चिनियाँले मन पराए नेपाली चिया

चिनियाँ बजारमा पाउने ‘दार्जेलिङ चिया’ तथा ‘आसाम चिया’भन्दा नेपाली चिया महङ्गो पर्ने भएकाले महङ्गा चिनियाँ चियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। चीनमा चियाका पारखीले सुँघेर र चाखेर कस्तो चिया हो थाहा पाउने गर्छन्। अहिलेसम्म त्यस्ता पारखीले नेपालको चियालाई उत्कृष्ट ठहर्‍याएका छन्।

चिनियाँले मन पराए नेपाली चिया

बेइजिङ। चिनियाँ बजारमा औपचारिकरूपमा पहिलोपटक नेपाली चियाको बिक्री वितरण हुन थालेको छ। यस अगाडि नेपाली चिया छिटफुट रूपमा चिनियाँ बजारमा पाइए पनि अनौपचारिक ढङ्गले आउने गरेको थियो। नेपाली यार्सागुम्बाको पूरै बजार चीन भए पनि अहिलेसम्म औपचारिक ढङ्गले यार्सागुम्बा चीनमा आएको देखिँदैन।

चिनियाँ भन्सारमा दर्ता भएर बैंकमा एलसी खोलेर आर्थिक कारोबार हुँदै त्यहीअनुसार चिनियाँ भन्सार शुल्क बुझाउँदै आयात हुने व्यापारलाई औपचारिक भनिन्छ।

नेपालबाट हाल दुई प्रकारको चियालाई चीनमा भित्र्याएका हुन् प्रमोद घिमिरेले। लामो समयदेखि चीनमा बसेर रेष्टुरेन्ट संचालन गर्दै आएका प्रमोद घिमिरेले एकएक सय कालो र सेतो नेपाली चियालाई एक महिना अगाडि चीनमा ल्याएका हुन्।

नेपालबाटै एकएक सय ग्रामका प्याकेट बनाएर ल्याएको चियाका लागि उनले आकर्षक बक्समा राखेर चिनियाँलाई दिने गरेका छन्। चीनमा चियाका प्याकेटहरू विलासी र महङ्गा हुने गर्छन्। घिमिरेले पनि नेपालबाट ल्याएको चियालाई नेपालको झण्डा सहितको आकर्षक झोलामा प्याकेजिङ गर्दा महङ्गो परेको नेपाल भ्युजलाई सुनाए। उनले दुवै प्रकारका चियालाई सयसय ग्रामका प्याकेट बनाएर चिनियाँलाई उपहार दिएका छन्। यो चिनियाँ शैलीको व्यापारिक काइदा हो।

चिनियाँ नयाँ वर्षकै छेको पारेर चियाका प्याकेटमा नेपालको झण्डा प्रिन्ट गरेर उपहार दिएपछि चिनियाँहरू खुशी भएका र तुरुन्तै थप चिया किन्नका लागि अर्डर गर्न थालेको घिमिरेले सुनाए। नेपालको ६ हजार फिटभन्दा बढी उचाइमा उत्पादित चियालाई चिनियाँ पारखीले निकै मन पराएकाले घिमिरे उत्साहित भएका छन्।

चीनमा उपभोग गरिने विदेशी चियामा दक्षिण एसियाबाट भारतको ‘आसाम चिया’ र ‘दार्जेलिङ चिया’ हुन् भने श्रीलंकाबाट एक सय प्रकारका चिया चीनमा भित्रिन्छन्। यी चिया चिनियाँ बजारमा निकै सस्तोमा पाइने भए पनि नेपाली चिया चाहिँ महङ्गो पर्न गएको छ। गुणस्तर पनि नेपाली चियाको राम्रो छ भने भन्सार र एयर कार्गोकै कारणले पनि महङ्गो पर्न गएको घिमिरे उल्लेख गरे।

नेपालबाट चीनमा चिया निर्यात गर्दा प्रति किलो ६८० चिनियाँ युआन अर्थात् १३ हजार २ सय ६० रूपैयाँ परेको घिमिरेले बताए। यसमा नेपालबाट चीनसम्मको सिपिङ चार्ज र भन्सार शुल्क पनि जोडिएको छ। तर यसमा चीनमा बनाइएको प्याकेट बक्स र प्याकेजिङ जोडिएको छैन। त्यसैले घिमिरेले होलसेलमा ७८० चिनियाँ युआन र खुद्राका लागि ८८० चिनियाँ युआन राखेका छन्।

चीनले नेपालबाट आयात गर्ने विभिन्न वस्तुलाई शून्य भन्सार दर तोकेको छ। तर क्वाङचौको भन्सारले ३८ प्रतिशत शुल्क लिएको घिमिरेले गुनासो गरे। शून्य भन्सार दरको कुरा आफूले उठाउँदा नेपालको सम्बन्धित पक्षले चिनियाँ भन्सारलाई यस बारेमा अपडेट गराउनु पर्ने र अहिलेसम्म त्यस्तो नीतिको अपडेट नभएको भन्ने जवाफ चिनियाँ भन्सार अधिकारीले सुनाएको घिमिरेले बताए।

नेपाली चियामा चीनले ३८ प्रतिशत भन्सार शुल्क लिएको छ। चियाको मूल्यमा मात्र नभएर सिपिङ चार्जमा समेत चीनले भन्सार शुल्क लिएको छ। घिमिरेले भने ”अब बेइजिङस्थित नेपाली दूताबास र क्वाङचौको महावाणिज्य दूताबासमा कुरा गर्छु। सायद अर्कोपल्टबाट चीनले भन्सार शुल्क लिँदैन होला।”

बेइजिङस्थित नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छबीन्द्र पराजुलीले कोरोना महामारीका कारणले गर्दा नेपालका चिया तथा कफीको चिनियाँ भन्सारमा सूचिकृत हुन ढिला भएको बताए। पराजुलीका अनुसार नेपालमा उत्पादित चिया तथा कफीलाई चीनले मान्यता दिएको प्रयोगशालामा परीक्षण गराउनुपर्छ। चिनियाँ मापदण्डभित्र पुगेपछि चीनको भन्सार प्रशासन कार्यालयले प्रमाणपत्र दिन्छ र अनि मात्र नेपाली उत्पादनले चीनमा शून्य भन्सारदरमा प्रवेश पाउँछन्। दुई पक्षीय बैठकबाट हस्ताक्षर भएपछि मात्र यो लागू हुने भएकाले अझै केही समय लाग्ने पराजुलीले बताए।

क्याथेप्यासिफिकको ड्रागन उडानले काठमाडौँबाट हङकङ लगेर त्यहाँबाट ट्रकमा हालेर नेपाली चियालाई क्वाङचौ ल्याइपुर्‍याएको थियो। क्वाङचौमा ल्याएर दुई साता क्वारेन्टाइनमा राखेपछि बल्ल आफ्नो हातमा नेपाली चिया आइपुगेको घिमिरेले बेलिविस्तार लगाए।

चिनियाँ बजारमा पाउने ‘दार्जेलिङ चिया’ तथा ‘आसाम चिया’भन्दा नेपाली चिया महङ्गो पर्ने भएकाले महङ्गा चिनियाँ चियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। चीनमा चियाका पारखीले सुँघेर र चाखेर कस्तो चिया हो थाहा पाउने गर्छन्। अहिलेसम्म त्यस्ता पारखीले नेपालको चियालाई उत्कृष्ट ठहर्‍याएको घिमिरे सुनाए।

अर्गानिक र उच्च भूगोलमा उत्पादन भएकाले नेपाली चियालाई चिनियाँ पारखीले अद्वीत्तीय भन्दै प्रशंसा गरेका हुन्। रासायनिक मल नहालेको र प्राङ्गारिक मल मात्र हालेको अनि पूर्वी नेपालको हावापानी पनि राम्रो भएकाले चियाको स्वादलाई चिनियाँ पारखीले मन पराएका हुन्।

घिमिरेले स्याम्पलका रूपमा जो जो चिनियाँलाई बाँडेका थिए, सबैबाट राम्रो प्रतिक्रिया प्राप्त गरेका छन्। उनले दिएको स्याम्पल चिया चाख्नेहरूले चियाको अर्डर गर्न थालेका छन्। नेपालबाट कालो चिया र सेतो चिया ल्याएको थिए घिमिरेले। सेतो चियालाई चिनियाँले उत्ति मन पराएनन् तर कालो चियाले भने उच्च प्रशंसा प्राप्त गरेका छन्। घिमिरे भन्छन् ”सेतो होइन बरु ग्रिन टी चाहियो भनेका छन्। अब चाहिँ कालो र हरियो (ग्रिन) चिया ल्याउनेछु।”

अर्घाखाँचीका प्रमोद घिमिरे सन् २००४ देखि चीनमा नेपाली रेष्टुरेन्ट चलाएर बसेका छन्। आफ्नो रेष्टुरेन्टका विभिन्न शृङ्खलाहरू विस्तार गर्दै घिमिरेले चीनको क्वाङचौ, शनचन, फुचौ, हाइनानमा लगायतका स्थानमा १३ ओटा लिटिल पापा रेष्टुरेन्ट खोलेका थिए। कोभिड महामारीपछि चीनमा लामो समय लकडाउन भयो। अझै पनि कतै संक्रमण देखिएमा स्थान विशेष लकडाउन हुने गरेको छ। लकडाउन भएपछि स्वाभाविक रूपमा रेष्टुरेन्ट पनि बन्द हुने भए। तर रेष्टुरेन्टको भाडा र कर्मचारीको तलव चाहिँ दिइरहनु पर्ने भएकाले उनले ९ ओटा रेष्टुरेन्ट बन्द गरे। हाल घिमिरेले क्वाङचौमा दुईओटा, शनचनमा एउटा र फुचियान प्रान्तको फुचौमा एउटा गरी चीनमा चारओटा रेष्टुरेन्ट चलाउँदै आएका छन्।

नेपाली खाना बाहेक उत्तरी भारतीय परिकार र ल्हासाका परिकार पनि आफ्ना रेष्टुरेन्टहरूमा उपलब्ध भएको घिमिरेले सुनाए। पहिले घिमिरेले ३८ जना नेपालीलाई रोजगारी दिएका थिए। अहिले ९ जना नेपालीलाई रोजगारी दिएका छन् भने ५ जना भारतीयलाई समेत रोजगारी दिएका छन्। यस बाहेक उनका रेष्टुरेन्टमा चिनियाँहरू काम गर्छन्।

नेपाललाई माया गर्ने चिनियाँहरू आफ्नो रेष्टुरेन्टमा खान आउने र उनीहरूले नेपालका केही उत्पादन भएमा किन्ने इच्छा देखाउने भएकाले नेपाली चिया बेच्ने हुटहुटी चलेको घिमिरेले सुनाए। अब कफी र बेसार पनि नेपालबाट ल्याएर चिनियाँ बजारमा बेच्ने योजना रहेको घिमिरेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved