पुत्रको दृष्टिमा मनमोहन अधिकारी:

‘इमानको राजनीति गर्नु नै मनमोहन अधिकारीप्रतिकाे सम्मान हो’

‘प्रधानमन्त्रीको कुर्सीको उचाइ बढाउनुभयो, उहाँलाई इज्जत गर्ने हो भने बदमासी नगरे पुग्छ।’

‘इमानको राजनीति गर्नु नै मनमोहन अधिकारीप्रतिकाे सम्मान हो’

“हाम्रो परिवारलाई खुशी त्यही छ- बुवाले प्रधानमन्त्रीको कुर्सीको छविलाई अझै उच्च बनाउनुभयो। उहाँलाई असल मान्छे भनेर सम्झिदिए पुग्छ,” पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी (स्व.) का सुपुत्र प्राध्यापक प्रकाश अधिकारी पितालाई यसरी मूल्याङ्कन गर्छन्।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुन्, मनमोहन अधिकारी। उनी २००८ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव थिए। अनि ०४६ सालको प्रजातन्त्र पुन:स्थापनापछि २०४७ सालमा नेकपा (एमाले) का पहिलो अध्यक्ष  बनेका थिए उनी।

अधिकारी नेपाली राजनीतिका मूर्धन्य नेता हुन्। १३ मंसीर ०५१ मा प्रधानमन्त्री नियुक्त भएका थिए। उनको कार्यकाल नौ महीना १३ दिन अर्थात् २५ भदौ ०५२ सम्म कायम रह्यो। नेपालको राजनीतिक इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको नाममा अंकित उनै अधिकारीको स्मृति दिवस हो- १३ वैशाख।

लोकतान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्री हुने कम्युनिष्ट नेता मनमोहनले आफ्नो पाँच दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनमा सधैँ लोकतान्त्रिक धारको नेतृत्व गरिरहे। यसै दृढविश्वास र निरन्तर प्रयत्नको परिणाम हो- जीवनकालमै आफू अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई चुनावका माध्यमबाट देशको सबैभन्दा ठूलो पार्टी हुनु। `कट्टरपन्थी´बाट लगातार `संशोधनवादी´को आरोप खेप्नुपरेका उनले आफ्नो धारलाई जीवनकालमै सफल सावित गरे। अनि चुनाव जितेरै प्रधानमन्त्री बनिछाडे।

हक्की नेता

मनमोहनले १३ वैशाख ०५६ मा यो संसारबाट सदाका लागि भौतिक रूपमा बिदा लिएका थिए, जसको २३ वर्ष पूरा भएको छ। ६ वैशाख ०५६ मा बिहान काठमाडौंको तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ को आफ्नो चुनावी सभा सकेर फर्कने मोटरमा चढेपछि अधिकारी बेहोश भएका थिए। हृदयाघात भएर गाडीमा ढलेका उनको त्यसपछि कहिल्यै होश फिरेन। त्यसको ठीक एक सातापछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए।

इमान्दार, बौद्धिक र हक्की नेता मनमोहन अधिकारीका एक्ला सुपुत्र हुन्- प्रा. प्रकाश अधिकारी जसले पिताको विरासतको लोभ गरेनन्। पिताको शीर्षव्यक्तित्वको लाभ उठाउँदै पदको आशमा पार्टीमा लागेनन्।

पिताको स्मृति दिवसका सन्दर्भमा आफ्ना पिताबारे पंक्तिकारसँग प्रा. प्रकाशले भने, “उहाँले जनता र देशको समृद्धिबाहेक अरु केही पनि कुरा कहिल्यै चाहनुभएन।”

अत्यन्त छोटो समय प्रधानमन्त्रीको कुर्सीमा रहेर सबैभन्दा धेरै जनताको स्मृतिमा रहने राजनेता हुन्- मनमोहन अधिकारी। आफू अत्यन्त ‘क्लिन’ रहेर आफ्नो सरकारकै छवि स्वच्छ देखाउन सफल व्यक्तित्व पनि हुन्। उनको सरकारकै पनि केही मन्त्रीको आर्थिक चरित्रमाथि प्रश्न उठेको थियो तर प्रधानमन्त्री अधिकारीको छविका कारण त्यस्ता एकाध काण्डमा आमनागरिकले क्षमा दिए। सबैले अधिकारीको स्वच्छ छवितिर मात्र ध्यान दिएका थिए।

पिता प्रधानमन्त्री भएको बेला सँगै रहेका सुपुत्र प्रकाश भन्छन्, “त्यो ठाउँमा पुगेको मान्छेकहाँ प्रस्ताव नआउने त हुँदैन। कति प्रस्ताव त मलाई पनि आएको थियो नि ! उहाँबाट परिवारले पनि त्यो (अनुचित आर्थिक लाभ) को आश गरेन। अरु सबै नेताहरूलाई डुबाउने त परिवारले नै त हो नि !”

एकपटक अनुचित आर्थिक लाभमा फसेको मान्छे झन्-झन जनताको नजरमा गिर्दै जान्छ भन्ने अधिकारी परिवारले राम्ररी बुझेको थियो। प्रा. प्रकाशले पिताप्रति गर्व गरे, “उहाँ जिन्दगीमा एकचोटी प्रधानमन्त्री हुनुभो। जिन्दगीभर केही नभएको मान्छे प्रधानमन्त्री हुनुभयो। हाम्रो लागि पनि पिताजी देशको प्रधानमन्त्री हुनुभन्दा ठूलो चिज केही पनि हुँदैनथ्यो। त्यो हाम्रो परिवारको सबैभन्दा ठूलो प्राप्ति हो।”

नेपाली राजनीतिका अधिकांश नेताहरू पदमा पुगेपछि विवादमा पर्ने गरेका छन्। लोकप्रिय छवि भएर सत्ताको शिखर चढेका धेरै नेताहरूले त्यहाँबाट बाहिरिँदा आफ्नो कद घटाएका छन् तर पूर्वप्रधानमन्त्री अधिकारी त्यसको पनि अपवाद हुन्। त्यस हिसाबले हेर्दा मनमोहन अधिकारी नेपाली राजनीतिका दूर्लभ व्यक्तित्व हुन्।

अधिकारीले प्रधानमन्त्रीको कुर्सी छाडेको २७ वर्ष पुग्न लागिसकेको छ। यो धर्ती नै छाडेको पनि २३ वर्ष पूरा भएको छ तर पनि उनको सरकारले शुरु गरेको ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’, ‘प्रौढ भत्ता’, ‘नौ-स अभियान’ भनेर अघि सारेका ग्रामीण विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू अहिले पनि निरन्तर छन्। तिनको रकम बढेका छन्।

जेलमा पहिलो स्मृति

साधना प्रधान अधिकारी र मनमोहन अधिकारीको पुत्रका रुपमा २०१२ सालको माघमा जन्मिएका थिए- प्रकाश। उनलाई पितासँग पहिलोपटक भद्रगोल जेलमा भेटेको सम्झना छ।

“मेरो मामाहरू काठमाडौंका हुनुभएकाले आमा, म र बहिनीहरू बच्चा हुँदा हरेक गर्मीको बिदामा विराटनगरबाट काठमाडौं आउँथ्यौँ- मामा घरमा। बुवालाई भेट्न हामी त्रिपुरेश्वरको भद्रगोल जेलमा जान्थ्यौँ,” प्रकाशले बाल्यकालमा पितालाई भेट्दाको क्षण सम्झिए, “कहिलेकाहीँ चाहिँ जेलरको कोठामा ल्याउँथे। कहिले त जेलको बारबाट भित्रपट्टि उहाँ, बाहिरपट्टि हामी भएर भेट्थ्यौँ। खाना दिन्थ्यौँ। के छ कसो छ भनेर १०-१५ मिनेट भेटेर फर्कन्थ्यौँ।”

१ पुस ०१७ मा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाए। एक दलीय पञ्चायत व्यवस्थाको प्रादुर्भाव गरे। तत्कालीन प्रधानमन्त्री रहेका विश्वेश्वरप्रसाद कोइरालासहित दलका नेताहरूलाई पक्राउ गरी जेल हालियो। कम्युनिष्ट नेता मनमोहन अधिकारी पनि जेल परे। करीब आठ वर्षको जेल जीवनपछि बीपीसँगै मनमोहन पनि छुटेका थिए। त्यसपछि मनमोहन अधिकारी पनि विराटनगरस्थित घरमा गए। प्रकाशले पिताजीलाई नजिकबाट त्यसै बेला पहिलोपल्ट नजिकबाट भेटेका थिए जतिबेला उनी करीब १२ वर्षका थिए।

मनमोहनकी जीवनसंगिनी साधना विवाहपछि नै काठमाडौं छाडेर विराटनगर नै बस्न थालिसकेकी थिइन्। उनी आदर्श विद्यालयमा अंग्रेजी शिक्षिका बनेर पढाउन शुरु गरिन्, जुन २०१२ सालदेखि ०४६ सालसम्म जारी रह्यो। प्रकाशले पनि आमाले पढाउनआदर्श विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे।

पिताजी जेल परेको भए पनि उनले कुनै पनि असहज व्यवहार भने भोग्नुपरेन। उनले भने, “उहाँ गुड कजको लागि जेल बसेको भन्ने थियो। त्यसैले जेलमा बसेको भए पनि पब्लिकमा, स्कुलमा कसैले पनि नराम्रो दृष्टि राख्दैनथे। ‘आई ह्याभ पेनाल्टी अफ लभ’। यतिसम्म कि पञ्चेहरूले पनि त्यस्तो नराम्रो व्यवहार भोग्नु परेन।”

एसएलसीपछि प्रकाश आईएस्सी पढ्न काठमाडौं आए। अमृत साइन्स कलेज पढे। त्यसपछि शिक्षा मन्त्रालयको सरकारी छात्रवृत्ति पाएर मस्को गए- माइन इञ्जिनियरिङ पढ्न। ६ वर्ष मस्कोमै बसेर पढे। ०३६ सालमा इञ्जिनियरिङको अध्ययन पूरा गरेर फर्किए।

प्रकाश फर्किँदा ०३६ सालको बहुदलको आन्दोलन चलिरहेको थियो। जनमत संग्रह घोषणापछि मनमोहन अधिकारी पनि जेलबाट छुटे। उनी बहुदलको प्रचारमा लागे। ६ वर्षपछि देशमा आइपुगेका प्रकाशलाई त्यो आन्दोलनका बेला पनि राजनीतिले खासै आकर्षित गरेन।

“म रूसमा पढेर माइन इञ्जिनियर भएर त आएँ तर नेपालमा त्यसको काम हुँदैनथ्यो,” उनले भने, “त्यसो भएर म त्रिभुवन विश्वविद्यालयको प्राध्यापनमा गएँ। पढेर आएको एक महीनापछि नै म त्रिभुवन विश्वविद्यालय गइहालेँ- करारमा। त्यसको एक-डेढ वर्षमा म स्थायी भइहालेँ।”

त्रिविमा पढाउँदा पनि कम्युनिष्ट नेताको छोरा भनेर केही पनि बाधा भएन। एक जना ‘एक्स्पर्ट’का रुपमा उनले पढाए। “शिक्षा मन्त्रालयले नै मलाई छात्रवृत्तिमा छानेर पठाएको थियो। त्यस्तो असहज व्यवहार केही पनि भएन- पञ्चायतको साइडबाट,” उनले भने।

साधनाको सहयोग

राणाकालमै २००२/००३ सालतिरै नेपालबाट एसएलसी गर्ने चारजना छात्राहरूमा साधना प्रधान र सहाना प्रधान, अंगुरबाबा जोशी र राणा परिवारकी एक जना छोरी थिए। साधना र सहानाको बाल्यकाल वर्मामा बितेको हो। छ-सात कक्षासम्म उतै पढेका उनीहरू दोस्रो विश्वयुद्ध शुरु भएपछि नेपाल फर्किएका थिए- परिवारसँगै।

त्यसबेला केटीहरूलाई दरबार हाइस्कुलमा पढ्न अनुमति थिएन। त्यसैले घरमै गएर गोविन्ददेव पन्तलगायतका गुरुहरूले पढाए। अनि घरमै पढेर एसएलसी दिएका थिए प्रधान दिदीबहिनीले। एसएलसीपछि साधना र सहानाले सरकारले दिएको छात्रवृत्तिमा भारतको लखनौस्थित कन्भेण्ट कलेजमा गएर आईए पढेका थिए। र, ००७ सालभन्दा अगाडि नै आईए पास गरी फर्किएका थिए।

००७ सालको परिवर्तनपछि साधना र सहाना दुवै जना कम्युनिष्ट पार्टीसँग सम्बन्धित भए। ००७ सालको परिवर्तनलगत्तै मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ००८ सालमा काठमाडौं नगरपालिकाको चुनाव भयो। त्यसमा कम्युनिष्ट पार्टीले जित्यो। साधना प्रधान कम्युनिष्ट पार्टीका तर्फबाट वडाध्यक्ष निर्वाचित भइन् तर शपथग्रहण नै गर्न दिएनन्।

सहानाको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग र साधनाको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीसँग विवाह भयो। बिहेपछि साधना ०१२ सालतिरदेखि विराटनगर बस्न थालिन्। त्यहाँको आदर्श बालिका विद्यालयको अंग्रेजी शिक्षक भएर काम गर्न थालिन्- छोराछोरी हुर्काउँदै। उनले ०४६ सालमा अवकाश नलिँदासम्म त्यहीँ काम गरिन्।

“आमाले जीवनभरि पढाउनुभयो। उहाँको पेन्सन पनि थियो,” प्रकाशले भने, “पिताजी सक्रिय राजनीतिमा भएकाले उहाँले पनि सक्रिय राजनीतिमा हुन सम्भव पनि थिएन। हामीलाई हुर्काउने जिम्मेवारी पनि उहाँको काँधमा थियो।”

०४६ सालमा साधना अधिकारी सेवानिवृत्त भइन्। देशमा बहुदल पनि आयो। अनि मनमोहन अधिकारी र साधना प्रधान दुवै काठमाडौं बस्न थाले। त्यसपछि भने पितामाता रहेसम्म आफूसँगै रहेको र अन्तिम संस्कार गरेर बिदा नगरेसम्म नछाडेको प्रकाश सम्झन्छन्।

नेताहरूका सन्तान विरासतकै रूपमा राजनीतिमा संलग्न हुने गरेको अभ्यास छ, चाहे नेपालमा होस् वा अन्यत्र। त्यसबाहेक पनि विकसित अमेरिका वा सिंगापुर अथवा कम्युनिष्ट मुलुक उत्तरकोरियामा समेत वंशको राजनीति स्थापित छ तर मनमोहन अधिकारीको परिवार भने योभन्दा अलग रह्यो।

“यो त अविकसित विचार हो नि ! बाउको पेशा नै छोराले अँगाल्नुपर्छ भन्ने। त्यसबाहेक नेपाल यस्तो देश हो, जहाँ राजाको छोरो त राजा हुन पाउँदैन। मेरो आफ्नो पेशा छ,” प्रा. प्रकाशले भने, “बुवाले पनि मलाई बारम्बार भन्नु हुन्थ्यो- राजनीतिक कुराहरू हस्तान्तरण गर्न सकिने चिज होइन। उहाँसँग त्यो कन्भिक्सन पनि थियो। उहाँले पनि भन्नुहुन्थ्यो।”

पिताकै पदचाप पछ्याउँदै विरासतको राजनीतिमा लागेकाहरूले पनि केही पार नलगाएको प्रकाशले देखेका छन्। उनले भने, “अरू कतिले रहर गरेका पनि होलान् तर पार लगाएका त कसैले पनि छैनन्। दक्षिण एसिया त के अमेरिकामै पनि त छ नि त्यो ! अण्डरडेभ्लप्ड थिङ्किङको फल हो त्यो। राजतन्त्र जस्तो चिज त होइन नि त ! मेरो विचारमा।”

इमान्दार पिताका सादगी पुत्र

एउटा इञ्जिनियरका रूपमा आफूले नेपालमा जहिले पनि काम पाएकोमा प्रकाश सन्तोष मान्छन्।

“इञ्जिनियरिङ काम गर्नु भनेको पनि त देश विकास गर्नु हो नि ! राजनीतिमा गएर नेतागिरी गर्नुभन्दा यो अत्यन्त उत्पादनशील र प्रभावकारी काम हो,” उनले भने, “सयौँ किलोमीटर बाटोहरू सर्भे गरेको छु। अहिले मनमोहन पोलिटेक्निकल इन्स्टिच्युटको काम गर्दैछु। भौतिक पूर्वाधारका काम भनेको विकासको जग हो। यसमा कुनै वाहवाही हुँदैन के ! जग खन्यो, पुर्दियो। सक्कि गो के !”

प्रा. प्रकाश त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिइसकेका छन्। अहिले परिवार काठमाडौं बस्छ तर उनी मनमोहन प्राविधिक विश्वविद्यालय निर्माणका लागि विराटनगरमै बसेर काम गरिरहेका छन् छ महीनादेखि। उनले भने, “६ महीनादेखि विराटनगरमै छु म। यहाँ निर्माणका काम भइरहेको छ। यस्तै इञ्जिनियरिङ काम हो। त्यसमा लागेपछि त फुर्सद नै हुँदैन। यहाँ रातदिन नै काम हुन्छ।”

उनले बीई सिभिल ईञ्जिनियरिङ र बीई इलेक्ट्रिकल इञ्जिनियरिङका कक्षा सञ्चालनका लागि सर्किटको ल्याब, वर्कशपको ल्याब, अरु मेशिनको ल्याबहरूलगायतको ‘फिक्सिङ’को काम गरिरहेको जानकारी दिए। प्रा. प्रकाश समर्पित भएर लागिपरेका छन् तर उनी त्यहाँका उपकुलपति वा उच्च पदाधिकारी भने होइनन्।

“यहाँको भाइस-चान्सलर बन्न भनेका थिए, भीसी बन्ने मेरो काम होइन भनेँ। म प्राविधिक काम गर्ने हो। भीसी भनेको राजनीतिक पद हो,” उनले आफ्नो मनको कुरा खोले, “मलाई खान-लाउन छँदैछ। मेरो घर काठमाडौंमा पनि छ, विराटनगरमा पनि छ। सरकारले पेन्सन दिइरहेकै छ। पारिवारिक आर्थिक समस्या केही छैन। विराटनगरमा मलाई फ्ल्याट दिएका छन्। मनमोहन प्राविधिक विश्वविद्यालयको ‘फ्ल्याट’मा बस्छु। त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश पाएकोले करारमा प्राध्यापकसरह तलब दिन्छन्। त्यसले मेरो यहाँ गुजारा भइहाल्छ।”

पछिल्लोपल्ट एमालेभित्रको विवाद चर्किंदा आफूलाई पनि ‘ड्र्याग’ गर्न खोजेको उनको भोगाइ छ। “म कुनै साइडमा पनि छैन। म ठीक ठाउँमा छु भनेँ। मेरो काम प्राविधिक हो,” उनले भने।

काका भरतमोहनको प्रयास पनि विफल

पिता मनमोहन अधिकारीले त कहिल्यै राजनीतिमा आकर्षित गर्न पनि खोजेनन् प्रकाशलाई। “काका भरतमोहनले भने निकै कोशिश गर्नुभो- राजनीतिमा आइज भनेर। मलाई भगवानले यसका लागि बनाएका होइनन् भनेँ। त्यो उहाँको रहर हुनसक्छ,” प्रा. प्रकाशले भने, “मेरो बुवाले त कहिल्यै भन्नुभएन- जरुरत छैन है भन्नुहुन्थ्यो। काकाले पार्टीले लगाएर भनेको पनि हुनसक्छ। उहाँले दुई-चार चोटी भनिसकेपछि मैले प्रष्ट भनिदिएँ। त्यसपछि काकाले पनि भन्न छाड्नुभो।”

प्रकाशको सम्बन्ध सबैसँग राम्रो छ। “हाम्रो पार्टीको मात्र होइन, कांग्रेसीहरू शेरबहादुरजीसँग पनि राम्रो रह्यो,” उनी प्रष्ट छन् आफ्नोबारेमा, “मेरो कसैसँग केही माग्नु छैन। मलाई जिन्दगीले दिएको छ। अरु त अरु, मलाई बोनश पनि आयो। हेर्दाहेर्दै कसैले कल्पना नगरेको राजनीतिक परिवर्तनहरू आयो। संविधान पनि आयो। त्यसैमा खुशी छौँ हामी।”

पिता प्रधानमन्त्री, पुत्र विश्वविद्यालयमा

मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला पनि प्रकाश विश्वविद्यालयमै रमाउँथे। पिताको प्रधानमन्त्रीत्वकालको नौ महीनामध्ये दुई महीना त प्रकाश देशबाहिर रहे- स्वीडेनमा। २९ साउन ०५२ मा बाँकेको समशेरगञ्जमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी ओली, एमालेका उपमहासचिव वामदेव गौतमसहित सवार हेलिकप्टर दुर्घटना भयो। त्यसपछि प्रधानमन्त्रीका रुपमा मनमोहन २६ दिन अस्पतालमा रहे, प्रकाशले अस्पतालमै बिताए।

“नौ महीनामध्ये दुई महीना म स्वीडेनमा थिएँ। स्वीडेनबाट फर्किँदा संसद् विघटन भइसकेको थियो,” उनले सम्झिए, “त्यसको लगत्तै हेलिकप्टर दुर्घटना भयो। त्यसपछि उहाँ प्रधानमन्त्री रहुञ्जेल हस्पिटलमै रहनुभयो।”

बुवाको हेलिकप्टर दुर्घटना हुँदा पनि प्रकाश कीर्तिपुरमै थिए। उनलाई फोन गयो- तुरुन्त घर आउनू। बालुवाटारबाट गाडी पठाएका थिए, लिन। के-कसो केही पनि बताइएको थिएन।

प्रकाश बालुवाटार पुग्दा त्यहाँ सिनेमाका हिरो-हिरोइनहरूको कार्यक्रमको तयारी थियो। बालुवाटारमा सन्नाटा थियो। हिरो-हिरोइनको कार्यक्रमको नेता चाहिँ उनकै साथी थिए- शिव श्रेष्ठ। “उसले मलाई केही भन्न खोज्दै थियो तर भन्न सकेन। रघुजी पन्त प्रेस सल्लाहकार थिए। उहाँले भन्नुभो- हेर न, मनमोहनजीको हेलिकप्टर दुर्घटना भयो। केही थाहा छैन, के हो, कसो हो ?”

हेलिकप्टर दुर्घटनापछि सामान्यतः कोही पनि बाँच्छ भन्ने लाग्दैनथ्यो तर प्रकाशले धैर्य गुमाएनन्। ४ बजेतिर थाहा भयो- प्रधानमन्त्रीसहित सबैलाई नेपालगञ्ज अस्पतालमा लगियो भन्ने खबर आयो।

“नेपालगञ्ज अस्पतालको इञ्चार्ज डाक्टरसँग फोनमा कुरा गरेँ ७ बजेतिर। उहाँले भन्नुभयो- ‘प्रकाशजी, आप चाहे तो मै हेलिकप्टर के पाइलट से बात करादेंगे।’ मैले पाइलट किशेन्द्र शाहीजीसँग कुरा गरेँ,” प्रकाशले भने, “उहाँले सबै सुरक्षित हुनुहुन्छ भन्नुभयो। राति प्लेन उड्दैनथ्यो। त्यसको भोलिपल्ट बिहान गयौँ- नेकोन एयरको प्लेनबाट। पर्यटनमन्त्री भीम रावल, डाक्टरहरू अरुण सायमी, उपेन्द्र देवकोटा र वीर अस्पतालको निर्देशक डा. बज्राचार्य पनि हुनुहुन्थ्यो। त्यसपछि काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्‍यौँ। उहाँको शरीरमा कुनै चोट थिएन। पछि ढाडमा चोट लागेकाले ६ हप्ता सुताउनुपर्‍यो।”

घरमा मनमोहनको अन्तिम दिन

६ वैशाख ०५६ साल। मनमोहन अधिकारी त्यो दिन अन्तिमपटक घरबाट हिँडेका थिए त्यसपछि कहिल्यै फर्किएनन्। एमाले फुटेको थियो। २५ वैशाखमा आमचुनाव हुँदै थियो। एमाले अध्यक्ष अधिकारी काठमाडौं- १ बाट उम्मेद्वार थिए। उनीविरुद्ध एमाले फुटेर बनेको नेकपा (माले) का महासचिव वामदेव गौतमले उम्मेदवारी दिएका थिए। निकै पेचिलो थियो- राजनीति।

त्यसदिन बिहानै गोठाटारमा चुनावी सभा थियो- बिहान साढे ६ बजेतिर रामेश्वर फुयाल अध्यक्ष अधिकारीलाई लिन मोटर लिएर महाराजगञ्जस्थित निवास पुगे। त्यसबेला फुयाल काठमाडौं जिल्ला विकास समितिका उपसभापति थिए। एमाले काठमाडौंका सचिव थिए।

अधिकारीको दम बढेको थियो। रातभरि अक्सिजन दिनुपरेको थियो। छोरा प्रकाशले पिताजीको अवस्था ठीक नभएको बताए। “रामेश्वरजी, बुवाको हालत राम्रो छैन। रातभरि स्याँ-स्याँ भइरहेको छ। रातभरि अक्सिजन दिइरहेको छ। नलगे हुँदैन ?,” प्रकाशले भने।

रामेश्वरजीले पनि जोडजबर्जस्ती गरेनन्। सहमति जनाए, “किन नहुनु दाइ, हामी भाषण दिइहाल्छौँ नि ! सञ्चो छैन भने किन गइहाल्नुपर्‍यो र !”

रामेश्वरले प्रकाशसँगै बसेर गफ गर्दै चिया खाए। मनमोहन अधिकारीलाई भेट्नै पाएका थिएनन्। “त्यस्तो कुरा गर्दासम्म उहाँ दौरासुरुवाल लगाएर गाडीमा बसिसक्नुभएछ। गाडीमा बसिसक्नुभएकोलाई हामीले त्यहाँबाट उतार्न मिलेन,” प्रकाशले भने।

“मैले त उहाँलाई भेट्न पनि पाएको थिइनँ, एकैपटक गाडीमा बसिसक्नुभएछ,” रामेश्वर फुयालले भने, “अनि मेरै उपसभापतिको गाडीमा गोठाटार लिएर गएँ। त्यो दिन मैले जानैपर्छ भनेर कर गरेको भए कस्तो पछुतो हुन्थ्यो ?”

त्यसरी घरबाट निस्किएका मनमोहन अधिकारी फेरि घर फर्किएनन्। “गोठाटारको सभामा पनि राम्रै भाषण गर्नुभएको थियो। कार्यक्रम सकेर गाडीमा बस्न लाग्दा उहाँ बेहोस हुनुभएको थियो,” फुयालले भने, “त्यसपछि उहाँलाई मैले समातेँ, एक जना नर्सले कृत्रिम श्वासप्रश्वास गराउँदै शिक्षण अस्पताल पुर्‍यायौँ, हृदयाघात भएको रहेछ।”

पितालाई हृदयाघात हुँदा पनि प्रकाश कीर्तिपुरमै थिए। शिक्षण अस्पतालका निर्देशक डा. गोविन्द शर्मा (पछि त्रिविको भीसी) ले फोन गरे र भने, ‘तिमी तुरुन्तै आऊ।’ त्यसपछि प्रकाश दौडेर अस्पताल पुगे। “त्यस बेलासम्म मलाई अलि-अलि आशा थियो। बेला-बेलामा स्याँ-स्याँ भएर हस्पिटल लगिराख्नुपथ्र्यो,” प्रा. प्रकाशले भने, “उहाँलाई सधैँ लैजाने अस्पताल पनि त्रिवि शिक्षण अस्पताल हो, नजिकै थियो। मैले उहाँलाई आईसीयूभित्रै भेटेँ। त्यहाँ डा. अरुण सायमी, डा. अवनीभुषण उपाध्याय, डा. गोविन्द शर्मा हुनुहुन्थ्यो। डा. शर्माले भन्नुभो- यहाँ आउनेबेलामा मुटुको धड्कन पनि बन्द भइसकेको थियो। यहाँ ल्याएर कोशिश गरेपछि चलेको हो तर उहाँको स्वास्थ्य धेरै नै गम्भीर छ। त्यसपछि भेन्टिलेटरमा राखियो। एक सातापछि जानुभो।”

पुत्रको मूल्यांकनमा मनमोहन

प्राध्यापक प्रकाश पिता मनमोहन अधिकारीलाई ‘जनताप्रति समर्पित राजनीतिज्ञ’ का रूपमा सम्मान गर्छन्। “त्यो पुस्ताको राजनीतिज्ञको स्तर अलि फरक रहेछ। उहाँहरू राजनीतिमा केही कमाऊँ, पाऊँ भनेर लागेका मान्छे होइन,” उनले भने, “अरु त कस्ता छन् भन्ने अब देखिहाल्नुभयो। कुन पार्टी भन्ने कुरो पनि छैन। ”

मनमोहन अधिकारीले बनासर हिन्दू विश्वविद्यालयबाट २००० साल (सन् १९४२/४३) तिर आईएस्सी पास गरेका थिए। घरबाट उहाँलाई ‘मेडिसिन’ पढ्न पठाएको भए पनि महात्मा गान्धीजीको स्वतन्त्रता आन्दोलनमा लागेका थिए। अधिकारीले भारतको जेलमा चार वर्ष बिताएका थिए। उनी भारतको पनि सूचीकृत स्वतन्त्रता सेनानि थिए।

प्रकाशले भने, “मैले चाहेको खण्डमा पाँच सय रुपैयाँ भारू र रेलको टिकट फ्री पाइन्थ्यो भारतमा। बीपी कोइराला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई तीन जना भारतका सूचीकृत स्वतन्त्रता सेनानि हुन्। उहाँहरू भारत माताको नाममा जेल बसेका हुनुहुन्थ्यो।”

२००२/३ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलन, त्यसपछि ००७ सालको क्रान्तिमा पनि मनमोहन अधिकारीले नेतृत्व गरेका थिए। सक्रिया जिन्दगीको पूरै राजनीतिमा खर्चिएका नेता थिए अधिकारी।

बीएस्सी पढ्दै गर्दा भारतीय स्वतन्त्रता आन्दोलनमा लागेर पढाइ बिगारेका मनमोहन अधिकारीले पछि जेलबाटै अर्थशास्त्रमा स्नातक गरेका थिए। उहाँ बौद्धिक हिसाबले पूर्ण हुनुहुन्थ्यो।

सीपीलाई मन्त्रीबाट बर्खास्त

७८ वर्षको उमेरमा भौतिक संसारबाट बिदा लिएका मनमोहन अधिकारीको जीवनका पछिल्ला १० वर्ष प्रकाशले नजिकबाट नियाल्न पाए। पिता अधिकारी त्यसै १० वर्षमा राजनीतिको शीर्ष स्थानमा पनि पुगेका थिए।

दोस्रो पुस्ताका नेताहरूले मनमोहन अधिकारीलाई ‘रबर स्ट्याम्प’ मात्रै बनाएको भन्ने चर्चा एमाले वृत्तमा हुने गरेको थियो तर प्रकाशले पिताजीले मदन भण्डारी, माधव नेपाललाई झपारेको पनि देखेका छन्। “मैले दुई-तीन पटक मदन भण्डारी, माधव नेपाललाई झपारेको पनि देखेको छु,” प्रा. प्रकाशले भने, “उहाँ अभिभावकको भूमिकामा हुनुहुन्थ्यो। उहाँहरूको पार्टीको आन्तरिक विषय भएकाले कारण भन्न मिल्दैन। पार्टीका नेता-सांसदहरूका क्षमता विकास नगरेमामा असन्तुष्ट हुनुहुन्थ्यो।”

सीपी मैनालीलाई त मन्त्रीबाटै बर्खास्त गरिदिएका थिए- प्रधानमन्त्री मनमोहन अधिकारीले। मन्त्रीलाई पदबाट हटाउँदाको कथा चाहिँ सुनाए।

मैनाली नौ महिने सरकारका स्थानीय विकास र आपूर्तिमन्त्री थिए। ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ को वास्तविक सपना देख्नेमान्छे पनि उनी हुन्। मैनालीले त्यसको कार्यविधिसमेत सबै बनाएका थिए। “माधवजीले सीपीको गोडा तान्न थाले। त्यसपछि सीपीलाई पनि झोक उठ्यो। सीपीले मन्त्रिपरिषद्ले गरेको निर्णयबारे असन्तुष्टिसहितको अभिव्यक्ति दिनुभएछ। यसैको परिणामस्वरुप उहाँको मन्त्री पद खुस्किएको हो,” उनले भने।

मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा हरेक बिहीबार प्रधानमन्त्री र मुख्यसचिव दरबार जानुपर्ने हुन्थ्यो- मन्त्रिपरिषद्को निर्णयमा लालमोहर लगाउन। त्यसरी गएको बेलामा राजा वीरेन्द्रले भनेछन्, “मनमोहनजी, तपाईंले भन्नेबित्तिकै मैले संंसद् विघटन गरिदिएँ। तपाईंका मन्त्रीहरु चौतारी-चौतारीमा गए मन्त्रिपरिषद्मा भएको कुरा भन्दै हिँड्छन्। के भन्न हुने, के नहुने भन्ने पनि चेत नभएकाहरू मन्त्री हुन्छन् ?”

राजाको ‘डाइलग’ले प्रधानमन्त्री अधिकारीलाई ‘पिञ्च’ भयो। राजाको आशय थियो, “तिमीहरूले प्रजातन्त्र चलाएर खाँदैनौ।”

त्यसबेला प्रधानमन्त्रीका स्वकीय सचिव सुवर्ण श्रेष्ठ थिए। सीपी मैनाली ख्याल-ख्यालमै बर्खास्तगीमा परेको कथा प्रकाशले सुनाए। “बुवाले दरबारबाट फर्किएपछि सुवर्ण दाइलाई भन्नुभयो- सीपीलाई भन, एउटा स्पष्टीकरण लेखेर दिनू भनेर।”

प्रधानमन्त्रीको आशय थियो- दरबारलाई मैले स्पष्टीकरण सोधेँ भनेर देखाउने। प्रधानमन्त्रीको आदेशबमोजिम सुवर्णले फोन गरेर २४ घण्टाभित्र स्पष्टीकरण दिन भने- सीपीलाई। तर, त्यो समयभित्र सीपीले स्पष्टीकरण दिएनन्।

भोलिपल्ट प्रधानमन्त्रीले सोधे, “सीपीको चिठी आयो ?”

सुवर्णले भने, “छैन।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए- रघुजी पन्त। प्रधानमन्त्री अधिकारीले रघुजीलाई मिडिया बोलाउन भने। अनि सीपीलाई मन्त्रीबाट हटाइएको घोषणा गरिदिए।

मन्त्रीबाट हटेको घोषणा भएको १०-१५ मिनेटमै सीपी दौडादौड गरेर प्रधानमन्त्री भेट्न पुगे, ‘मनमोहन दाइले यसरी हटाउनुहोला भन्ने कल्पना नै गरेको थिइनँ। अब के गर्ने ?’

त्यसको केही बेरमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रहेका एमाले महासचिव माधव नेपाल पनि पुगे र भने, “मनमोहनजीले पनि के गरिदिनुभो, अब सीपीले फेरि के-के गर्ने हो !”

मनमोहन अधिकारी माधव नेपालसँग पनि रिसाएको प्रकाशले बताए। उनले भने, “बुवाले उहाँलाई झपार्नुभो। प्रधानमन्त्रीले भनेको नमान्ने मान्छे कसरी मन्त्री हुनसक्छ ?”

मन्त्रीबाट बर्खास्तीको निर्णयलाई सीपीले चूपचाप स्वीकारे। उनले सोचेकै थिएनन् कि मनमोहनजीले यसरी फायर गर्नुहोला भन्ने ! “प्रधानमन्त्री पद को-को मन्त्रीले के गरे भन्ने हेर्नका लागि हो। मैले यति विकास गरेँ भनेर आफ्नै बखान गर्नका लागि होइन,” प्रा. प्रकाशले भने, “बुवासँग सम्बन्धित केही यस्ता केही घटना छन् जो मैले पनि नजिकबाट हेरेँ।”

महत्त्वपूर्ण उमेर जेलमै 

पिता मनमोहन अधिकारीसँग बाल्यकालका खासै धेरै स्मृति छैनन्- प्रा. प्रकाशसँग। “उहाँको जिन्दगीको २०-२२ वर्ष त जेलैमा बित्यो। भैयाकोमा चार वर्ष, नेपालमा पटक-पटक जेल बस्नुभो,” उनले भने, “छुटेको बेलामा पनि दुई महीना, तीन महीनामा लगिरहन्थ्यो। लगेर राख्थ्यो, गर्न चाहिँ केही गर्दैनथ्यो- पञ्चायतकालमा। जिन्दगीको धेरै महत्वपूर्ण समय त जेलमै बित्यो।”

संयुक्त परिवार थियो- अधिकारीको। प्रकाशका अरु आठ जना काकाहरू थिए। एकै ठाउँमा बस्ने यति धेरै जना काकाकाकीहरू भएको हुनाले पिताको अनुपस्थितिको महसुस भने नभएको प्रकाशले बताए। “अब एक जना काका मात्र बाँकी हुनुहुन्छ- विश्वमोहन अधिकारी। सबैभन्दा कान्छो भरतमोहन हो। उहाँभन्दा एक माथिको हो उहाँ। विराटनगरमा बस्नुहुन्छ,” प्रकाशले भने।

मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला उहाँका एक जना भाञ्जा भेट्न आउँदाको घटना प्रकाशले सुनाए, “प्रधानमन्त्री भएको बेला बुवाका एक जना भाञ्जा भेट्न आउनुभएको थियो। उहाँले केही व्यावसायिक स्वार्थका कुरा गर्नुभएछ। जवाफमा बुवाले भन्नुभएको थियो-तिम्रो मामा देशको यत्रो प्रधानमन्त्री भयो, यत्तिले पनि पुगेन ? तिमीलाई अरु के चाहियो ?”

मनमोहन अधिकारी वास्तविक नेता थिए। त्यसैको फल तीन दशकपछि पनि एमालेले अहिलेसम्म पाइरहेको छ। अहिले पनि त्यस बेलाका एमालेका नेताहरू केपी ओली, माधव नेपाल सबैले मनमोहनलाई ‘ग्रेट’ भनेकोमा प्रकाश खुशी नै छन्। आफूलाई राजनीतिभन्दा अलग राखेर सादगी जीवन बिताइरहेका उनले भने, “उहाँलाई भनेर मात्र के गर्नु, आफूले भद्रगोल गरेर बसेका छन् !”

पिता मनमोहन अधिकारीले कहिल्यै कुनै पनि बदमासी नगरेको बताउँदै अन्तिममा यत्ति भने, “उहाँलाई इज्जत गर्ने हो भने बदमासी नगरे पुग्छ किनभने उहाँले कहिल्यै बद्मासी गर्नु भएन। अरु बढ्ता नबोलौँ सर मैले !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved