प्रिय कथा

चालीस दिन

“तिमी काममा गएनौ ? किन रुँगेको मलाई ? के भएको छ मलाई ? तिमी काममा गयौ भने पो पैसा हुन्छ र नानी ल्याउन पाइन्छ। जाऊ न जाऊ। अहिल्यै जाऊ।”

चालीस दिन

(रचनागर्भ– यो कथा साठीको मध्य दशकमा लेखिएको हो। त्यस्तै ०६४–६५ सालतिर। म बिहान–बिहान स्थानीय एफएममा राष्ट्रिय समाचारपछिको स्थानीय समाचार सुन्दै बिहानको खाना बनाउने गर्थेँ। एक दिन समाचारमा यही कथाको घटना प्रसारित गरिएको थियो र यस समाचारले मेरो आमा–हृदयमा खुब चोट परेको थियो। कसरी ती आमाले शिशुवियोग खपिन होला ? मूल प्रश्न त यही थियो।

समाचारमा भारतीय सीमाक्षेत्रको हस्पिटलबाट चालीस दिनमा बच्चालाई फिर्ता ल्याइएको र त्यसका लागि बैंक मेनेजरले पैसा दिएको मुख्य दुई लाइन थिए। तर मैले दिनभरि ती सुत्केरी आमालाई सम्झिरहेँ। तिनको शरीरमा भएका पीडा र मानसिक अभिघातको कल्पनाले म आफैँ घाइतेसरी भएँ। मध्य मोरङको दक्षिणी भेगमा भएको सघन गरिबीको तस्वीर मेरा आँखामा नराम्रो गरी खेलिरहे र यो कथाको जन्म भयो। त्यस भेगका मानिसले भारतीय सीमानाका अस्पतालमा उपचार गर्न जाने प्रवृत्ति र यदाकदा किड्नी नै बेपत्ता भएको, फर्जी चिकित्सकले औषधि गरेकोजस्ता धेरै घटना सुन्नमा आइरहने गर्थे। हुन त राज्यसंयन्त्रको आँखामा यो दुर्दिनको दृश्य परोस् भन्ने नै यस कथाको रचनाहेतु हो। अझ तराईमा हुने बालिका विवाह, अशिक्षा, गरीबी र सामाजिक आर्थिक संरचनाको प्रतिविम्ब राख्न खोजे पनि अस्पतालजस्तो संस्थाले गर्ने व्यापार, अमानवीय यातना जो एक आमाले निर्धन भएकै कारण भोग्नुपर्‍यो, अनि नागरिकप्रतिको राज्यको नालायक गैरजिम्मेवारीपनजस्ता धेरै कुराप्रति प्रश्न गर्ने अभिप्राय नै यो कथाको रचनागर्भ हो।)

शोभी टोलाउन थाली। अस्पतालबाट फर्किएपछिका ती दिन शोभी आधा बाँचिरहेकी थिई भर्खर जन्मिएको सन्तानसँग टाढिएर।

“कस्तो पोलेको ? फलाम तताएर राखेको छ कि क्या हो यहाँ ? उसले स्तन छाम्दै भनी। यी डल्लाले मुटु पोल्यो भतभत्। कति गह्रौं ? के भो मलाई ?” ऊ फतफत गरिरही।

सियाराम, उसकोे लोग्ने, चुपचाप हेरिरह्यो छेउमै उभिएर।

“शोभी घाउ हुन्छ फेरि ! निचोर् न बिस्तारै,” सासुले दूध निचोरेर फ्याँक्न लगाई।

“अँ यो त मेरो छोराको लागि बचाएर राख्छु म। मैले जन्माएको छोरो। तपार्इँको त नाति हो नि त्यो। उसले खानु पर्दैन ? अघाउनु पर्दैन ? बलियो हुनु पर्दैन ? पछि उसको बाबु बूढो भएपछि रिक्सा तान्नुपर्छ, सकेन भने ? कमजोर भयो भने कति दुःख हुन्छ त्यसलाई ? तर म त उसलाई पढाएर ठूलो बनाउँछु। अहँ, रिक्सा तान्दैन त्यसले।” शोभी हाँसी। भाग्दै बाँसको टाटीभित्र गएर छेलिई।

साँझ पर्‍यो। दिउँसो सुकाएका लुगा उठाई। भित्र बाँसकै खटियामा सानो ओछ्यान लगाई। सियाराम खटियाको छेउमा बस्यो।

उसले ठूलाठूला आँखा पार्दै भनी, “तिमी नबस त्यहाँ। त्याँ मेरो बाबु सुत्छ। त्यसलाई थिच्छौ तिमीले ? हेरन म गएर अहिल्यै गएर अस्पतालबाट लिएर आउँछु त्यसलाई। त्यसलाई अरूले त्यसरी बाँधेर राख्न पाउँछन् सधैं ? अस्पतालले पनि दिनुपर्छ। अब त दश दिन भइसक्यो।” शोभी कुद्दै आँगनपारि गई। सियाराम पछिपछि गयो।
दुई तीन गरा कटेपछि मात्र सियारामले शोभीलाई समात्न सक्यो।

“मलाई नसमात। म अस्पतालसम्म पुगेरै छोड्छु।” शोभी फुत्किन खोज्दै घिस्रिदै आई सियारामको अँगालोमा।

भोलिपल्ट बिहान उसले त्यही सानो ओछ्यानमा ओढाएको पातलो बर्को झिकी। खाली ओछ्यान छाम्दै भन्न थाली।

“ए तातै रहेछ। आज त पक्कै यो ओछ््यानमा सुत्न मेरो बबुवा आउँछ। आज उसको बुबाले पक्कै पैसा भेटाउनेछन्। अस्पतालमा पैसा बुझाउनेछन्। अनि बाबु मेरो काखमा हुन्छ। म आज त आफ्नो दूध निचोरेर फ्याँक्दै फ्याँक्दिनँ। आमाले भनेको पनि मान्दिनँ।”

सियारामले पानी लिएर आयो।

“तिमी काममा गएनौ ? किन रुँगेको मलाई ? के भएको छ मलाई ? तिमी काममा गयौ भने पो पैसा हुन्छ र नानी ल्याउन पाइन्छ। जाऊ न जाऊ। अहिल्यै जाऊ।” उसले धकेल्न खोजी सियारामलाई तर आफैं झण्डै लडी।

“कस्तो रिङ्गटा लागेको मलाई ? लौ मेरा खुट्टा के भएका ? पिँडुलामा त गाँठो पर्न थाल्यो। खाली गाँठो पर्छ अचेल मेरो जीउमा। दूधमा गाँठो, खुट्टामा गाँठो। के के हुने भो मलाई ? मलाई मेरै छोरोले पो चिन्दैन होला अब ?” शोभी थचक्क बसेर रुन थाली।

“नरो न नरो। तेरा आँखा त पाकेका गोलभेडा जस्ता पो भए त। कति रुन्छेस् ? मलाई चैं माया लाग्दैन छोराको ? मैले त्यसै छोडेको हो र अस्पतालमा ? बरु जिन्दगीभरि अस्पतालमा काम गर्छु तर छोरो देऊ भनेर कति भनेँ त्यो हाकिमलाई। सुन्दै सुन्दैन। के गर्छेस् त्यत्रो पैसा कहाँबाट ल्याउनू ?”

“पैसा नभए छोरो पाउने नबनाउनू नि मलाई ? पाउन नलाए पनि हुने। म भुँडीभित्रै राखिरन्थेँ। पाउँदिनथेँ,” शोभीले आँखा तर्दै भनी।

सियारामको अनुहार कालो भयो। शोभीले चाल पाई। “हैन हैन, मैले तिमीलाई भनेको होइन। नरिसाऊ है। जाऊ, बुबाघर बरु। केही जोगाड भयो कि ? केही हुँदैन मलाई। मलाई यसरी छोडेनौ भने कसरी साद्धे हुन्छ ? छोराले ठूलो भएर थाहा पाउला यो कुरो ? चित्त दुख्छ नि उसको। छिटै ल्याउनुपर्छ घरमा।” शोभी बकबक गरिरही। सियाराम डेग चलेन।

शोभीले सियारामलाई छेउमा बोलाई। “घाँटी अठ्यायो। यहाँ बिझायो के छ ? हेरिदेऊ न।”

“केही छैन। कति झारेको आँसु ?” सियारामले गाली गर्दै गालाको चिसो पुसिदियो। “आँखा बाहिर निस्केलान् नि ? कति सुन्निसके तेरा आँखा ? धेरै नमिच। देख्नै नसक्ने भइस् भने कसरी देख्छेस् तेरो छोरो ?”

“हो हो, अब म रुन्नँ। अब म हाँस्छु।” शोभी हाँस्न थाली।

“खै देऊ त ऐना। म कति राम्री भएँ ऐना हेर्छु। हाँसेको बेला त राम्रो हुन्छ मान्छे।”

सियारामले ऐना दिएन। शोभी भित्तामा टाँगिएको हेर्न गई। ऐना हेरेर फेरि हाँस्न थाली।

“म त अब दुलही जस्तै राम्री हुन्छु। तर मैले बेहुली हुँदाको सबै कुरा बिर्सिसकेँ। बिहे हुँदा आठ वर्षकी थिएँ अरे। मैले त्यतिखेर लिपिष्टिक लाएकी थिएँ। तिमी मेरो साथी जस्तो थियौ तर सबैले मलाई तिमी मेरोे लोग्ने हौ भन्थे।” शोभी अतीत सम्झन थाली।

“विवाह भनेको त अर्काको घर जानुपर्ने पो रहेछ। मलाई केही थाहा थिएन।” शोभी गनगन गर्न थाली।

बाबु शिवचरणले काखमा राख्दै भनेको सम्झी– “जाऊ बेटी ! अब तुम हमार नभइल।”

“अहिले पो बुझेँ। आमा पनि रुँदै थिइन्। अँध्यारो अनुहार लगाएकी थिइन्। म त अर्कै ठाउँमा जाने भनेर खुशी भएकी थिएँ। घुम्न हिँडेजस्तो। सन्तान टाढिँदा कस्तो हुँदो रहेछ ? आमाको दुःख त मैले अहिले पो बुझेँ।”

शोभीले त्यो सानो झुप्रो सम्झी। ऐलानी जग्गाको। जनबनी गर्नुपर्ने गुजारा गर्न।

जन हुनुअघि ऊ गोठाल्नी थिई। गाई चराइदिएबापत मासिक केही अन्न उसको घर आउँथ्यो ठूलोघरे छिमेकीबाट। ऊ त्यतै धाउँथी। बेलुका सातैजना जहान भुइँभरि लहरै सुत्ने गर्थे। उसकै उमेरकी एउटी नन्द थिई उसकी साथी। र अर्की ऊभन्दा सानी थिई। जेठाजु, देवर एकएकजना अनि लोग्ने सियाराम। अहिलेको बाँसको झुप्रोमा सर्नुअघिको घरको चित्र सम्झँदै गई।

जेठाजु विराटनगर काम गर्न जान्थ्यो। सुनसरी मोरङ करिडोरको धागो फ्याक्ट्रीमा। उसले बिहे गरेको थिएन। ऊ गरीबले बिहे गर्‍यो भने दुःख पाउँछ भन्दै बिहे गर्न मान्दैनथ्यो। छुट्टीमा मात्र घर आउँथ्यो र बेलाबेलामा ज्यालाको केही अंश बाबुलाई दिन्थ्यो।

क्रमशः ठूली नन्द अनि सानी नन्द पनि नौ वर्ष नकाट्दै बिहे गरेर गए। तिनका भागमा पनि आ–आफ्ना कर्मका कुनै सुकुम्बासी टोलहरू परे।

सानो देवर एघार वर्षको हुँदा सियाराम सोह्र वर्षको भयो। एकदिन आमाले बोलाएर सियारामलाई भनिन् “बेटा तुम बडा होइल, अब तु दोसर जगहमे घर बनाक अपन पत्नीक ल जाउ। हम छोट्का बेटाके साथ रहब।”

देवर सुखीलालको पनि बिहे गरेर देउरानी आएकी थिई।

बाबुले जोगाड गरेर दिएको केही घना बाँसले पन्ध्र दिनमा उसको झुपडी तयार भयो। उनीहरू दुइटा थाली, भाँडा, लोहिया, छोलनी, अनि करछुल लिएर नयाँ घरमा सरे। सियाराम र शोभी पहिलोपल्ट बाँसले बनेको खाटमा सुतेका थिए। उनीहरूको सम्पत्ति भन्नु आ–आफ्नो शरीर मात्र थियो।

जनबनीले गुजारा गर्दै थिए। एक दुई महीना बिते। शोभीको पेटमा बच्चा आयो। पन्ध्र वर्षकै उमेरमा शोभी आमा बन्ने भई।

शोभी टोलाइरही सबै सम्झिएर। अब ऊ सम्झन पनि नसक्नेजस्ती भएकी थिई।
नयाँ घरमा उनीहरू बाहेक कोही थिएन। अत्यावश्यक खान्की या अभरमा झिक्ने खर्च पनि थिएन। सानै उमेरको गर्भले शोभीको शरीर गलाउन थाल्यो। ऊ काम गर्न नसक्ने भई।

एकजनाको कमाइले दुई छाक धान्न पनि मुस्किल थियो। शोभी बिमारी भएर मर्नै आँटेपछि दाजुसँग पैसा मागेर सियारामले गोविन्दपुर गाविसको स्वास्थ्य चौकीसम्म पुर्‍याएको थियो शोभीलाई।

“तिम्रो श्रीमतीलाई घरमा बच्चा हुन नदिनू। अप्रेशनै गर्नुपर्छ कि जस्तो छ। व्यथा सहेर घरमा नराख्नू। नत्र पेटको बच्चा र आमा दुवैलाई खतरा हुन सक्छ।” अहेबले सम्झाएको थियो।

सियाराम आमाघरमा भएको भए फ्याक्ट्रीमा काम गर्न जान पाउँथ्यो। तर छुट्टिएपछि बिरामी श्रीमती छोडेर जान सकेन। समस्यामाथि समस्या थपिएजस्तो नयाँ सन्तानको आगमनको सम्भावना खुशीभन्दा बढी आतङ्क भएको थियो उसका लागि।

घरछिमेकले शोभी बिरामी भएको कुरा काट्न थालेका थिए। शोभीले घरबाहिर मुख देखाउन छोडिदिई। बिमारी भएपछि स्नेह र उपचार पाउनुपर्ने उसको नियतिले आत्मग्लानीको उपहार पाएको थियो। जिकिर यहि हो कि ऊ बिरामी भई। गाउँलेको लखमा उसले सियारामलाई सताउन थाली। घस्रीघस्री पकाउँथी। पकाउनु पनि उही चामलको खोले त थियो।

पकाउने काम त गर्दै थिई। तर सात महीना लागेपछि ऊ पूरै थलिई। सियारामले खुब स्याहार गरेको थियो। एक शब्द पनि नझर्किई, नआत्तिई।

शोभी आफूलाई भाग्यमानी ठान्थी र सियारामसँग भन्थी, “खुब माया गर्छौ तिमी। मलाई भारा लाग्छ होला।”

सियारामले साहुसँग धरौटीमा रिक्सा लियो। दिनभरि विराटनगरमा रिक्सा चलाएर ऊ बेलुका जसरी पनि घरै फर्किन्थ्यो।

कहिलेकाहीँ भने सियाराम निरास हुन्थ्यो। दिनभर रिक्सा चलाएर घर आउँदा शोभी भने बिरामले सधैँ थलिएकी हुन्थी। “तर शोभीको के दोष छ र ? ऊ बिमारी हुँदा मेरो भर, म बिमारी हुँदा उसको भर।” तुरुन्त आफैंलाई सम्झाउँथ्यो उसले।

शोभी बिरामी भएर मर्नै आँटे जस्तो भई। तर एक शब्द पनि उसले ऐय्याआत्थु भनिन। सियारामले आफै लख काट्यो। गोविन्दपुरबाट सिधै दक्षिण सिमानापारी भारतको स्थानीय अस्पताल लग्यो। त्यहीँ शोभीले छोरो पाई। अप्रेशन गर्नु नपरे पनि शरीर कमजोर भएकाले शोभी होसमा आउन तीन दिन लाग्यो।

हस्पिटलबाट छुटाउने बेलामा बिलको पैसा देखेर सियाराम झण्डै बेहोस भयो। उसले अस्पताललाई बुझाउनुपर्ने करीब एघार हजार भएको थियो। यति रुपैयाँ उसले जीवनमा एकैचोटी कहिल्यै देखेको थिएन। ऊसँग त चार पाँच हजार मात्र बचेको थियो।

उनीहरूले सबै हाल बुझाउन खोजे।

“डाइरेक्टर साहेब हामी जसरी भए पनि तिर्छौं। बच्चा लान दिनू” भनेर बिन्ति गरे। कागज गर्छौं पनि भने। तर अस्पतालले अन्ततः बाँकी पैसा नतिरी बच्चा लैजान नदिने निर्णय गर्‍यो।

शोभी र सियाराम सात दिनपछि छोरो त्यहीँ छोडेर घर फर्किए।

अर्को दिन बाबुदाजुलाई लिएर सियाराम अस्पताल गयो। कागज, तमसुक, जाकटी र जमानी जस्ता इमानका उपायहरू केही लागेनन्।

बाबुले पहिलो नातिको लागि अस्पतालको डाइरेक्टरको खुट्टै समाएर रोयो तर कोही पग्लिएन। शोभीको आँखाको धारा बग्दैबग्दै दूधको धारासँग मिसिएर धर्तीको एकमुठी माटो भिज्यो। अजस्र अनुनय र बिन्ति बिसाएका आवाज निस्तेज सुके। उनीहरू बच्चा बिनाको सुत्केरी लिएर फर्किएका थिए।

शोभी झसंग भई। उसले छोडेर आएको नानीलाई फेरि सम्झिई। जुरुक्क उठेर बाहिर कुदी। सियाराम भात चलाउँदै थियो। शोभीका पाइलाको आवाज सुनेर ऊ पछिपछि दगुर्‍यो। सियारामको दाजु उनीहरू भएतिरै आउँदै थियो। शोभीलाई छेकारो पारेर समाते।

दाजुले सियारामलाई भन्यो, “एकजना बैंकका मेनेजरले पैसा दिएका छन्। म त्यही लिएर आएको। आज अस्पताल जानुपर्छ। बाबुलाई पनि भनेको छु। गाउँलेहरू पनि जान्छन्। स्कुलको सरहरू पनि जाने रे। गएर नानी लिएर आउनुपर्छ।”

“आज ता चालीस दिन भइसक्यो। नानी पनि पो ठूलै भयो होला। शोभी तैंले रुनु पर्दैन अब। आज त हाम्रो नानी घर आउँछ। देखिस्, केही न केही उपाय हुन्छ भनेको थिएँ नि मैले।” सियारामले शोभीको हात समाउँदै भन्यो।

शोभी झन् ठूलो डाको छोडेर रोई। खुशीले। “म गएर लुगा लगाइहाल्छु। भात भरे आएर खाने है। मेरो खुट्टामा पनि गाँठो छैन अहिले। भरेदेखि त सब ठीक हुन्छ। म भात पकाउँला। तिमी काममा जानू।” शोभीले कसैको प्रतिक्रिया पर्खिन।

गएर ओछ्यान मिलाई। “बाबु भरे आउँछ।” ओछ्यानसँग बोली। कपाल मिलाई। ओढ्ने बोकेर बाहिर आई। आँसुका धारा उसका आँखाबाट अझै पनि बगिरहेकै थिए।

कलाः रमेश श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved