प्रिय कथा

घर

सुन्नुहोस्

विचरा चन्द्र ! नपुंसकताको कसरी प्रतिवाद गरोस् ! धनसम्पत्ति र गुमेको ऐश्वर्य फेरि प्राप्त गरेको उदाहरण धेरै छन्। तर नैतिकता, नपुंसकता र अयोग्यता गुमे ? त्यही पनि श्रीमतीबाट।

घर

(रचनागर्भ- काठमाडौँ चावहिलको आसपासमा आफन्तका घरमा जाने-आउने क्रममा एकजना ७० वर्ष हाराहारीका वृद्ध व्यक्ति आँखामा परे। मेरा आफन्तकै घरमा उनको कोठा रहेछ। उनी कोठामा एक्लै बस्थे र आफैँ पकाएर खान्थे। वृद्ध उमेर, धार्मिक स्वभाव र पशुपतिनाथको नित्य दैनिक दर्शन गर्ने अभिलाषा, सम्भवतः अभिप्रायले घर सल्लाहमै यहाँ बसेको हुनुपर्छ भन्ने मलाई लाग्यो।

अलिपछि थाहा भयो उनी त पूर्वसैनिक रहेछन्। मलाई लाग्यो, घर-परिवारमा कोही पनि छैनन् होला। पत्नीको मृत्यु भइसकेको हुनसक्छ। सन्तान आ-आफ्ना कर्ममा रमे रमाएका होलान्। आफ्नै काम गरुन्, किन अल्मल्याइरहनु, आखिर मलाई खर्च गर्न पुग्ने पेन्सन पनि छँदैछ क्यारे, उनको मनले सोच्यो पनि होला।

बाउको भगवानप्रतिको आशक्ति बुझेका र एकान्त प्रिय बन्दै गएको स्वभाव बिथोल्न नचाहेका उनीहरूले अपुग भए थपिदिने प्रण पनि गरेका हुन सक्छन्। उनलाई पनि लाग्यो होला उमेरमा धर्म-कर्मतिर रम्न-रमाउन पनि सकिएन। त्यतिबेला पारिवारिक जिम्मेवारी थियो, त्यो अब सकियो। बुढ्यौली वय भगवान सम्झेर पशुपति क्षेत्रमा बिताउँ भनेर घरपरिवारका चित्त बुझाएका पनि हुन सक्छन्।

“त्यो त जेठीतिरकी छोरी” त्यहाँ जाँदा मैले अर्को पटक थाहा पाएँ। छोरीसँगै उनकी पत्नी पनि थिइन्। अचम्म लाग्यो। पत्नी र छोरीलाई खासै नरुचाउँदा रहेछन्। उनले नरुचाए पनि ती समय समयमा आएर कोठा र कपडा सरसफाई गरिदिँदा रहेछन्।

ती बुढाको घर कतारहेछ कुन्नी, अस्ति छोरी र पत्नी आएका हैनन् ? अर्को पटक जाँदा आफन्तसँग जिज्ञासा राखेँ।

“घर त छ तर कान्छीको नाममा। बुढा बेलाबेलामा हेर्न जान्छन्। तर घरमा पुग्दैनन्। टाढैबाट हेरेर फर्कन्छन्” आफन्तले सुनाए।

“अनि ?” मैले पुनः सोधेँ।

“विवाद बढ्दै गएपछि अन्त्यमा घर परिवार, ससुरालीपक्ष, आफन्त र छिमेकीहरू उपस्थित भेलामा लोग्ने हैन नाठो हो भन्ने अडान कान्छीबाट आएछ। २१ वर्षे विधवा केटीकी आमा र दाजुको आग्रहमा स्वीकारेका रहेछन्। माइती पक्षले विरोध गर्दा पनि टसकोमस भइनछन्” उनले भने।

“साँच्चै हो भन्या ? मैले पुनः सोधेँ।

“कान्छीतिर दुई छोरा छन्। छोराले बा को सम्बोधन सभामै तेरो बाउ को हो तँलाई हैन मलाई थाहा हुन्छ सम्म भनिछन्” उनले भने।

“गर्नु नगर्नु कान्छीतिर गरेको तर जेठीतिर केही गर्न नसकेको हीनताबोधले जेठी पत्नी र छोरी आएको मन नपराएका हुन्” उनले अन्त्यमा भने।

त्यसपछि यो कथा लेखिएको हो।)

दिउँसोको तीन बजेको छ। आकाश सफा छ। पशुपति तथा गुहेश्वरीबाट बेलाबेलामा आउने शङ्ख-घन्टाको आवाजले तन्द्रा भङ्ग गराउँछन्। सूर्य औकात देखाइरहेछ। विपक्षमा उभिने तागत कसैमा छैन।

घाम ताप्दाताप्दै एक घण्टा बितिसकेको छ। मन घाम, बदाम, पानी र लप्सीमा भुलिरहेछ। टाढा-टाढा हरियालीयुक्त डाँडाका आकृति देख्न सकिए पनि वरिपरिको परिवेशलाई सिमेन्ट-कङ्क्रिटले ढाकिसकेको छ। प्रकृति भताभुङ्ग अर्थात क्षतविक्षत छ। विश्वास वागमतीमा बगाएर पनि शहर हाँसिरहेछ।

कैलाश चौरको आतिथ्यतामा छौँ। हामीजस्ताको सङ्ख्या बाक्लो छ। रमाइरहेछ मन। चन्द्र अझै चङ्गा भइसकेको छैन। विचार, विश्वास र आस्थामा हराइरहेछ। खुसी, इच्छा र दृष्टिकोणमा रमिरहेछ। स्वतन्त्रता मान्छेको खोजी। त्यसैमा लागिरहेछ लाखौँ वर्षदेखि। तर अझै फेला परिसकेको छैन।

केटी-केटी, केटा-केटा, केटा-केटी, युवा-युवती र वृद्ध-वृद्धाहरूका झुन्डहरू छन्। सबका अलग-अलग तालसुर छन्। कोही गफिइरहेछन्। कोही छलफलरत छन्। कोही विचार-विमर्शमा छन्। कोही आस्थामा पोखिइरहेछन्।

 

नवराज रिजाल

मन्दिरमा दर्शन गर्न आउनेहरू यतिखेर समेत छन्। समयले अवरोध गरिरहेको छैन। ती विचार बोकेर आउँछन्। गन्तव्य खोजीको विषय हुन्छ। विश्वासमा छहारी बनाउँछन्। अठोटको पहाड उक्लन्छन्। विचारको शृङ्खलामा मन तरङ्गित बनाउँछन्। तर पाइला रोकिँदैनन्।

आँखा वरिपरि दौडन्छन्। कानमा प्रतिध्वनि ठोक्किन आइपुग्छन्। चौर मानिसलाई बसाइरहेछ, उठाइरहेछ र हिँडाइरहेछ। वर्षदेखि चलिरहेछ क्रम। चन्द्र झकाएको छ अल्लि अघिदेखि। अनुहार घरीघरी हेर्छु। घाँटीको घुँक्का रोकिएको छैन। ऊ बुझिरहेको र जानिरहेको छैन। आफैँलाई सम्झाउँछु।

हामी तीन वर्षदेखि सम्पर्कमा छौँ। उपत्यकाबाहिर हो दुवैको स्थायी बसोबास तर यतिखेर गौशालास्थित बराल कोलोनी आसपास बसिरहेछौँ। कुनै बेला अजङ्गका सपना थिए। यतिखेर ती टाढा छन्। विपनामा परिणत हुन सकेका छैनन्। पहाड सम्याउने अनि हिमाल अग्ल्याउने आकांक्षामा थियो। अनि छिरिएको थियो काठमाडौँ।

सैनिक सेवामा बीस वर्ष बिताएको व्यक्ति हो ऊ। त्यत्ति नै समय प्रहरीमा बित्यो मेरो। दुवै सेवानिवृत्त हौँ। भाडाको कोठामा छु। पत्नी निजी विद्यालयमा पढाउँछिन्। छोराछोरी कलेज पढ्दै छन्। उनीहरूको दायित्व पूरा गरेपछि गाउँमा बस्ने उद्देश्य छ। काठमाडौँमा घर-घडेरी जोड्नेतिर ध्यानै गएन।

हाम्रो भेट ललनको चिया पसलले गराउँछ। यसो भनौँ, धेरै बुढापाकाहरूको सम्पर्क सेतु बनेको छ। हाँसेर बोल्ने र छिट्टै नरिसाउने स्वभावले प्रभावित तुल्याएको छ। बालबालिकादेखि वृद्धवृद्धासँग समेत उस्तै व्यवहार गर्छन्। अझै हिन्दी-भोजपुरी मिश्रित नेपाली बोलीले झनै लठ्याउँछ।

राम्रो चलेको छ पसल। बिहान-बेलुका त थामी नसक्नुकै भिड लाग्छ। चियाकै कारण परका समेत धाएर आउँछन्। वृद्धवृद्धा र खाडी मुलुकमा काम गर्न जाने तयारी गरिरहेका युवा मुख्य ग्राहक हुन्। नजिकका वर्कसप, बसका काउन्टर र कारखाना मजदुरहरूको उपस्थिति पनि बाक्लै हुन्छ।

विदेशिने युवायुवतीलाई नजाने सल्लाह दिन हिचकिचाउँदैन ललन। ती निरुत्तर बन्छन्। मुखामुख गर्दै अनुहार निन्याउरो बनाउँछन्। “कामै नगरी खान त कतै पाइन्न हजुर, यतै गर्नोस्, त्यताको भन्दा बढी आम्दानी हुन्छ” हाँसेर भनिदिन्छ। “यो नसोच्नोस् त्यता सुखै सुख र यता दुःखै दुःख छ” थप्छ।

पसलले नै चिनारी गराएको हो हामीलाई पनि। निस्कने क्रम चल्यो। धेरै पुगियो- पशुपति, गुहेश्वरी, बौद्ध, गोकर्ण, स्वयम्भू, त्रिभुवनपार्क र कृष्ण मन्दिर। घर-परिवार, आफन्त, छरछिमेकले स्थान पाए।

छोराछोरी र श्रीमतीको प्रसङ्ग आउँदा चन्द्र बद्लिन्छ। बोलीमा खस्रोपना देखापर्छ। गला अवरुद्ध बन्छ। आँखा रसाउँछन्। घोसे मुन्टो लगाएर आँखा चिम्म पार्छ। एक अर्कोकोमा जाने र चिनजान सुमधुर बनाउने सोचमा केही बोल्दैन र सहमतिमा साथ पनि दिँदैन। यस्तै चक्रमा पर्‍यो होला- सोच्छ मन। तथापि भेटघाट, कुराकानी र विचार-विमर्श निरन्तर चलिरहन्छन्।

मैले निम्त्याएदेखि एकाएक भेटघाट हुन छाड्छ। चिया पसलमा पनि आउँदैन। “कता गयो होला त ? बिरामी पो पर्‍यो कि !” मिहीन ढङ्गले खोज्छन् आँखा। अहँ पत्ता लाग्दैन।

एकदिन बाटोमा भेटिन्छ। आफै मुख खोल्छ- “माफ गर्नुहोला, हतारमा मैले जन्मघर जानुपर्ने भो।” मेरो टाउको हल्लिन्छ। खिस्स हाँस्छ। “हो, त अनायास घर जानु परेछ” मन मुस्कुराउँदै भन्छ।

भेटघाटले निरन्तरता पाउँछ। आफ्नै तालतौरमा हिँडिरहन्छौँ। दिन बिराएर भेटघाट भइरहन्छ। एउटा सहकारीमा सुरक्षकको काम भेटिन्छ। त्यसपछि सार्वजनिक बिदा र विशेष अवस्थाबाहेक दिउँसोको भेटघाट बन्द हुन्छ। तर पनि भेटिन्थ्यौँ, गफिन्थ्यौँ, कुराकानीमा हराउँथ्यौँ।

अर्कोपटकको निम्तामा समेत अनुपस्थित रह्यो। कोठामा एक्लै भेटिन्छ। खाना आफैँ बनाउँछ।

“खोइ त चार सन्तान ?” प्रश्न फुत्किन्छ मेरो मुखबाट।

अकमकिँदै भन्छ “माइती-मावली”। मलाई शङ्का लाग्छ।

“यति सानो कोठामा कसरी अट्छन् ?” मनमा प्रश्न जन्मन्छ।

“सबैलाई एकै पटक पठाएको ?” म नसोधी रहन सक्दिन।

“सजिलो नि” सजिलो नि ऊ सहज भावमा भन्छ। पुष्टि कोठाले गर्छ।

“छ प्राणी अटाउने कोठै होइन” मन भन्छ।

सोचाइका गन्तव्य फरक-फरक छन्। भोगाइ र आदर्श अर्को प्रसङ्ग। यी बाटोबाट खुरुखुरु हिँड्दैनन्। आफैँ खोज्छन्। घर भत्कियोस् वा बिग्रियोस् केही सोच्दैनन्। घर भत्किएका छन् र क्रम रोकिएको छैन। विश्वासमा आगो लागेपछि हुने गर्छ त्यस्तो। यो कसैको चाहनाभित्र पर्दैन। “सम्भवतः त्यस्तै नियति भोगिरहेको होला” मन खुसुक्क भन्छ।

बसाइले पूर्वस्मृतिमा पुर्‍याउँछ। एकपटक कोठा पुगेको थिएँ। बिरामी रहेछ। सिरानीमा औषधि थियो। अधवैंसे महिला कोठाको सफाइ र युवती लुगा व्यवस्थापनमा तल्लीन थिए। निस्लोट रहेछ। धेरै बोलेन। महिलासँग जानकारी बटुलेँ। हिँड्ने बेलामा कानमा भनिन् “म पत्नी र ऊ छोरी।”

अर्को भेटमा तङ्ग्रिदै गरेको बतायो। आरामभन्दा बढी भन्न सकिन। बोल्ने मुडामा नरहेको हतारोले बताइरहेको थियो। त्यो दिन अल्ली छिट्टै हिँड्यो।

“समस्या के होला त ?” अलि पाकै उमेरको छ ऊ पाँच सात वर्ष। अनुभवसमेत त्यस्तै होला। हाजिर जवाफी शैलीमा वार्तालाप भएको छैन। सन्देह राख्छु। चाह नहुँदा-नहुँदै पनि स्थिति आत्मसात गर्छु। समस्या राखोस् र समाधानका निम्ति पहल गर्न आग्रह गरोस् म चाहन्छु। ऊ थाहा नपाओस् भन्ने सोच राख्छ।

असनमा एकदिन पत्नी भेटिइन्। दोधारमा परेँ। छोरी पनि थिइन्। नमस्कार स्वीकार्दै फिस्स हाँसेँ। दोस्रो भेट थियो। “केन्द्रीय क्याम्पसमा एमएस्सी पढिरहेकी छे” छोरी देखाउँदै भनिन्। आँखा जुधे।

“सानोतिनो जागिर पनि गर्छे। आमा छोरीको जीविका चलेको छ। उहाँलाई पनि विगत भुलेर सँगै बसौँ भनेका छौँ तर मानिरहनुभएको छैन,” टक्क अडिइन्।

मनभित्रको संशय अझै बढ्छ।

“कुरो के हो ?” प्रश्नले बारम्बार घोच्छन्।

“किन त ?” प्रश्न जन्मन्छ र असावधानीका कारण फुत्किन्छ। सचेत हुन्छु। दुवैका आँखाबाट आँसुका धारा बग्न थाल्छन्। अव्यक्त पीडा छ भन्ने कुराको महसुस गराउँछ। बिदा माग्छु। पर पुगेर पछाडि फर्कन्छु। तिनीहरूका आँखा मैतिर हुन्छन्।

बाटोभरि कस्तो-कस्तो लागिरहन्छ। चन्द खुलस्त बन्न सकिरहेको छैन।

“नाजायज प्रश्न पो गरेँ कि” मनमा लागिरहन्छ। उत्तरको खोजीमा भौँतारिन्छु। हुन्छ वा हुँदैन, हो वा होइन र राम्रो वा नराम्रोको बिचमा विचार उडिसकेको तथा अझै उडिरहेछ। कहिले कता त कहिले कता पुग्छ। सोच्दै र विचारमा पग्लँदै अलमलिई रहन्छु।

एक महिनाअघि रहस्य कोट्याएको थियो। त्यो मनमा अहिले पनि ताजै छ। हिजो मात्र हो झैँ लागिरहेछ। त्यसपछि ममा परिवर्तन आइरहेछ। संशय क्रमशः घटिरहेछ। कुरा सुनाइसकेपछि आङ तान्दै भनेको थियो- “निकै हलुङ्गो महसुस गरिरहेछु।” लामो सास तान्दै आकाशतिर फर्किएको थियो।

शनिबार बज्रयोगिनी घुम्न जाने प्रस्ताव राख्यो। असहमतिको कुरै थिएन। मन्दिर छेवैको खुला ठाउँमा बित्यो समय। असामान्य थियो मुखाकृति। छातीका असहजताले घुमाइरहेको जस्तो देखिन्थ्यो। कम बोलिरहेको थियो। सोध्ने बहाना खोजिरहे पनि जान सकिरहेको थिइनँ। आवेगात्मक छ भन्ने कुराले मनमा आसन जमाइरहेछ। घरीघरी मौनता तोडियोस् भन्ने सोच्दै थिएँ।

रूखमुनि थियौँ। अन्य कोही थिएनन्। आँखा आँसुले भरिएका थिए। मेरो हात च्याप्प समात्यो। केही भन्न खोजे पनि सकिरहेको थिएन। मन मडारिइरहेछ भन्ने अनुमान गर्न सकिन्थ्यो।

पछि नदीजस्तै बग्न थाल्यो। छोरी जन्मिएपछि दोस्री भित्र्याएछ। सैनिक सहकर्मीको विधवा बहिनी दाजुको आग्रहमा स्वीकारेछ। पहिलोबाट एक छोरी रहिछिन्। कष्टकर रहेछ जीवन। २२ वर्षमा पति बितेका रहेछन्।

मन पग्लेछ र बगेछ मज्जैले। छ महिने दुधे बालक छोरी र सुत्केरी पत्नी भुलेछ। त्यही कुरा उठाएको हो मसँग एक महिनाअघि।

दोस्रीबाट दुई छोरा जन्मिएछन्। शान्ति सेनाबाट फर्केर घडेरी किनेछ। सञ्चयकोष सापटीसमेत थपेर घर बनाएछ। पहिलो पत्नीलाई पनि कोठा दिएर बोलाउने सोच बनेछ। प्रस्ताव राखेछ। अनि सुरु भएछ खटपट। १२ कोठे घर निर्माणपछि परिस्थितिले कोल्टो फेरेछ र मनोमालिन्यता फराकिलो बन्दै गएछ।

स्नातकपछि छोरीको विवाह गरिदिएछ। सेवानिवृत्त हुँदा प्राप्त पैसामा सापटी गरी पत्नीकै नाममा पसल खोलेछ। यता असहजता बढ्दै गएछ। केही समय बाहिर बस्दा समाधान हुन्छ कि भन्ने विचार खेलेछ। तर मनको दूरी उकालो लागेछ।

आत्महत्यादेखि आमहत्यासम्मका विचार खेलेछन् आँखामा। म स्वीकार्छु र आत्मालोचना पनि गर्छु तर त्यतिले पुग्दैन भन्दै भौँतारिएछ। समाधानको पाटो पत्ता लागेनछ। पलायनता पनि उत्पन्न भएछ तर जीवनभरको कमाइ छोडेर रित्तो हात कता जानु ? पोलाइले डामेछ मन।

जेठी पत्नी र छोरीप्रतिको व्यवहारले चहर्‍याएछ। दोस्री अपनाउँदा सहनुपरेका चोट आँखा अगाडि डङ्गुर लागेछन्। कति गर्दा पनि पन्छाउन सकेनछ।

आफन्ती गुहारेछ। तर कोही पनि चुरो खोज्नतिर लागेनछन्। घरायसी मामिलामा बाहिर जानु आवश्यक होइन भन्ने धारणा बनेपछि आफन्त गुहार्ने क्रम चलेछ। मनले जो जसकोमा पुगे पनि समाधानतिर नगएको आभास गरेछ।

“जेठी पत्नीका साथ बसे भैहाल्यो नि” मेरो सल्लाह थियो- सकारात्मक व्यवहार गरेको छैन। त्यसले आत्मग्लानी गराइरहेछ। आफैँदेखि लज्जित छु। कुनै पारिवारिक दायित्व बहन गर्न सकेको छैन। यति हुँदाहुँदै पनि ती सघाइरहेछन्। विगत सम्झँदा छाती नराम्रोसँग दुःख्छ। तिम्रो कुरा मान्न समेत सक्दिनँ।

अस्तिकी पहिली पत्नी हो र छोरी साथमा थिई। ती बेलाबेलामा आउँछन् र सघाएर फर्कन्छन्। म कहाँ नआउन भन्ने मेरो इच्छा छ। तर आइदिन्छन्। मुटु छियाछिया हुन्छ। भुलले पोल्न थाल्छ। सच्याउने ठाउँ खोज्छु, तर देख्दिनँ।

यतिखेर दिने माया, ममता र सद्भाव केवल आडम्बर लाग्छ। आवश्यकतामा कहिल्यै उपस्थित हुन सकिनँ। आँसुमा पौडन्छु र पीडाको सागरमा चुर्लुम्म डुब्छु।

जसका निम्ति वा जसलाई गरेँ ती विमुख हुन खोजिरहेछन्। सम्पूर्ण कमाइ त्यहीँ छ, बिर्सेर कता जानु ? हुँदाखाँदाको पत्नी र छोरी तिरस्कारेर बनाएको हुँ दोस्रो घरवार। यतिखेर स्वीकृतबाट अस्वीकृत र अस्वीकृतबाट स्वीकृत भइरहेछु। बेलाबेलामा आपूmले आफैँलाई लोप्पा खुवाउन मन लाग्छ।

यो तेस्रो विकल्प हो। पेन्सनसमेत दुई भागमा विभाजित छ। आधाले गुजारा चलाइरहेछु। हेरौँ पछि जे त होला। खुइय गर्दै मसँग आँखा जुधाउन खोज्छ। म उसैलाई हेरिरहेको छु।

“सबै समस्या उछाल्छन् मात्र समाधानतिर कोही लाग्दैनन्।”” आँखाभरि आँसु बनाउँदै भन्छ।

कारक मै हुँ। जानाजान गरेको थिएँ। सहारा बनिरहेछु भन्ने विचारमा उद्वेलित थियो मस्तिष्क। उद्दार नै जीवनको वास्तविक अर्थ हो भन्ने सोचले घर गरेको थियो। सुनेको पनि थिएँ। त्यो भावना मात्र रहेछ। सुनाइ, देखाइ र कल्पना यथार्थमा परिणत हुन कठिन छ। नियति भोगिरहेछु। छोराहरूसमेत पक्षमा उभिन सकिरहेका छैनन्। कान्छो त पछिसम्म थियो तर आमाको वाक्यले मुख बुझो लाग्यो।

लोकलाज कठिन रहेछ। भासियो छोरो। मुख बन्द भयो। घर छाड्न बाध्य भएँ। अत्यन्त कठिन थियो त्यो क्षण। कसैले कल्पना गर्दैनन्। मनभित्रका काला बादल मडारिए। सहनु आपूmलाई नपुंसक सावित गर्नुहुन्थ्यो। आफन्त पीडा पचाउन सकिनँ।

भेलामा छिमेकीसमेत थिए। कान्छो सघाइरहेको थियो। अन्तिम प्रयासमा थिएँ। निकास पाउनेमा ढुक्क थियो मन। तर भएन। फरक बाटोमा हिँड्यो। धमिलोको भास पहिल्यैदेखि थिए। अशोभनीय लाग्यो। अधिकांशले जिब्रो काढे। कतिपय त उठेर पनि हिँडे। सासु-ससुरा दुवैको उपस्थिति थियो। ती कालानिला बने। जेठानसमेत औँला ठड्याइमा परे। कसैले प्रतिकार गरेन।

केन्द्रविन्दुमा थिएँ। आङ जिरिङ्ग बन्यो। के गरौँ कसो गरौँ भयो। अगाडिको संसार कालाम्मे लाग्यो। को के बोलिरहेको छ ठम्याउन असहज भयो। माइती पक्षको विशेष उपस्थिति थियो। अघिसम्मका सकारात्मक विचारकाहरू कि चुपचाप लागे कि त बोली फेरे। झिनो आशा पनि बिजुलीको तारमा झुन्डियो। मसँग दुःख्नुभन्दा बढी विकल्प रहेन।

म लोग्ने नै नभएको जिकिर गरी। सबै स्तब्ध भए। प्याक-प्याक्ति बने मुख। कसो गरौँ र कता जाउँजस्तो लाग्यो। टाउको उठाएँ। मुखामुखमा रहेछन् सबै। ऊ बोलिइरहेकी थिई। रोक्ने क्षमता थिएन। विचार न सुनिसक्नु न त बुझिसक्नुका थिए। शौचालय पुगेर फर्केँ।

उपस्थितहरूको सङ्ख्या अझै गणनीय थियो। अर्थ थिएन। तथापि सानो छोरो, विवाह गराइदिने दाजु, सासु र केही छिमेकी बोले। दमदार ऊ मात्र थिई। चर्को बोली। सशक्त प्रतिकार नहुनुको अर्थ समर्थन हो। त्यस्तै भयो। मेलमिलाप र एकताका कुरा गर्नेहरूले कुरा चपाए।

मेरा नाममा जग्गा नै नभएपछि घर हुने कुरै थिएन। जागिरको कारण अधिकांश समय ब्यारेकतिरै बस्ने हुँदा छिमेकीहरूसँग खासै उठबस हुँदैनथ्यो। सामान्य भेटघाट र भलाकुसारीले परिपक्व चिनारी दिँदैनथ्यो। म पाहुना हुँ वा घरवाला मतलबको कुरो थिएन। व्यस्त शहर कसैको खासै चियोचर्चो पनि गर्दैन। आपूm बाँच्न नै धौ-धौ हुन्छ त्यसैले छिमेकीको पछि लागि रहँदैन। व्यस्तताले को, किन र के कसरीमा पुग्न दिँदैन।

उसले ठाडै भनी “यी छोराहरूको बाबु ऊ होइन। अनौठो लाग्ला तर वास्तविकता त्यही हो।” त्यसपछि उतै सोझिएका थिए सबै। कान ठाडो-ठाडो थियो।

“ऊ केवल नाठो मात्र हो। त्यही पनि अशक्त छ। उसको सहाराले म होइन मेरो सहाराले ऊ बाँचेको हो। उसमा बाबु बन्ने सामथ्र्य छैन।” आमालाई यसो पनि भनेकी थिई।

“सन्तान जन्माउन लोग्ने नै चाहिन्छ भन्ने कुरा पनि मिथ्या हो” उसले यसो पनि भनेपछि मजेत्रोले अनुहार ढाक्दै आमा थुचुक्क बसेकी थिइन्।

“घर निर्माणमा पनि कुनै भूमिका छैन। यो त मेरो पूर्वपतिको कमाइ हो यो। केवल सम्पत्तिका लागि जालझेल गरिरहेछ। मानसिक पीडा देखाउनै नसकिने छ। मलाई सहयोग गरिदिन पर्‍यो, आइन्दा मेरो नजरमा देखा नपरोस् ” सबैसँग हात जोडी।

परिस्थितिले अर्को मोड लियो। म अवाक बनेँ। आडैमा उभिइरहेको कान्छो छोरोलाई तान्दै भनी- “सन्तानलाई के थाहा बाबु को हो भन्ने कुरा। त्यो मलाई मात्र थाहा छ र निक्र्योल गर्न सक्छु। मैले सङ्केत गरेको कुरा तिमीहरूले मान्ने हो। यताउति गर्ने कुनै अधिकार छैन।”

बिचेत भएँछु। अस्पताल पुर्‍याइएछ। होसमा आउँदा कान्छो सालो अगाडि थियो। सलाइन चढाइएको रहेछ। जिउमात्र हैन टाउकोसमेत दुखिरहेको थियो। बोल्न सकिरहेको थिइनँ। ओठ खोल्ने प्रयास विफल बनिरहेको थियो। पानी मागेँ। इशाराले नै नबोल्ने आग्रह गर्दै मेरो अनुहार विस्तारै सुमसुम्याएर तुरुक्क आँसु झार्‍यो।

डिस्चार्ज पछि अन्योलमा परेँ। उसले आफैँसँग जान अनुरोध गर्‍यो। जेठानले पनि त्यसै भनेका थिए। अलि दिन घरमा बसेर तङ्ग्रने अनुरोध आयो। दिदीका कुरा बिर्सिदिन भन्यो।

घर जिन्दगीभरिको कमाइ थियो। पेन्सन आधा छोराका पढाइका निम्ति थियो। विमति जनाएँ। दुवैका आँखामा आँसु टिलपिलाए। काठमाडौंको बस चढेँ। बस निकै अगाडि पुगेपछि पछाडि फर्केर हेरेँ, त्यतिखेरसम्म पनि उसका आँखा बसतिरै थिए।

गाउँले भाइको सहारामा कोठा लिएको हुँ। ठ्याक्कै तीन वर्ष भयो। पहिला चाबहिलमा थिएँ। एक वर्षपछि जोरपाटी सरेँ। यसरी देखायो विगत। नमिठो लाग्यो। टोल्लिए मेरा आँखा पनि। उसका आँखा पुछिदिएँ। गज्जबको संयोग, उसको कथामा मेरा आँखा पनि रसाए। अविश्वास बिस्तारै उडेर धारणामा बदलियो।

केही पछि सुनायो- हरेक आइबार घर हेर्न जान्छ। तर छेउछाउमा पुग्दैन। टाढैबाट हेर्छ र फर्कन्छ। चिनेका नै भेटिए पनि बोलचाल गर्दैन। छिमेकीसँग पनि सम्पर्क गर्दैन। अलिपरै घर देखिने स्थानमा बसेर चिया पिउँछ।

उत्सर्ग सम्झन्छ। कृतघ्नता आँखाभरि छताछुल्ल पोखिन्छन्। अलिकति दुख्छ, खुम्चन्छ र विगतमा हराउँछ। भावनामा पौडन्छ अनि उद्दारको बदलामा पाएको नपुंसकताको उपहार बोक्छ।

आँखामा हिजोका दृश्य उपस्थित बन्दै जान्छन्।

आइतबार जानुको सन्दर्भ सुनाउँछ। सबै काममा हुन्छन्। परिचित कोही भेटिँदैनन्। को आए र को गएको मतलब हुँदैन। घर पसिनाको थुप्र्रो हो। त्यसमा रगत, श्रम, सिर्जना र जीवन सबै जोडिएको छ। मेरो मानेमा शतप्रतिशत त्यही हो।

लोग्ने नभई नाठो र त्यसमा पनि अशक्त वा नपुंसकसम्मको आरोपको साक्षी बस्ने छिमेकी र आफन्तसँग प्रतिवादन गर्न नपारेस् भन्ने अभिप्राय छ। त्यसैले त्यस्तो समय रोजेको हुँ।

आँखा अझै ओभाएका छैनन्। रसाएको रसायै छन्। सुँक्क-सुँक्क गरिरहेछ। सारा अनुरोध, सुझाउ, सल्लाह र आग्रहले आंशिक काम गरिरहेछ। पूर्ण इन्कारेको पनि छैन। पहिला स्विकार्छ, टाउको हल्लाउँछ र सहमतिमा जाने प्रतिबद्धता जनाउँछ तर अलि पछि ती क्रमशः भुल्दै जान्छ। सम्भवतः टाउको हल्लिए पनि छाती ती कुरा स्वीकार्न सक्दैन। अनि ऊभित्रको धैर्यताको बाँध फुट्छ र गड्गडाएर बग्न थाल्छ।

विचरा चन्द्र ! नपुंसकताको कसरी प्रतिवाद गरोस् ! धनसम्पत्ति र गुमेको ऐश्वर्य फेरि प्राप्त गरेको उदाहरण धेरै छन्। तर नैतिकता, नपुंसकता र अयोग्यता गुमे ? त्यही पनि श्रीमतीबाट। पुष्टिको निम्ति केही बोल्न सकेन वा हास्यमा उड्यो त्यो प्रसङ्ग। उसको आत्मसम्मानमको चोट कसरी निको होला ? मनमा घुमिरहेछ यो प्रश्न।

हरेक साताको आइतबार उसका आँखा रसाएकै हुन्थे। म मौन रूपमै उत्तर खोज्थेँ। किन ? तर उत्तर भेटिदैनथ्यो। र ऊ पनि भन्दैनथ्यो।

ऊ जब-जब घर भएको टोलमा पुग्थ्यो तबतब आफू उभिएको जमिन भासिएझैँ लाग्थ्यो। वरिपरिका परिवेश पूर्ण रूपमा निर्जन लाग्थे। बाँचेको संसार निस्सार लाग्थ्यो। समाधान थिएन। त्यसैले यदाकदा भौँतारिएरै बिताउँथ्यो आइतबारको रात। हो, हरेक आइतबार बल्झन्थ्यो घाउ र शनिबारसम्म त्यसमा खत बस्थ्यो।

बनेपाको रिया होटलमा हिजो डाँकै छाड्यो। “पेटभरि रुन दिऊँ” एक मनले भन्यो।

“हुँदैन” अर्को मन मानेन।

हेर्नेहरूको कोहेरले घेर्‍यो। ती मसँग कारण सोध्ने सोचमा थिए सायद तर सकिरहेका थिएनन्। तर म त्यो सार्वजनिकीकरण गर्न सक्ने पक्षमा थिइनँ। सबै प्रश्नका उत्तर हुँदैनन् र भए पनि दिन सकिन्न।

सोध्ने अधिकार थियो। त्यसैले सोध्न खोजिरहेका थिएँ। हिजो बेलुक गएका हौँ बनेपा। एकरात होटलमा बित्यो। विभिन्न स्थानहरू घुम्यौँ, डुल्यौँ र हिँड्यौँ। कसैका प्रश्न मेरा अगाडि आउन सकेनन्। खुसी थिएँ। एकातिर कसैले चिन्ला र बोलाउला भन्ने पिर अनि अर्कोतिर उसको वर्तमान। बेसमयको बुढो रुवाइ, यथार्थ छोप्न विवश थिएँ। त्यसो त मेरो परिचय नजाने पनि उसको लुकाउन सकिने अवस्था थिएन।

घुम्ने प्रस्ताव उसैको थियो। सार्वजनिक बिदा नपरेको दिनमा भन्ने थियो टुङ्गो। मैले समय व्यवस्थापन गर्न नसकेकै कारण भइरहेको थियो विलम्ब। यसपटक सार्वजनिक बिदा नभएकै दिन जाने प्रस्तावमा म सहमत बनेँ। आउनुको मूल लक्ष्य उसकै घर हेर्नु हो। ऊ मलाई घर देखाउन चाहन्थ्यो। मेरो मनमा पनि थियो जिज्ञासा। उत्पन्न संशय हटाउन पनि हेर्नु थियो घर।

टाढा बसेर चिया पिउँदै घर हेर्‍यौँ। आँखाबाट बलिन्द्र धारा आँसु झर्न थाले। रोक्न सकेन। थुचुक्क बस्यो। रोइकराई गर्न थाल्यो। बल्ल-बल्ल सम्झाएँ। फर्कँदा पनि आँखा चुहिन रोकिएन।

गौशाला ओर्लिएर यहाँ आएको पनि झन्डै दुई घण्टा बितिसकेको छ। यतिखेर मज्जाले निदाइरहेछ। म आरोपबारे सोचिरहेछु। उसको घर, सपना, जिन्दगीको कमाइ, पारिवारिक सदस्यहरू र आफन्त आँखामा घरिघरि आइरहेछन्। अगाडिको उज्यालोमा मेरो मन हिँडिरहेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved