‘एक्सपेरिमेन्ट’मा छ नेपाली क्रिकेट टिम

ओमानमा जारी चार देशीय यो सिरिजका खेलहरू विश्वकप छनोटको अनौपचरिक अभ्यास खेलसरह हो। जसमा हरेक टिमले आफ्नो टिमको कमजोरी र बलियो पक्ष औल्याउने र विपक्षी टिमको पनि नाडी छाम्ने मौका पाएका छन्।

‘एक्सपेरिमेन्ट’मा छ नेपाली क्रिकेट टिम

काठमाडौं। ओमानमा टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगिता खेल्नु अगाडी नेपाली राष्ट्रिय टिम हाल ‘एक्सपेरिमेन्ट’ मा नै छ। हुन त ओमानमा जारी चार देशीय यो सिरिजका खेलहरू विश्वकप छनोटको अनौपचरिक अभ्यास खेलसरह हो।

जसमा हरेक टिमले आफ्नो टिमको कमजोरी र बलियो पक्ष औलाउने र विपक्षी टिमको पनि नाडी छाम्ने मौका पाएका छन्।

यसै हप्ताको शुक्रबारदेखि ओमानमा नै हुने टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगितामा यो सिरिज खेलिरहेका नेपाल, ओमान, यूएई र आयरल्याण्डसँगै आठ टिमको सहभागिता रहनेछ।

जसमध्येबाट फाइनल खेल्ने दुई टिमले यसै वर्ष अक्टोबरमा अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन्। यो सिरिज खेलिरहेका चार टिममध्येका दुई टिम नै विश्वकपका लागि छनोट हुने प्रवल सम्भावना भएका टिम हुन्। किनकी अन्य चार टिम तुलनात्मक रूपमा कमजोर छन्।

नेपालले जारी सिरिजको दुई खेल खेलिसकेको छ। यो सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भयो।

आइतबार यूएईले भने यी चारमध्ये सबै भन्दा बलियो टिम, टेष्ट मान्यता प्राप्त आयरल्याण्डलाई पनि पराजित गर्दै विश्वकप छनोटमा प्रबल दावेदारी प्रस्तुत गरिसकेको छ। पछिल्लो समय यूएईले निकै राम्रो खेल देखाउँदै आएको छ।

अब सोमबार सिरिजको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्डसँग खेल्दैछ। यसपछि नेपालले विश्वकपको छनोटको पहिलो खेलमा आउँदो शुक्रबार घरेलु टिम ओमानसँग खेल्नेछ।

तर दोस्रो पटक विश्वकप खेल्ने सपना देखिरहेको नेपाली टिमले भने आफ्नो उत्कृष्ट प्लेइङ ११ अझै पनि छनोट गर्न सकेको छैन। हाल नेपाली टिममा १७ खेलाडी छन् भने विश्वकप छनोटका लागि तीन खेलाडी हटाएर १४ खेलाडीको स्क्वाड बनाउनुपर्नेछ।

अब पुबुदुलाई प्रमुख तनाब नै टिममा रहेका मध्ये को तीन खेलाडी हटाउने भन्नेमा रहेनेछ।

त्यसैले पनि नेपाली टिम जारी सिरिजका खेलमा विभिन्न प्रयोग गरिरहेको छ। पहिलो र दोस्रो खेलमा ओपनर, अलराउण्डर र बलरको रूप प्रशिक्षक पुबुदुले केही फरक–फरक खेलाडीलाई प्रयोग गरेका थिए।

उनले पहिलो पटक राष्ट्रिय टिममा परेका तीन खेलाडी लोकेश बम, विवेक यादव र सागर ढकाललाई पनि डेब्यु गराइसकेका छन्। पुबुदुका योजना सबै खेलाडीको प्रदर्शन आकेर विश्वकपको छनोटको लागि १४ सदस्यीय नेपाली स्क्वाड बनाउने र मुख्य खेलमा मैदानमा उत्रने सहि प्लेइङ ११ को पनि छनोट गर्ने उनको योजना छ।

अब आयरल्याण्डसँगको खेलमा भने संभवत नेपालको पहिलो रोजाईको टिम नै उत्रने छ।

नेपालका कप्तान सन्दीप लामिछाने भन्छन्, ‘अझै पनि करण केसी र कुशल भुर्तेल सामान्य चोटका कारण रेस्टमा छन्। पुरै रिकभर नभएसम्म खेल्ने कुरा हुदैन तर अन्तिम खेलमा उहाँहरू पनि खेल्ने आसा छ। फुल टिमको साथमा अर्को खेल खेल्ने तयारीमा छौ। छनोटको पहिलो खेलका लागि सकेसम्म फुल स्ट्रेन्थ टिम बनाउने तयारी छ।’

सिरिजका शुरुआती दुई खेलमा गरिएको ‘एक्सपेरिमेन्ट’ मा नेपाली टिममा देखिएका बिशेषताहरू यस्ता छन्।

ओपनिङमा कुशल भुर्तेलको अभाव

खुट्टाको माथिल्लो भागको चोटका कारण नेपालका प्रमुख ओपनर कुशल भुर्तेलले यो सिरिजको शुरुआती खेल गुमाए। उनाको चोट भने सामान्य रहेको र आयरल्याण्डसँगको खेलका लागि उपलब्ध हुनसक्ने प्रशिक्षक पुबुदुले बताएका छन्।

चोट सामान्य भएपनि आउँदो शुक्रबारदेखि ओमानमा नै शुरु हुने विश्वकपको छनोट खेलमा असर नपरोस भनेर नै उनलाई बिश्राम दिइएको हो।

गत एक वर्षदेखि बिशेषगरि आसिफ शेखसँगको उनको ओपनिङ जोडी नेपाली क्रिकेटको लागि निकै फलदायी रहँदै आएको थियो। ओमान र यूएईसँगको खेलमा यो जमेको जोडी खेल्न नपाउँदा नेपालको ओपनिङ जम्न सकेन।

जारी सिरिजको पहिलो खेलमा मात्र २२ रन जोड्ने क्रममा चौथो ओभरमा नै नेपालका ओपनारद्धय आसिफ शेख र प्रदिप ऐरी आउट भए। प्रदिपले १४ बलमा मात्र चार रन जोडे।

उनले सुस्त खेल्दा उनीसँगै क्रिजमा रहेका अर्का ओपनर आसिफलाई धेरै रन जोड्ने दबाब बढ्यो। फलस्वरूप लगातार बिग हिट गर्न खोज्दा उनी क्याच आउट भए। आसिफले पहिलो खेलमा दुई चौकासहित १४ रन मात्र जोड्न सके।

यसपछि यूएईसँगको दोस्रो खेलमा पुबुदुले आसिफको ओपनीङ जोडीको रूपमा तेस्रो नम्बरमा खेल्ने ज्ञानेन्द्र मल्ललाई पठाए। यो जोडिले पहिलो विकेटको लागि ५३ रनको राम्रो साझेदारी गर्‍यो।

तर तेस्रो नम्बरमा आएर एंकर रोल निभाउने ज्ञानेन्द्र ओपनरको रूपमा आएपछि नेपालको ब्याटिङ अर्डर खुम्चियो। यदि कुशल ओपनीङमा रहेमा नेपालको ब्याटिङ अर्डर लामो हुनेछ। त्यस्तै पावर प्लेमा कुशलको बिष्फोटक ब्याटिङले नेपाललाई उत्कृष्ट शुरुआत गर्न मद्दत गर्छ।

गत बैशाषमा नेपालमा नै भएको ट्राई नेसन्स सिरिजमा कुशल र आसिफको जोडिले कमाल गरेको थियो। नेपालले खेलेको नेदरल्याण्डस् र मलेसियासँगको शुरुआती दुबै खेलमा कुशल र आसिफको जोडिले सतकिय साझेदारी गरेका थिए।

यो सिरिजमा खेलेका पाँचै खेलमा यी दुई मध्ये कम्तीमा एक ओपनर चल्दा नेपालले चार खेल जितेको थियो र सिरिजको उपाधि पनि। सफल ओपनिङका कारण नै सिरिजमा नेपलाले शुरुआती ब्याटिङ गरेको तिन खेलमा नै २०० प्लसको स्कोर बनाएको थियो।

कुशलले ट्राई नेसन्स सिरिजमा चार खेलमा अर्धसतक प्रहार गरेका थिए। उनी नै प्लेएर अफ दी म्याच पनि बनेका थिए। यसै सिरिजबाट अन्तराष्ट्रिय टी–ट्वान्टीमा उनको डेब्यु भएको थियो।

हालसम्म खेलेका पाँच अन्तराष्ट्रिय टी–ट्वान्टी खेलाम १४० माथिको स्ट्राइक रेटमा उनले कुल २७८ रन जोडेका छन्। अन्तराष्ट्रिय टी–ट्वान्टीमा डेब्युमा लगातार तिन खेलमा तिन अर्धसतक प्रहार गर्ने विश्व कै पहिलो खेलाडीको रेकर्ड कुशल कै नाममा छ।

दीपेन्द्रको लय

नेपालका मध्यक्रममा ब्याटर दीपेन्द्र सिंह ऐरी नेपाली इनिङ्लाई जोगाउने मात्र होइन जितका लागि नायक बन्ने खेलाडी हुन्। शुरुआती दुई खेलमा गरेको ब्याटिङले नै उनी उच्च फर्ममा छन् भन्ने प्रमाणित गरेको छ।

पहिलो खेलमा ओमानलाई हराउँन फसिसकेको नेपालको इनिङ्लाइ तानेर उनले जितसम्म पुर्‍याए। उनले ५३ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित सवार्धिक ७३ रनको योगदान गरेका थिए।

ट्राई नेसन्स सिरिजमा पनि मध्यक्रममा दीपेन्द्रले तीन खेलमा एक अर्धसतकसँगै तीन तीस प्लसको स्कोर बनाएका थिए। त्यस्तै गत महिनाको प्रधानमन्त्री कपमा पनि ६ खेलमा दुई अर्धसतक प्रहार गरेका थिए। साथै उनी बलिङमा पनि नेपालका लागि भरपर्दा विकल्प हुन। प्रधानमन्त्री कपमा उनी ६ खेलमा सवार्धिक १४ विकेट लिने खेलाडी बनेका थिए।

लोकेश जम्ने संकेत

नेपालका लागि उत्कृष्ट फिनिसर बन्ने सक्ने संकेत देखाएका हार्ड हिटर लोकेश बमले डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन्। यूएईसँगको खेल नेपालले हारेपनि उनले सोचे अनुसार कै आक्रमक पारि खेलेका थिए।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उनले २१ बलमा दुई चौका र दुई छक्काको मद्दतले ३३ रन जोडेका थिए। तर डेब्यु म्याचमा राम्रो खेल देखाए पनि हारका कारण उनी सन्तुष्ट थिएनन्, ‘डेब्यु म्याचमा निश्चय नै प्रदर्शन राम्रो भयो भन्दिन म, किनकि त्यहाँ बाट म खेल जिताउन सक्थे। त्यो एकदम पर्फेक्ट सिच्युएसन थियो मेरा लागि खेल जिताउन। तर दुर्भाग्य खेल भने जिताउन सकिन, त्यसैले राम्रो शुरुआत मान्दिन म।’ डेब्यु खेलपछि लोकेसले बताए।

पहिलो अन्तराष्ट्रिय खेल भएकाले शुरुमा अलिकति नर्भस भए पनि पछि उनले आफ्नो शैलीलाई समातेका थिए। प्रशिक्षक पुबुदुले नै उनलाई आफ्नो नेचुरल खेल खेल्ने स्वतन्त्रता दिएका छन्। उनको शैली भनेको क्रिजमा पुगेपछि बललाई चुट्ने ‘फिएरलेस ब्याटिङ’ नै हो।

स्पिनमा सन्दिपले साथ नपाउनु

यो पटक नेपालको बलिङ केही कमजोर रहेको कुरा पहिले नै आकलन भएको थियो। विशेषगरी स्पिनमा अनुभवी बसन्त रेग्मी र शक्ति गौचनको संन्यासपछि नेपालको स्पिन बलिङ केही कमजोर हुनु स्वाभाविक थियो।

हाल नेपालको स्पिन बलिङमा ग्लोबल स्टार सन्दीप लामिछाने फर्ममा छन्। तर उनलाई साथ दिने अर्का स्पिनरको अभाव देखिएको छ। पहिलो खेलमा डेब्यु युवा स्पिनर सागर ढकालले बलिङ राम्रो भएन। नेपालले जितेको खेलमा उनले बलिङ गरेको तीन ओभरमा ३६ रन खाएका थिए।

त्यसैगरी सन्दीपलाई साथ दिनसक्ने अर्का स्पिनर सहाब आलमले पनि दोस्रो खेलमा मात्र २ ओभरमा ३५ रन खर्चिए। दुवै युवा भएकाले उनीहरूमा अनुभवको कमी देखिन्थ्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved