कोभिडको असर, सुनसान छ पोखरा…

पोखरा अचेल सुनसान भएको छ। प्रमोद खरेलको स्वरमा सजिएको गीतमा जस्तै ‘दिल मात्र छ पोखरामा’।

कोभिडको असर, सुनसान छ पोखरा…

काठमाडौं।

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ

पोखरा त साँच्चिकै पोखरा नै रै’छ।’

गीतमै अटाएको थियो पोखरा। प्रेमप्रकाश मल्लले यसरी आफ्नो स्वरमा सजाएकै थिए। बुद्धि परियारले बैगुनीलाई गुनले मार्छु भन्दै ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाएका थिए।

प्रकाश श्रेष्ठको स्वरमा ‘फेवातालको आँगनमा माछापुच्छ्रे छाया’ लहरिरहेको थियो। शिव परियारले ‘फेवा तालमा साँइली’सँग डुँगा बहाएकै थिए। ‘सम्झनाको तस्वीर’ मनमा बोकेर हिँडेकै थिए।

‘जोमसमै बजारमा बाह्र बजे’को हावा खाने नेपथ्यका अमृत गुरुङले गर्वका साथ गाएकै थिए– ‘घर हाम्रो पोखरा’।

हिमालको दर्पण छातीमा सजाएर मस्किन्थ्यो पोखरा। त्यही रमाउँथे देशभित्र र बाहिरका पर्यटक। र त भूपी शेरचनले लेखेका थिए–

हवाईजहाज आइरहेका छन्

हवाईजहाज गइरहेका छन्

हवाईजहाज आइरहेछन्

माछापुच्छ्रे हेर्न आएका टुरिष्टहरू बोकेर…’ (पोखरा, घुम्ने मेचमाथि अन्धो मान्छे)

त्यही पोखरा अचेल सुनसान भएको छ। प्रमोद खरेलको स्वरमा सजिएको गीतमा जस्तै ‘दिल मात्र छ पोखरामा’।

सुनसान भएको छ पोखरा।

जुनसुकै मौसममा पनि पर्यटकले भरिने पोखरालाई विश्वव्यापी महामारी कोभिड–१९ले सुनसान बनाइदिएको छ। व्यवसाय ठप्प भएको छ। खासगरी लेकसाइडका होटलहरू अचेल सुनसान भएका छन्।

१० वर्षदेखि होटल व्यवसाय गर्दै आएका रविन लामाको अनुभवमा त दैनिकी नै फेरिएको छ।

लामो लकडाउनबाट अलिक तंग्रिन थालेको व्यवसाय कोभिडको तेस्रो लहरसँगै फेरी ओरालो लागेको उनले सुनाए।

“एक महीना पहिला खाजा र खाना बनाउँदा यति व्यस्त हुन्थेँ आफैलाई समेत समय दिन सक्दिनथेँ त र अचेल त बाटो छेउमा बसेर पर्यटक कुरेरै दिन जान्छ”, लामाले दुःख पोखे, “यति गर्दा पनि दुई, चारजना मात्र पर्यटक भेटिन्छन्।”

पर्यटकहरूको चहलपहल निकै कम भएपछि कर्मचारी हटाएर आफूसहित दुई जनाले मात्र होटल चलाइरहेको उनले बताए।

यस्तो अनुभव उनको मात्रै होइन। फेवातालमा १२ वर्षदेखि डुंगा चलाइरहेका थिरमानको पनि उस्तै दुखेसो छ। फेवातालमा दैनिक २० फेरो लगाउने गरेका उनले अचेल विरलै तीन, चारपटक फेरोमै चित्त बुझाउन बाध्य भएको बताए। डेढ महीना पहिला मासिक झण्डै दुई लाखसम्म कमाउने गरेका उनले आम्दानी ह्वात्तै घटेको दुःख सुनाए।

‘‘अहिले त कमाइ नै भएको छैन”, उनले भने, “साहुलाई दिन पनि पैसा पुग्दैन घरमै बसेर पनि के गर्नु ? यो कोरोनाले गर्दा मान्छे आउनै छोडे, दिनमा तीन/चार हजार कमाउन पनि निकै गाह्रो भइरहेको छ।”

उनका अनुसार फेवातालमा जम्माजम्मी तीन सय ५७ वटा डुंगा छन् तर एक सय ५० ओटामात्र सञ्चालनमा ल्याइएको छ। तीमध्ये कतिपय त ग्राहक नपाएकैले दिनभर नचल्ने उनले बताए।

पर्यटकलाई ल्याउन, पुर्‍याउन व्यस्त हुने ट्याक्सी चालक पनि लेकसाइडमा लामबद्ध रूपमा पर्खिरहेका देखिन्छन्। तर प्रतीक्षा प्रायः निराशामा टुंगिने गरेको छ।

“एकातिर तेलको मूल्य पनि निकै बढिरहेको छ, त्यसमाथि पर्यटक पनि आउनै छोडे, खानाका लागि पनि हम्मेहम्मे पर्न लागिसक्यो”, नाम बताउ अप्ठ्यारो मान्दै एक ट्याक्सी चालकले दुखेसो पोखे, “आक्कलझुक्कल नेपालीहरू आइरहेका छन्, यस्तो भयो भने अब अरू नै केहि गर्नु पार्ला जस्तो छ।”

लेकसाइडमै फेन्सी पसल चलाइरहेका धर्म राईलाई त पसल नै बन्द गरौंजस्तो भइसकेको छ।

“बिस्तारै मानिसहरूको चहलपहल बढ्ला कि भनेर पसल खोलेको एक हप्ता जति भयो तर एक दुई जना मात्र आइरहेका छन्”, उनले भने।

पर्यटक नै नभएपछि लेकसाइडका नाम चलेका होटलले कोठाको शुल्क आधा घटाएका छन्। तर पनि अधिकांश रित्ता रहने गरेका छन्।

रात्रिकालीन क्लब र रोधीघर त पूर्णरूपमा बन्द गरिएको छ।

रातभर अनिँदै रहने पोखराको लेकसाइड अचेल सम्साँझैमा निदाउन बाध्य छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved