गाउँभरि गाडियो बिजुलीका पोल तर बत्ती बल्ने छाँटकाँट छैन

गाउँभरि गाडियो बिजुलीका पोल तर बत्ती बल्ने छाँटकाँट छैन

सुर्खेत। जिल्लाको नरहरिनाथ गाउँपालिकामा बिजुलीका पोल र तार गाडिएको १५ वर्ष बित्दा पनि बिजुली बल्न सकेको छैन। गाउँपालिकाका नौ वटै वडामा बिजुलीका पोल र तार गाडिएको भए पनि हालसम्म विद्युतको उज्यालो स्थानीय नागरिकले देख्न पाएका छैनन्।

साविक गाउँ विकास समितिहरूले लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँ गाउँमा बिजुलीका पोल र तार गाडिएका छन्। पोल गाडिएको भए पनि न ती गाउँमा विद्युतको आयोजना बनेको छ न आयोजना बनाउने तयारी गरिएको न त अन्तबाट विद्युत् लैजाने तयारी गरिएको छ।

हचुवाका भरमा विगतमा साविकका गाविसहरूले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरू गाडिएका हुन्। पोल गाडिएको वर्षौं भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन्। न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ।

बिगत १५ वर्ष अगाडि गाडिएका ती पोल र तारहरूमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करौडौं रुपैयाँ नोक्सान भएको छ।

अलपत्र तार र पोलहरू

लालु, माल्कोट, कुमालगाउँ, रुप्सा र कोटबाडामा विगतमा साविकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरीद गरिएका कयौं पोलहरू लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका-९ का शिक्षक नबराज शाहीले बताए। “गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरीद गर्ने निर्णय गरिएको छ,” उनले भने,”विद्युतको आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो।”

पोल गाडिएको ती गाउँहरूमा विद्युत आयोजनाको सर्भे भएका कारणले विगतको गाविसको बजेटबाट पोल खरीद गरिएको गाउँमा पोल गाडिएको नेकपा एमाले जिल्ला सचिव टेकबहादुर बुढाले बताए। “दुई ठाउँमा विद्युत आयोजना सर्भे भएको छ,” उनले भने, “त्यसो भएर गाविसका बजेटबाट पोल र तार खरीद गरेका हौं।”

कति गरे खर्च ?

पोल तारमा साविकको लालु गाविसले आ.व. २०६७/०६८ कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौं खर्च गरेको छ।

कुमालगाउँ गाविसले आव२०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरीद गरिएको माओवादी केन्द्र नरहरिनाथ गाउँपालिकाका ईन्चार्ज अध्यक्ष अग्रबहादुर बिष्टले बताए।
गाउँमा विद्युत आयोजनाको पुर्वाधार निर्माण नगरी गाउँमा विद्युतका पोल र तार कतै गाडिनु तै पोल र तार अलपत्र अवस्थामा छोड्नुको मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै मुख्य उद्देश्य देखिएको जनप्रभात माध्यामिक विद्यालय नरहरिनाथ गाउँपालिका- ९ लालुका प्र्रधानाध्यपक निर्मलकुमार बताए।

“विद्युतका पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ।” उनले भने,-“न विद्युत आयोजना छ। न कतैबाट विद्युत ल्याउने तयारी छ। हचुवाका भरमा विद्युतका पोल गाडिनुमा मुख्य कारण नै अन्य हो।”

हचुवा भरमा योजना

हचुवाका भरमा बिजुलीका पोल र तार खरीद गर्ने बिगतका गाविसहरूले गरेको स्थानीयको भनाइ रहेको छ।

विगतमा हचुवाका भरमा बिजुलीका पोल र तार खरीद गर्ने लक्ष्य आर्थिक अनियमिता नै रहेको नरहरीनाथ गाउँपालिकाका सामाजिक कार्यक्रता वीरेन्द्रबहादुर बुढाले बताए। “हचुवाका भरमा पोल र तार खरीद गरियो,” उनले भने, “यसमा तत्कालिन गाविस, राजनीतिक दलहरूका बोर्ड सदस्यहरूले यो अनियमित गर्नेबाहेक अर्को लक्ष्य राखेनन्।”

करौडो रुपैयाँ खर्च गरेर गाडिएका बिजुली पोल र तारहरू अहिले अलपत्र अवस्थामा रहेका छन्। यसरी अलपत्र पारिएका साविकका ५ वटा गाविसमा गाडिएका बिजुली पोल र तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग पनि छैन।

एउटा लहडमा बिजुली पोल र तारहरू किन्ने र गाउँ गाउँमा गाड्ने काम भएको र त्यसको ठुलो रकम दुरुपयोग भएको स्थानीय रामबहादुर बटालाले बताए। “हचुवाका भरमा पोलहरू गाडियो,” उनले भने, “त्यसको ठूलो रकम दुरुपयोग भएको छ।”

राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी

नरहरिनाथ गाउँपालिका अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको गाउँपालिकाले जनाएको छ।

विगतमा कालिकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए।

राष्ट्रिय प्रसारण लाइन नहुँदा गाउँपालिका-६ नम्बर वडामा धाचु खोला जलविद्युत आयोजना निर्माण भइरहेको त्यहाँबाट उत्पादन हुने बिजुली गाउँपालिकामा जोडिने अध्यक्ष बिष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved