लोकप्रियताका लागि ‘स्टन्ट’को सहारामा मन्त्रीहरू

पत्रकार र युट्युबर पछि लगाएर ‘फिल्ड’मा रमिता

सरकारको कामकारबाही प्रभावकारी नभएको भन्दै आम नागरिक तहमा आलोचना बढेपछि मन्त्रीहरू ‘स्टन्ट’को सहारा लिएर ‘सस्तो चर्चा’मा देखिन थालेको भन्दै आलोचना भएको छ।

लोकप्रियताका लागि ‘स्टन्ट’को सहारामा मन्त्रीहरू

काठमाडौं। बतास समूह जोडिएका विषयमा आक्रामक कारबाही प्रक्रिया अघि बढाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको चर्चा चुलिएको छ।

टेलिभिजन र युट्युबका क्यामरासहित आलेले पशुपति धर्मशालामा पुगेर निरीक्षण गरे। धर्मशालालाई फाइभ स्टारको रेस्टुरेन्ट बनाइएको भन्दै बन्द गर्ने घोषणा गरेर चर्चित बने। नारायणहिटी संग्रहालयमा गरिएको संरचनामा मन्त्री आलेले आफ्नै उपस्थितिमा डोजर चलाइदिए।

बोल्ने काम मात्रै गरेको र व्यवहारमा भने त्यस्तो नदेखिएको भन्दै आलेचित शहरी विकास मन्त्री रामकुमारी झाँक्री मंगलबार धोबीखोला करिडोरमा देखिइन्। डोजर र नगरप्रहरी साथमा लिएर गएकी उनले आसपासमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन लगाइन्। मन्त्री आलेझैँ टेलिभिजन क्यामरा अघिपछि लिएर गएकी मन्त्री झाँक्रीले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण नसहने बताइन्।

गुल्मीका एक इलाका प्रहरी कार्यालयमा प्रहरीबाट पिर्के सलामी लिएको तस्बिर भाइरल भएपछि उनी आलेचित छिन्। विगतमा राष्ट्रपतिलाई ‘महारानी’ भन्ने उनी आफैँ ‘छोटी महारानी’ बन्न खोजेको भन्दै धेरैले आलेचना गरेपछि मन्त्री झाँक्री स्टन्टबाट चर्चाको खोजीमा देखिएको अनुमान गरिएको छ।

१ मंसीरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गरे। मन्त्री श्रेष्ठ आकस्मिक रूपमा प्रवेश गरेपछि कर्मचारी अचम्मित परेका थिए। छिटो छरितो काम नभएको भन्दै जनगुनासो आएकाले आफू अनुगमनमा आएको भन्दै मन्त्री श्रेष्ठले कर्मचारीको सातो लिए।

उनले भने, ‘‘गुनासो आएको आयै छ। त्यो गुनासो सम्बोधन हुने गरेर काम गर्नुहोस्।’’ ११ माघमा उनै मन्त्री श्रेष्ठले युट्युब र सामाजिक अभियन्ता बताउनेहरूको भेला गरेर मन्त्रालयमै एउटा कार्यक्रम गरे। त्यहाँ उनले भिजिट भिसामा विदेश पठाएर ठगी गर्ने मेनपावर कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए। त्यसयता चर्चाकै लागि मन्त्री आले युट्युबर र आफूलाई अभियन्ता बताउनेको समूह लिएर विभिन्न गतिविधि गरिरहेका छन्।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा ठगिएमा आफ्नै सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सीधा सम्पर्क गरी गुनासा टिपाउन प्रचार गरेका छन्। यद्यपि ती नम्बरमा फोन नम्बर नउठेको भन्दै गुनासाहरू आउने गरेका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारकार मन्त्रीहरूका यस्ता मिडिया र युट्युब च्यानलसहित निरीक्षण र अभिव्यक्तिलाई केबल ‘स्टन्ट’ को रूपमा हेर्नेहरू पनि छन्। सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू चर्चाका लागि (स्टन्ट)मा देखिन्छन्। व्यक्तिगत रूपमा मन्त्री आले मिडिया र सोसल मिडियामा अलि बढी आइरहेका छन्।

सरकारको काम प्रभावकारी नभएको भन्दै आम नागरिक तहमा आलेचना बढेपछि मन्त्रीहरू ‘स्टन्ट’को सहारा लिएर ‘सस्तो चर्चा’मा देखिन थालेका भन्दै आलेचना भएको छ। आलेचना गर्नेहरू भन्छन्, ‘‘चुनावको मिति घोषणा गर्ने समय नजिकिँदै जाँदा आम नागरिकलाई आफूले काम गरेको जस्तो देखाउन उनीहरूले फण्डा अपनाएका हुन्। हरेक पाइलामा मिडियाको प्रयोग गरिएको छ। नत्र भने मन्त्रीहरूले सडकमा उत्रिएर अनुगमन गरिसकेपछि त्यसमा सुधार देखिनुपर्ने थियो। किन सुधार भएन त ?’’

केही साताअघि वर्तमान सरकारका धेरै जना मन्त्रीहरूले ‘सय दिनको उपलब्धि सार्वजनिक’ भन्दै पत्रकार सम्मेलन गरे। कोरोना महामारी फैलिएपछि जारी सुरक्षा प्रोटोकल मिच्दै गरिएको पत्रकार सम्मेलनमा सय बुँदासम्मका कामका विवरण वितरण भयो।

मन्त्रीले सार्वजनिक गरेका प्रगतिमा ‘गृहकार्य गरिएको, तयारी अघि बढाइएको, गृहकार्य शुरु गरिएको, छलफल अघि बढाइएको, प्रस्ताव गरिएको, सम्बन्धित निकायलाई आग्रह गरिएको, अध्ययन  बढाइएकोजस्ता उपलब्धि मात्रै समेटिएका थिए।

कतिपय मन्त्रीले आफूले काम गरेको बुँदा धेरै देखाउन, ‘सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको छ, सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ, तयारी भएको छ’ जस्ता बुँदासमेत उल्लेख गरेका छन्। काम भएका विवरणहरू कमै थिए। मिडिया र सोसल मिडियामा प्रचार भयो, ‘मन्त्रीले यस्तो गरे, उस्तो गरे’।

‘सिस्टम’ छाडेर ‘स्टन्टमा’

लामो समय राजनीतिक संक्रमणबाट गुज्रिएको मुलुकमा सबै क्षेत्रमा बेथिति देखिएको सबैले भाग्दै आएको कुरा हो। स्वास्थ्य, सुरक्षा, विकास निर्माण, व्यापार, सेवा जस्ता हरेक क्षेत्रमा सामान्य सेवा लिन समेत नागरिकलाई धेरै कठिनाइ छ। ती समस्याको दिगो समाधानका लागि मन्त्रीजस्तो जिम्मेवार ओहदाका व्यक्तिले नीति-नियम, प्रणाली (सिस्टम) बनाउने र सच्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने अर्थविद् तथा पूर्व प्रशासक रामेश्वर खनाल बताउँछन्।

‘‘सडकमा अनधिकृत तरिकाबाट काम गर्दै गरेकालाई हटाउने, सडक सफा गर्ने, अवैध संरचनाहरू डोजर लगाएर भत्काउने काम गर्ने नीति विधि छ। त्यसको लागि बजेट र कर्मचारी जनशक्ति सरकारसँग छ,’’ उनी भन्छन् ‘‘यसैले काम गर्नको लागि प्रणालीमा कहाँकहाँ कमजोरी छ त्यो सच्याउनुपर्ने, भइरहेको प्रणालीले काम गरेको छैन भने त्रुटि हुन नदिन नीतिगत निर्णय गर्ने र कानुन निर्माण र संशोधन गर्ने काम मन्त्रीको हो। तर यहाँ मन्त्रीहरुनै मिडियाबाजी गर्न सडकमा देखिएका छन्। यसले मन्त्रीलाई क्षणिक प्रचार त गर्छ नागरिकले पाउने सेवा सुविधामा केही सहज हुँदैन।’’

रामेश्वर खनाल, पूर्वप्रशासक

मन्त्रीहरू आफैं सडकमा कुटो कोदालो लिएर निस्कने र निर्देशन दिने प्रवृत्ति लोकप्रियतावाद मात्र रहेको खनालको टिप्पणी छ। मन्त्रीहरूले क्षणिक चर्चाका विषय उचालेर आफूलाई हलुका बनाइरहेको देखिएको उनको भनाइ छ।

‘‘धेरै मन्त्रीहरूले भन्दै आएका छन्, नीति भएन। तीनै सांसदलाई थाहा छैन की हामीले कस्ता ऐन पास गरेका छौँ। त्यसको प्रभाव के पर्छ? कसरी कार्यान्वयन गर्ने भन्ने नबुझी थपडी बजाएर पास गर्नुहुन्छ,’’ खनाल भन्छन्, ‘‘तीनै सांसद मन्त्री भएर आउँछन् र भन्छन् कानुन नै छैन। अनि नीति नियम र प्रणाली छाडेर बाहिर काम गरेको जस्तो देखाउन मन्त्री आफैँ सडकमा निस्कन्छन्। हामी राजाजस्तै हौँ। मुखले शासन चलाउन सकिन्छ भन्ने शैलीमा छन्। त्यो लोकप्रियतावाद हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved