छैन, बाहिरबाटै समर्थन दिनेछ। लोसपा र जसपा संघीय सरकारमा सहभागी हुनेछन् भने एमालेलाई प्रदेश सरकारहरूको नेतृत्व दिइने छ। माओवादीकेन्द्र र नेकपा (एस) लाई सबै तहका सरकारबाट हटाइने छ।

देउवा दम्पती र ओलीबीच तीन जना मात्र भएको उक्त भेटको पाँच दिनपछि मंगलबार साँझ एमाले अध्यक्ष ओली तीन जना नेतासहित बालुवाटार गएर बैठक गरेका थिए। उक्त बैठक ‘कड्सी’ का लागि गरिएको एमाले उपमहासचिव विष्णु रिमालले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved