काठमाडौंमा फोक्सो र मधेशमा मुख क्यान्सरका बिरामी बढ्दै

नेपालभ्युज

काठमाडौंमा फोक्सो र मधेशमा मुख क्यान्सरका बिरामी बढ्दै

काठमाडौं। पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा फोक्सो क्यान्सरका बिरामी बढ्दै गएका छन्। सन् २०१८ जनवरीदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री शुरु गरेको छ। उक्त अध्ययनमा ९ ओटा जिल्ला समेटिएका छन्।

जसअनुसार सबैभन्दा बढी काठमाडौंमा फोक्सो क्यान्सरका बिरामी भेटिएका छन्। काठमाडौंपछि रुकुममा फोक्सो क्यान्सरका बिरामी बढी भेटिएको देखिएको छ।

शहरी क्षेत्रबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ , भक्तपुर र ललितपुर) लिइएका छन्। त्यसैगरी अर्ध-शहरी क्षेत्रबाट तराईका चार जिल्ला ( सिराहा , सप्तरी , धनुषा र महोत्तरी) लिइएका छन् र अन्त्यमा पहाडी र दुर्गम क्षेत्रको प्रतिनिधित्व दुई जिल्ला (पुर्वी रुकुम र पश्चिम रुकुम) ले गरेको परिषद्ले जनाएको छ।

परिषद्ले सन् २०१९ जनवरी १ देखि डिसेम्बर ३१ सम्म पत्ता लागेका नयाँ क्यान्सर बिरामीको संख्या र क्यान्सरबाट मृत्यु भएका मानिसहरूको तथ्यांक संकलन गरिएको छ। जसमध्ये एक वर्षमा काठमाडौं उपत्यका र रुकुममा ३ हजार २९५ जना नयाँ क्यान्सरका बिरामी रजिस्ट्री भएका छन् भने एक हजार ४२७ जनाको मृत्यु भएको परिषसद्ले जनाउको छ।

काठमाडौं उपत्यकामा पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र क्रमशः पेट, कोलन, प्रोस्टेट क्यान्सर बढी देखिएको छ। महिलामा भने स्तन क्यान्सर बढी देखिएकोमा त्यसपछि फोक्सो, पाठेघर पित्तथैलीको क्यान्सर देखिएको परिषद्ले जनाएको छ।

काठमाडौं उपत्यकामा मात्रै सन् २०१९ मा नयाँ क्यान्सर बिरामीको दर प्रति एक लाखमा पुरुषमा ८६ दशमलव ७ र महिलामा ९० दशमलव ८ पाइएकोमा मृत्युदर भने पुरुषमा ४२ दशमलव १ र ३४ दशमलव ३ छ।

यसैगरी रुकुममा पुरुषहरुमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ भने महिलाहरुमा फोक्सोको क्यान्सर बढी देखिएको छ। रुकुममा प्रति एक लाख पुरुषमा ५२ दशमलव २ र महिलामा ४७ दशमलव ३ बिरामी दर पाइएकोमा मृत्युदर पुरुषमा २७ दशमलव ६ र महिलामा २५ दशमलव ५ रहेको छ।

काठमाडौंमा र त्यसपछि रुकुममा फोक्सोका क्यान्सर बिरामी बढेको देखिएकोमा उक्त अध्ययनले मधेशमा भने मुख क्यान्सरका बिरामी बढेको देखाएको छ। रजिष्ट्रीको तथ्यांकअनुसार मधेश प्रदेशका जिल्लाहरुमा पुरुषमा सबैभन्दा बढी मुखको क्यान्सर र त्यसपछि क्रमशः फोक्सो, पेट, पित्तथैली र कलेजोको क्यान्सर देखिएको छ। यसैगरट्ठ महिलामा स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ र पाठेघर, पित्तथैली फोक्सोको क्यान्सर क्रमशः बढी देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved