विश्वकप छनोटका बाधकहरू

आउँदो शुक्रबारदेखि शुरु हुने छनोट प्रतियोगितामा आठ टिमले सहभागिता जनाउँदैछन्। जसमध्ये प्रतियोगिताको फाइनल खेल्ने दुई टिम विश्वकपका लागि पनि छनोट हुनेछन्।

विश्वकप छनोटका बाधकहरू

काठमाडौं। विश्वकप छनोटअघि अभ्याससरह खेलिएको चारदेशीय सिरिजमा नेपाली टिमको अधिकांश समय टिम परीक्षणमै ‍बित्यो। सिरिजका तीन खेलमा नेपाली टिमका प्रमुख प्रशिक्षक पुबुदु दासनायकेले ओपनरदेखि ब्याटिङ अर्डर, अलराउण्डर र बलिङमा पनि प्रयोग गरी नै रहे।

आउँदो शुक्रबारदेखि शुरु हुने छनोट प्रतियोगितामा आठ टिमले सहभागिता जनाउँदैछन्। जसमध्ये प्रतियोगिताको फाइनल खेल्ने दुई टिम विश्वकपका लागि पनि छनोट हुनेछन्।

यो प्रतियोगितामा बलिया मानिएका चार टिम नेपाल, आयरल्याण्ड, ओमान र यूएईले नै अभ्यासस्वरूप चारदेशीय सिरिज खेलेका थिए। र यीनै चार टिममध्ये दुई विश्वकपका लागि छनोट हुने सम्भावना प्रबल छ।

चार देशिय सिरिजको तीन खेलमा नेपाली टिममा गरिएको विभिन्न प्रयोगका कारण पछाडि पुबुदुको एउटै योजना थियो- विश्वकप छनोटमा उतार्ने उत्कृष्ट प्लेइङ ११ को खोजी गर्ने।

तर आयरल्याण्डसँगको तेस्रो खेल हारेपछि यो सिरिजले नेपाली टिममा समस्या धेरै रहेको देखायो। ब्याटिङ अर्डरमा धेरै परीक्षण गर्दा गत वर्ष नेपालमा नै भएको ट्राइ नेसन्स सिरिजमा पूर्वप्रशिक्षक डेभ वाटमोरले बनाएको सफल ब्याटिङ अर्डरलाई कतै पुबुदुले अझै बिगारे कि भन्ने भान पनि भयो।

तर यो सब परीक्षण मुख्य प्रतियोगिताको तयारीका लागि थियो। पुबुदु भन्छन्, “टिममा भएका सबै समस्या अहिले नै देखिएकाले म खुशी छु। किनभने आउँदो मुख्य प्रतियोगितामा यसलाई समाधान गर्ने मौका मिलेको छ।”

तीनै खेलमा परिवर्तन गरिएको ब्याटिङ अर्डरमध्ये कुनै पनि खासै फलदायी भएन। त्यसैले पुबुदुलाई अबको खेलमा उत्कृष्ट प्लेइङ ११ छनोटमा दुविधा त हुने भयो नै, नेपाली टिममा सम्बोधन गर्नुपर्ने धेरै समस्या पनि यो सिरिजले उजागर गरिदिएको छ।

त्यसैले नेपालको दोस्रो पटक टी–ट्वान्टी क्रिकेट विश्वकप खेल्ने सपना सजिलै पूरा नहुने देखाएको छ। जसका कारणहरू निम्न छन्ः-

युवा टिममा अनुभवको कमी

नेपाली टिम हाल पुस्ता हस्तान्तरणको अवस्थामा छ। यो पटकको टिममा युवा खेलाडीको बाहुल्य छ। नेपाली क्रिकेटका पुराना खेलाडीका रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर मात्र छन्।

युवा टिम हुनुको फाइदा र घाटा दुवै छ। युवा खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव कमीका कारण ठूला खेलमा अनुभव खड्किन्छ। घरेलु क्रिकेटमा खेलेजस्तै पक्कै हुँदैन अन्तराष्ट्रिय खेल।

त्यसमाथि यो विश्वकप छनोटमा आयरल्याण्ड बलियाोमध्ये पनि बलियो टेष्ट मान्यताप्राप्त टिम हो भने ओमान र यूएई पछिल्लो समय उच्चस्तरको प्रदर्शन गरिरहेका टिम हुन्।

युवा जोशका कारण हालको टिमका ब्याटरले आक्रामक खेल त खेल्छन् तर खेलमा सधैं जोशले मात्र काम गर्दैन। टी–ट्वान्टी क्रिकेट भन्दैमा सधैं आक्रामक खेलले मात्र पनि काम गर्दैन। क्रिकेट खेलमा धैर्यता र संवेदनशीलताको पनि उत्तिकै आवश्यक छ।

जसको पछिल्लो उदाहरण नेपाल आफै हो। १२८ रनको सहज विजय लक्ष्य पाए पनि त्यही अधैर्य र असंवेदनशील ब्याटिङका कारण नेपालले आयरल्याण्डसँगको जित्ने खेल पनि हार्‍यो र पहिलो पटक टेष्ट राष्ट्रलाई हराउने मौका पनि गुमायो।

यो पढ्नुहोस्

हतारमा खेल्दाको परिणामः इतिहास रच्नबाट चुक्यो नेपाल

हारपछि प्रशिक्षक पुबुदु भन्छन्,”हामीसँग पूर्ण सदस्य राष्ट्रलाई हराउने राम्रो मौका थियो। तर त्यो खेलमा आयरल्याण्डले हामीलाई हराएको होइन कि हामी आफैले खेल उसलाई दिएका हौं।”

उनले थपे, “खेलमा आयरल्याण्डका बलरहरूले विकेट लिएका होइनन्, ब्याटर आफैले विकेट खेर फालेका हुन, खेलमा हामीहरू निकै नै रिल्याक्स थियौं। मलाई लाग्छ योबाट हामीले पाठ सिकेका छौं।”

कमजोर स्पिन बलिङ

यो पटक नेपालको बलिङ केही कमजोर रहेको कुरा पहिले नै आकलन भएको थियो। विशेषगरी स्पिनमा अनुभवी वसन्त रेग्मी र शक्ति गौचनको संन्यासपछि नेपालको स्पिन बलिङ केही कमजोर छ।

हाल नेपालको स्पिन बलिङमा ग्लोबल स्टार सन्दीप लामिछाने नेपालका कप्तान छन्। प्रमुख स्पिनर भएका उनीबाट यो सिरिजमा आशातीत खेल देख्न सकिएन। सायद कप्तानीको दबाबले पनि हुन सक्छ। उनले तीन ओटै खेलमा एक एक विकेट मात्र लिन सके।

त्यस्तै उनलाई साथ दिने अर्का स्पिनरको अभाव पनि टिममा देखिएको छ। पहिलो खेलमा डेब्यु युवा स्पिनर सागर ढकालको बलिङ राम्रो भएन। नेपालले जितेको खेलमा उनले बलिङ गरेका तीन ओभरमा ३६ रन खाएका थिए।

त्यसैगरी सन्दीपलाई साथ दिन सक्ने अर्का स्पिनर सहाब आलमले पनि दोस्रो खेलमा मात्र २ ओभरमा ३५ रन खर्चिए। दुवै युवा खेलाडी भएका कारण उनीहरूमा अनुभवको कमी देखिन्थ्यो।

अन्तिम खेलमा मौका पाएका अर्का स्पिनर कुशल मल्लले पनि औसत बलिङ गरे।

ब्याटिङमा समस्यै समस्या

ओमान जानुअघि यो पटक नेपालको ब्याटिङ बलियो रहेको बताइएको थियो। तर अभ्यास सिरिजका तीन ओटै खेलमा नेपालको ब्याटिङ राम्रो भएको मान्न सकिन्न।
ओपनिङमा आसिफ शेखले कुशल भुर्तेलको साथ पाएनन्। त्यसैले उनको प्रदर्शन पनि मध्यम रह्यो।

चोटका कारण अन्तिम खेलमा मात्र आएका नेपालका प्रमुख ओपनर कुशलले शुरुआत राम्रो गरे पनि समालिएर खेल खेल्न सकेनन्। आयरल्याण्डसँगको खेलमा अनावश्यक लामो प्रहार गरेर उनी आउट भए। यसपछिका सबै ब्याटरले उनकै शैली पछ्याए।

“जितका लागि हामीले धेरै हतार गर्यौ। टी–ट्वान्टी क्रिकेटमा सिंगल्स र डबल्सको महत्व कति छ भनेर यो खेलले बुझाएको छ। हामी ब्याटिङमा अझै पनि सिक्ने क्रममा नै छौ।” अभ्यास सिरिज पछिको कप्तान सन्दीपको धारणा यस्तो थियो।

नेपालका अनुभवी भनेका ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरको अनुभव कुनै पनि खेलमा देखिएन। ज्ञानेन्द्र र शरद नचलेपछि मुख्य रूपमा नेपालको मध्यक्रममा नै समस्या आयो। दीपेन्द्र सिंह ऐरीबाहेक नेपाली टिमको इनिङलाई तान्ने ब्याटर नै भएनन्।

ब्याटिङमा उत्कृष्ट प्रदर्शन भनेको दीपेन्द्र सिंह ऐरीको मात्र रहयो। यो सिरिजमा जितेको एक मात्र ओमानविरुद्धको खेल पनि उनकै एकल प्रयासमा जितेको थियो भन्दा फरक पर्दैन।

चोटकै पिरलो

विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमलाई खेलाडीको चोट पनि प्रमुख समस्या बनेको छ। नेपालका अनुभवी र प्रमुख फाष्ट बलर सोमपाल कामी ढाडका समस्यका कारण नेपालको क्लोज क्याम्पमा नै परेनन्।

सोमपालले नेपालका लागि खेलेका ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ६.८७ को इकोनोमीमा ३१ विकेट लिएका थिए। अन्त्यमा ठूला सट खेल्न सक्ने क्षमता पनि उनी राख्ने गर्छन्। तर गत दुई वर्षदेखि ब्याक इन्ज्युरीका कारण उनी राम्रोसँग खेल्न सकेका छैनन। नेपाललाई ओपनिङ बलिङमा र डेथ ओभरमा उनको अभाव खड्कने छ।

विश्वकप छनोटको संघारमा नै चोटकै कारण टिमका अर्का निकै महत्वपूर्ण खेलाडी करण केसीलाई पनि नेपाली टिमले गुमायो। १७ सदस्यीय टिमको रूपमा उनी ओमान त गएका थिए। तर ढाडमा समस्या भएपछि उनले छनोट प्रतियोगिता अघिको चारदेशीय सिरिज पनि खेलेनन्। यी खेलमा आराम गरे पनि उनको समस्या ठिक नभएपछि उनी टिमबाटै बाहिरिए। अब करण नेपाल फर्कदैछन् भने उनको ठाउँमा अर्का फाष्ट बलर गुल्सन झा परेका छन्।

यो पढ्नुहोस्

१४ सदस्यीय टी ट्वान्टी वर्ल्डकप छनोट टोली घोषणा स् कुशलसहित तीन खेलाडी आउट

करणले ३३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा ४४ विकेट लिइसकेका छन्। उनी नेपाली टिमका फाष्ट बलर मात्र नभई अलराउण्डरको भूमिका निभाउने खेलाडी हुन्। उनकै फिनिसिङमा नेपालले केही महत्वपूर्ण खेल जितेको रेकर्ड छ। विश्वकप छनोटमा यी दुई अनुभवी खेलाडीको अभाव पक्कै खड्कनेछ।

यीबाहेक नेपालका भरपर्दा ओपनर कुशल भुर्तेलले पनि तिघ्राको मथिल्लो भागको समस्यका कारण चारदेशीय सिरिजका शुरुआती दुई खेल खेलेनन्। सामान्य चोट मात्र भएको भनिएको छ। त्यसैले आयरल्याण्डसँगको अन्तिम खेल भने उनले खेले। विश्वकप छनोटमा उनको यो चोटले फेरि समस्या नदेओस भन्ने नेपाली टिमको आशा छ।

छोटो तयारी

समग्रमा माथिका धेरैजसो कारणको मूल कारण भनेको नेपालले यो विश्वकप छनोटका लागि गरेको छोटो तयारी हो। खेलाडी र क्यानबीच चलेको लामो अन्तरद्वन्द्वका कारण पनि एक समय नेपाली टिमले यो विश्वकप छनोट प्रतियोगिता नै खेल्ने हो कि होइन भन्ने शंका थियो।

त्यसमाथि गत भदैमा डेभ वाटमोरले प्रमुख प्रशिक्षकको पद छाडेपछि क्यानलाई नयाँ प्रशिक्षक ल्याउन चार महीना लाग्यो। जसकारण यो विश्वकप छनोटका लागि नेपाली टिमले तयारीका लागि करिब ढेड महीना मात्र पायो।

६ वर्षपछि पुनः नेपाली टिम सम्हाल्न आएका पुबुदुले न त युवा खेलाडीको खेल जाँच्न पाए न त पुराना खेलाडीको फर्म तौलन पाए। न त लामो क्लोज क्याम्प नै भयो। न विश्वकप छनोटका लागि योजना नै बनाउन पाए। उनी खेलाडीसँग राम्रोगरी घुलमिलसमेत हुन पाएनन्।

जबकि बलिङ र फिल्डिङ कन्सल्टेन्ट नेपाल ओमान जानु एक साताअघि मात्र नेपाल आइपुगेका थिए। यति छोटो तयारीका कारण टिमको समस्या पहिल्याउने समय नै भएन सुल्झाउने त परै जाओस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved