“सामाजिक विकृति अन्त्य गर्न रूपान्तरणका लागि काम गरिरहेका छौं”

नेपालभ्युज

“सामाजिक विकृति अन्त्य गर्न रूपान्तरणका लागि काम गरिरहेका छौं”
फाइल तस्वीर

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गरिरहेको बताएका छन्।

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरूलाई अन्त्य गर्न सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए।

उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए। यस अबधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरू गरिएको उनले उल्लेख गरे।

मुख्यमन्त्री राउतले भने, “समाज रूपान्तरण गर्ने किसिमका अभियानहरू पनि सञ्चालन गरेका यहाँहरू देख्नुहुनेछ। निश्चित रुपमा समाजमा रहेका कुरिति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिहरूलाई जबसम्म महिलालाई सशक्त बनाइदैनँ, दलितलाई मेनस्ट्रिममा ल्याइदैन, उत्पीडनमा रहेका समुदायहरूलाई जबसम्म ल्याउँदैनौँ। निश्चित रुपमा यो समाजलाई रूपान्तरण गर्न सकिदैन। यसका लागि यहाँहरूलाई थाहा होला, बेटी पढाऔँ, बेटी बचाऔँ अभियान हामी शुरु गर्‍यौं। छोरी शिक्षा विमाका कार्यक्रम ल्यायौँ, बीचमा कोभिडको कारणले केही समय यो स्थगित रहेको थियो। तर अहिले फेरि हामी सञ्चालन गर्ने क्रममा छौँ। साइकल वितरण गर्ने कार्यक्रम पनि हामी सञ्चालन गर्‍यौं। लोकसेवाका कक्षा सञ्चालन पनि गर्‍यौं।”

प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उनले व्याख्या गरे।

मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत ल्याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए। मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved