पोखरामा परेको असिनापानीले ११ करोडको क्षति

नेपालभ्युज

पोखरामा परेको असिनापानीले ११ करोडको क्षति

पोखरा। पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ।

बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन्। पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए। कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधा कृषकले सदुपयोग गरे राहत पुग्ने बताए।

उनले असिनाका कारण ती वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको  जानकारी दिए। उनकाअनुसार दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ ओटा भैँसी मरेका छन्। फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरू भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ।

उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आउनुभएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरू टनेलसहित भाँचिदा पूर्णरूपमा क्षति भई २० लाख बराबरको क्षति पुगेको बताए। असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ।

यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ। उहाँ सरकारले राहत दिएर भएपनि कृसानहरूलाई सहयोग गरिदिन आग्रह गरे।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए। उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ। पोखरामा आइतबार दिउँसो भीषण असिनापानी परेको थियो। असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो। पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो। सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो। असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved