प्रदीप ज्ञवाली र मीनेन्द्र रिजाल बहसमा : एमसीसी र संसद् अवरोधबारे चर्चा (भिडिओ)

नेपालभ्युज

प्रदीप ज्ञवाली र मीनेन्द्र रिजाल बहसमा : एमसीसी र संसद् अवरोधबारे चर्चा (भिडिओ)

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन्।

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको “स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति” विषयक खुला बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका हुन्।

सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको उनले आरोप लगाए। एमसीसी एउटा विकास परियोजना मात्रै भएको उनले उल्लेख गरे। उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे।

उनले भने, “सत्तामा रहेका नेताहरू जानि जानि भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ। एमसीसी परियोजना एउटा विकास परियोजना हो। त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो। तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरू भइरहेका छन्। विदेशीको एडभाइस लिने खालका कुराहरू भइराखेका छन्। एउटा विकास परियोजनालाई जानीजानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ। सरकार क्लियर होस्। हाम्रो प्रस्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ। र सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ। संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलाशमा तथाकथित गठबन्धका कार्यदलहरूको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन।”

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए। स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनले स्पष्ट पारे। एमालेले गरेको कामको आधारमा निर्वाचनमा जान कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे।

ज्ञवालीले भने, “स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ। कुनै बहानाबाजी स्वीकार्य छैन। र नेकपा (एमाले) यसमा एक्लै लड्छ। हामीलाई चुनाव सामना गर्न अरू कसैको सहारा लिनुपर्ने, अरू कसैको बैशाखी टेक्नुपर्ने जरुरी छैन। हाम्रा लागि हामीले गरेका कामहरू र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ति तथ्यहरू नै जनताका मन जित्नका लागि पर्याप्त छन्। नेकपा एमाले चुनाव एक्लै लड्छ।”

एमालेले संसद् अवरोध गर्नु ठीक होइन : डा मीनेन्द्र रिजाल

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठिक भएको धारणा राखे। सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको उनले बताए। संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए।

भने, “तपाईंहरूले संसद् बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन। तपाईंहरूलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठीक छन्, यिनलाई हटाइ पाऊँ भनी लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको। त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त। जानुभएन अहिलेसम्म। त्यो व्यवस्थामा तपाईहरूसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त। जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइँदैन नि त। निकास खोज्नुपर्ला नि त।”

नेता रिजालले वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved