सम्बन्ध

पिता-पुत्रको यस्तो पारिवारिक ‘रचना’

पिता-पुत्रको यस्तो पारिवारिक ‘रचना’
बायाँबाट क्रमशः सुमित घिमिरे, रोचक घिमिरे र प्रतीक घिमिरे।

न कुनै आकर्षक नाफा छ, न त दैनिक अखबारहरूमा जस्तै विज्ञापनहरू नै ओइरिने। यस्ता कुराप्रति रत्तिभर पर्वाह नराखी रोचक घिमिरेले ‘रचना’ लाई दिइरहेका छन्, निरन्तरता। कुनै ठट्टामजाकको विषय होइन यो। बितेको ६१ वर्षदेखि दुई महिने साहित्यिक पत्रिका ‘रचना’ लाई उनले कर्मशील मालीको भूमिकामा उभिँदै हरेक समय गोडमेल गर्दै आएका छन्, जलसिञ्चन गर्दै आएका छन्, नियमित रुपमा। चिन्ता नगर्नोस्, अब ‘रचना’ रुपी बगैँचामा कुटो समाएर गोडमेल गर्ने हातहरु पाइसकेका छन्, उनले।

गएको वर्षाद्बाट ८१ वर्षमा टेके, उनले। ‘रचना’ लाई अझै उन्नत तुल्याउने ध्येयमा उस्तै क्रियाशील छन्, बुढ्यौलीका दिनहरू गन्दै गर्दा पनि। आफै प्रधानसम्पादक र प्रकाशक रहेका उनले पछिल्लो समय भने दुई सुपुत्रको सघाउपगाउ पाएपछि त ‘रचना’ को यात्रा झनै शिखर–उन्मुख छ। कान्छा प्रतीकले सम्पादन र जेठा सुधीरले लिएका छन्, पूरै व्यवस्थापकीय जिम्मेवारी।

रोचक भन्छन्, ‘मैले साठी वर्षसम्म चलाएँ। अहिले ६१ वर्षमा टेक्यो रचनाले। पत्रिकालाई निरन्तरता दिन आर्थिक पक्ष मात्र होइन, सम्पादन र व्यवस्थापन सम्हाल्ने मानिस पनि चाहिन्छ। त्यही भएर मैले दुई छोराको सहयोग लिएर चलाइरहेको छु।’

‘मैले प्रतीकलाई सम्पादनको कामको जिम्मा लगाएको छु। सुधीरले भने व्यवस्थापनमा सघाउँदै आएको छ।’ रोचक विश्वस्त देखिन्छन्, ‘दुवै भाइले रुचि देखाएको हुँदा रचनाले निरन्तरता पाउनेमा ढुक्क छु।’

बाबु–छोराहरूबिचको घनीभूत सम्बन्ध र रचनात्मक सहकार्यले नै जस्तोसुकै संकटको घडीमा पनि ‘रचना’ लाई मुर्झाउन दिएनन्। केही वर्षयता सम्पादन कार्यमा बुबालाई सघाउँदै आएका प्रतीक भन्छन्, ‘व्यवस्थापकमा मेरो नाम त २०४०-०४२ सालदेखि नै राखिएको थियो र त्यही समयदेखि नै रचनामा सम्बद्ध रहँदै आएको हुँ। तर बुबालाई सघाउनुपर्‍यो भनेर सम्पादनमा समेत हात हाल्न थालेको चाहिँ केही वर्ष मात्रै भयो।’

पछिल्लो समय रोचकले प्रतीकलाई भने पनि, ‘लेखनतिर तेरो पनि रुचि छ। तँ पनि गर्न सकिहाल्छस् नि र सम्पादकमा तेरो नै नाम राखिदिन्छु।’ नाम मात्र होइन, पछिल्लो चरण लेख–रचनाहरू संकलन गर्ने, छनोट गर्ने र सम्पादन गर्ने सबै काम प्रतीकले नै गर्दै आएका छन्। अन्तिम चरणको सम्पादन मात्र रोचकले गर्छन्। प्रतीक भन्छन्, ‘आखिर सबै गर्ने त बुबाले नै हो। सुरुमा भाषा सम्पादनलगायतका काम म हेर्छु, अन्तिममा त बुबाले नै हेरेर अन्तिम रुप दिनु हुन्छ। ह्रस्वदीर्घ, शुद्धाशुद्धी उहाँले नै हेर्नु हुन्छ।’

एक हिसाबले, सम्पादनको पूर्ण अधिकार प्रतीकलाई नै हस्तान्तरण भइसकेको छ। कसको रचना माग्ने, आएका रचना हेरेर टुंगो लगाउने सबै प्रतीकले नै गर्छन्। भन्छन्, ‘हामीबिच सल्लाह भएर नै रचनाहरू राख्ने गरेका छौं।’

कहिलेकाहीं त ‘राम्रै’ लेखकहरूले पनि हेपेर रचना पठाउँछन्। ‘मैले पठाएको त छापिहाल्छन् नि’ भन्ने लागेर होला, स्तरहीन रचना पनि पठाउँछन्। प्रतीक भन्छन्, ‘मलाई चित्त नबुझेपछि म त्यस्ता रचना राख्दिनँ। यो कुरा मैले बुबालाई जानकारी भने गराउँछु। तर रचना अस्वीकृत भएपछि त्यस्ता लेखकले बुबालाई गुनासो गर्छन्। बुबाले पनि ‘त्यति स्तरीय भएन रे, त्यही भएर नराखिएको हो’ भनेर जवाफ दिनु हुन्छ।’

बाबु–छोराको कस्तो सुन्दर अनुगुञ्ज ? स्तरीयलाई काख, रद्दीलाई पाखा।

अतः ‘स्तरीयलाई मात्र स्थान’– बाबु–छोराले बनाएको यही सूत्रले काम गर्दै आएको छ, आजपर्यन्त।

केही वर्ष त अग्रज गजलकार ज्ञानुवाकर पौडेलले पनि सम्पादनको भूमिका निभाए। प्रेस काउन्सिलको वर्गीकरणमा ‘क’ वर्गमा परेको ‘रचना’ को सम्पादकको तलब–सुविधाको सबै विवरण फारम भरेर पठाउन काउन्सिलले ताकेता गरेपछि पौडेल सम्पादकबाट हट्न बाध्य हुनुपर्‍यो। श्रमजीवि ऐनको कारण पौडेलको सम्पादक पद ‘खोसियो’। कारण केही थिएन, सरकारी विज्ञापनबाट आउने सीमित रकम र परिवारले नै जुटाउँदै आएको स्रोतबाट निस्किएको साहित्यिक पत्रिकाले कहाँ तलब दिएर सम्पादक पाल्न सक्नु ? यस्तो प्राविधिक जटिलता आएपछि अवैतनिक सम्पादकमा नियुक्त भए, प्रतीक नै। प्रतीक भन्छन्, ‘पारिवारिक रुपमा तलब–सुविधा नलिई काम गरेको देखाउँदा भने काउन्सिलले मान्दो रहेछ।’

लेख्न त ‘अवैतनिक-अव्यावसायिक’ लेखिएको छैन, ‘रचना’ मा। तर तीनै बाबु–छोराको भूमिका चाहिँ त्यही नै हो– ‘अवैतनिक’। काउन्सिलको ‘क’ वर्गमा परेपछि आउने सरकारी अनुदानले थोरै भरथेग गरेको छ तर कहिले त आफ्नै खल्ती रित्याउनुपर्ने बाध्यता पनि छ।

२०१८ सालमा ‘रचना’ को सुरुवात हुनुमा प्रख्यात व्यंग्यसर्जक भैरव अर्यालको गुनलाई सदैव सम्झिरहन्छन्, रोचक। त्यति बेला रोचकको अनौठो बानी थियो– उपलब्ध सबै पत्रपत्रिका किनेरै पढ्ने। थाहा थियो यो कुरा अर्याललाई। एक दिन अर्यालले प्रस्ताव राख्दै भने, ‘किन अरू पत्रिकाहरू किनिरहनु पर्‍यो र ? त्यसरी किन्दा धेरै पैसा जान्छ। बरु हामी मिलेर एउटा साहित्यिक पत्रिका निकालौं।’

अच्छा लाग्यो, रोचकलाई अर्यालको यस्तो ‘गोल्डेन’ प्रस्ताव। अर्यालले नै जुराइदिए नाम, ‘रचना’। सुरुमा चार महिने, पछि भयो दुई महिने। आजपर्यन्त दुई महिनामा नै चित्त बुझाउँदै आएका छन्, तीनै बाबु–छोराले।

‘रचना’ को न्वारानकर्ता भैरव भए पनि उनले नेपथ्यमै रहेर निर्देशन गरिरहे। बाँचुन्जेलसम्म नै। भैरवको निर्देशनमा धेरै नै खारिँदै गए, रोचक पनि। तर निर्देशकको नाम भने पर्दामा देखिएन कहिल्यै। भने भैरवले, ‘म सरकारी जागिरे हुँ। मेरो नाम राख्न मिल्दैन। तिमी नै सम्पादक र प्रकाशकमा बस।’

काठमाडौँको पूर्वी–उत्तरी भेग गोकर्णका भैरवले नजिकैको आरुबारी बस्ने रमेश विकललाई पनि चिनाइदिए, रोचकसँग। त्यसपछि दुवैले ‘रचना’ लाई भरणपोषण गर्न थाले। एक वर्षसम्म रचनाको सम्पादकीय लेख्ने झन्झटबाट रोचक मुक्त भए। कहिले भैरवले, कहिले विकलले लेख्थे सम्पादकीय। पछिल्लो समय पनि कहिले रोचकले लेख्छन्, कहिले प्रतीकले। तर, कसले सम्पादकीय लेखेको हो भन्ने प्रष्टै छुट्टिन्छ। किनभने, जसले लेखेको हो, छापिन्छ उसैको हस्ताक्षर।

रोचक हुर्किए, पूरै साहित्यिक वातावरणमा। राणाकालीन समयमा मुद्दाको तारेख धाउन रामेछापको मन्थलीबाट काठमाडौँ आएका सोमनाथ घिमिरे ‘व्यास’ को सम्बन्ध थियो, हेमराज पाण्डेसँग। एक पटक टंगालस्थित समुद्रकुमारीदेवी राणाको घरमा पुराण हेर्न जाँदा कविशिरोमणि लेखनाथ पौडेलले पुराण भट्याउँदै थिए। तर एकाध दिनपछि कविशिरोमणिको घाँटी पूरै बस्यो। पुराण भन्ने जिम्मा पाए, व्यासले। समुद्रकुमारीदेवीले व्यासको पुराण वाचनशैलीलाई यति मन पराइन् कि, टंगालमै एउटा घर र काठमाडौंमा जागिर दिएर राखिन्।

पिता व्यासको काठमाडौँमा स्थायी बसोबास हुन थालेपछि तीन वर्ष छँदा ल्याइयो, रोचकलाई पनि। व्यासको घर साहित्यिक जमघटको केन्द्र थियो, त्यति बेला। स्रष्टाहरूको आवतजावत भइरहन्थ्यो, बाक्लै। महाकवि लक्ष्मीप्रसाद देवकोटा त बारम्बार नै आइरहन्थे। लेखनाथ पौडेल पनि आइरहन्थे। व्यासको विद्वताप्रति सबै परिचित थिए।

घरमा प्रतिष्ठित स्रष्टाहरूको बाक्लिँदो आवतजावत र साहित्य–मन्थन सुनेर हुर्किएका रोचकलाई ‘यो जति उत्तम संसार अरू रहेनछ’ भन्ने लाग्यो। र, हजुरबुबा श्रीकान्त घिमिरे, बुबा सोमनाथको विरासतलाई अझ समृद्ध बनाउन आफूलाई पनि होमे, साहित्य सेवामै। त्यो सेवामा आजसम्म पनि कुनै कमी आउन दिएका छैनन्। पछिल्लो समय त पूरै परिवारलाई नै सम्बद्ध तुल्याएका छन्।
बाबु–छोराबिचको साहित्यिक–सम्बन्ध झाँगिनुमा माहोलले नै भूमिका खेलेकोमा कुनै दुईमत रहेन। प्रतीक भन्छन्, ‘घरमा साहित्यकारहरू आइरहनु हुन्थ्यो। घरमा आउने स्रष्टाहरू र बुबाबिचको सम्बन्ध, संवादले गर्दा म पनि त्यही माहोलमा भिज्दै र हुर्किँदै गएँ। सानैदेखि बुबाले गरिरहनुभएको त्यही काम देख्दै गएँ। र, त्यही संगतले नै म पनि यही क्षेत्रमा डोरिँदै गएँ।’

हुन पनि, दुई–दुई पटक नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष भएका रोचकले कुनै जागिर खाएनन्, न कुनै अर्थोपार्जनका बाटो नै समाते। रमाए, वाङ्मयलाई चिरिच्याट्ट पार्नमै। गरे त त्यही एउटा मात्रै काम, ‘रचना’ को एकपछि अर्को खुट्किलालाई रङ्गाउने, चम्काउने काम। रचना–मोह यतिसम्म रह्यो कि, २०७३ वैशाख १० गते मर्निङवाकमा निस्किँदा लडेर अचेत भई केही समय थलिए पनि उनले ‘रचना’ को चिन्ता लिन छाडेनन्। आफू बिरामी हुँदा पनि रचना–यात्रा रोकिएन।

केही हिसाबले ‘रचना’ रुढिबद्ध जस्तो पनि लाग्छ-देखिन्छ। अर्थात्, सुरुवातताकाकै स्तम्भहरू अझै छन्। पत्रिकाको अन्तिम पृष्ठलाई जहिल्यै सजाउँछन्, चित्रकलाले। कहिले शशि शाहको तुलिका, कहिले जीतबहादुर रायमाझीको। पछिल्लो समय नवपुस्ताका तुलिकाले पनि स्थान पाउन थालेका छन्।

‘मैले जबदेखि पत्रिका देख्न थालेँ, त्यही समयदेखि नै बुबाले कलालाई आवरण र भित्री पृष्ठमा समेत स्थान दिनुभएको देखेँ। कहिलेकाहीं कुनै व्यक्तिको विशेषांक निकाल्दा आवरणमा तिनै व्यक्तिको तस्बिर राखिन्थ्यो। नभए अहिलेसम्म आवरणमा कुनै न कुनै चित्रकलालाई नै स्थान दिइँदै आइएको छ।’ भन्छन् प्रतीक।

विशुद्ध रुपमा यो प्रकरणमा जोडिँदै आयो, साहित्य र कलालाई सँगसँगै गति दिने ध्येय। प्रतीक भन्छन्, ‘शशि शाहसँग बुबाको निकट सम्बन्ध रहेको हुँदा उहाँले कुनै नाइँनास्ती नगरी चित्रकला उपलब्ध गराउनु हुन्थ्यो। मनुजबाबु मिश्रले पनि बनाइदिनु हुन्थ्यो। पछिल्लो समय त नयाँ पुस्ताका कला सर्जकहरूले हाम्रो पनि राखिदिनु पर्‍यो भनेर पठाउछन्।’

छ दशक लामो अवधिमा ‘रचना’ ले केही सर्जकको मात्र विशेषांक निकालेको छ। भैरव अर्यालको त निकाल्नै पथ्र्यो। उनी नै थिए, जग हाल्ने डकर्मी। महाकवि देवकोटा, जगदीश घिमिरेका पनि निस्किए। दुवै ‘रचना’ सँग जोडिए, समयक्रममा।

‘सम्पादकीय’ को साटो भन्ने गरेका छन्– ‘हाम्रो कुरा’। ‘रचना’ को रचयिताहरूको विचार फक्रिने फूलबारी त्यहीं नै हो। अर्को चाहिँ, पूर्ववर्ती पुस्ताका सर्जकहरूको चोटिला अभिव्यक्ति (मूलतः काव्य) लाई पनि खाली ठाउँमा सजाइहाल्छन्। कविशिरोमणि लेखनाथको एउटा पंक्ति–

‘केवल पसिना झार्छन् लाटा
त्यो तर मार्छन् मसिना बाठा
यो सब नबुझे लाग्दछ घाटा
चारै जुगको यै हो प्रगति
प्रगति प्रेमी हृदय छ मेरो
हेरिरहेछू सवको प्रगति।’

कहिले लेखनाथ, कहिले राष्ट्रकवि माधवप्रसाद घिमिरे र कहिले त डम्बर घिमिरेसम्मका काव्य–पंक्तिलाई समेत स्थान दिइँदै आएका छन्। ‘दुई महिने साहित्यिक प्रकाशन’ भने पनि कृति–समीक्षामा कहिलेकाहीं उदार पनि बन्दै आएको छ, ‘रचना’। वरिष्ठ पत्रकार हरिहर विरहीको आत्मकथ्य ‘आगो निभेको छैन’ माथि अर्का पत्रकार धु्रवहरि अधिकारीको समीक्षात्मक टिप्पणीले पनि स्थान पाएकै छ। जाबो, साहित्यिक पत्रिका निकाल्नु छ, कसैका गैरसाहित्यिक रचनालाई स्थान दिएर सम्बन्धलाई जोगाइराख्नु त पर्‍यो नै। हैन र ?

जन्माउन त ‘रचना’ ले जन्मायो, धेरै नै रचनाकारलाई। जसका नाम नेपाली साहित्य–वृत्तमा अमर छन्, आजपर्यन्त। पारिजातको चर्चित कथा ‘मैले नजन्माएको छोरो’ पहिला छापियो, ‘रचना’ मै। भूपी शेरचनको ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए’ होस् वा महाकवि देवकोटाको समालोचना ‘तरुणतपसी प्रदक्षिणा’ होस्, पनि पहिलो पटक छापियो ‘रचना’ मै।

सम्पादकको तजबिज पनि प्रयोग गरे, रोचकले। भोजपुरका शंकरप्रसाद श्रेष्ठलाई ‘शैलेन्द्र साकार’ र मेघराज ‘मञ्जुल’ को नाममा ‘मञ्जुल’ मात्र राख्ने अधिकार पनि उनले उपयोग गरे, सम्पादनको प्रारम्भिकताका।

त्यसो त, रचनाको विशेषता नै बन्यो– नयाँ पुस्तालाई विना मोलमोलाहिजा स्थान। प्रतीक भन्छन्, ‘बुबाले जहिल्यै नयाँ पुस्तालाई स्थान दिन रुचाउनु हुन्थ्यो। यो क्रम अहिलेसम्म जारी नै छ। कुनै स्रष्टा नयाँ छन् र उनले राम्रा लेखेका छन् भने त्यसलाई सम्पादन गरेरै राख्न चाहनु हुन्छ। पुरानाको नदोहोरियोस् भन्नेमा उहाँ सचेत हुनुहुन्छ।’

थाहा छैन, कहिलेसम्म निरन्तरता पाउँछ ‘रचना’ ले। तर निरन्तरता दिइरहने सोचमा भने प्रतीक छन्। भन्छन्, ‘मान्छे त कहिलेसम्म जीवित रहन्छ भन्ने कुनै टुंगो छैन भने साहित्यिक पत्रिकाको भविष्यबारे केही भन्न सकिँदैन। तर हामी यसलाई निरन्तरता दिइरहनेमा प्रतिबद्ध छौं। किनभने, हाम्रो परिवारको पहिचान नै यही पत्रिका भइदियो। यही पत्रिका प्रकाशनमा रहर र रुचि भएपछि गर्नैपर्ने भन्ने भयो।’
के अब ‘रचना’ पुस्तान्तरणको प्रक्रियातिर अघि बढेको हो त ? प्रतीक भन्छन्, ‘ठ्याक्कै त्यस्तै भन्न त नसकिएला। तर यो पत्रिकामा बुबाको जुन परिचय बनेको छ, त्यसलाई अघि बढाउन हामी प्रतिबद्ध छौं। हामीलाई समाजमा चिनाउने यही पत्रिका नै हो।’

साहित्यिक पत्रिकाको प्रधान चुनौती हो– आर्थिक। राज्य स्तरबाट केही सहयोग हुन्छ, वर्गीकरणको आधारमा। तर त्यतिले मात्र धानिने अवस्था छैन। छ दशकदेखि निरन्तर ‘रचना’ ले पनि यही नियति झेल्दै आएको छ। प्रतीक भन्छन्, ‘हाम्रो परिवार नै रचनालाई निरन्तरता दिनुपर्छ भनेर लागेकोले नै अहिलेसम्म निस्किँदै आएको छ। बस्नलाई आफ्नै घर छ, खानलाई अरूतिर पनि काम गर्छौं। तर आफ्नै खल्तीको पैसा पनि कहिलेकाहीं रित्तिन्छ।’

‘रचना’ को अर्थस्रोतको एउटा झिनो आधार हो– विशिष्ट सदस्यता। केही मनकारी र ‘धनकारी’ ले ‘यो साहित्यिक पत्रिकालाई जोगाउनु पर्छ’ भन्ने भावनाले विशिष्ट सदस्यता लिएर केही हजार रुपियाँ दिँदै आएका छन्। त्यसमा राजनीतिज्ञ नवराज सुवेदी, उद्योगपति उपेन्द्र महतो, प्राणीशास्त्री डा. मुकेशकुमार चालिसे, वियोगी बुढाथोकीदेखि साहित्य–सांस्कृतिक क्षेत्रमा भिजेका व्यक्तिहरूले सघाउ पुर्‍याए।
ज–जसले विशिष्ट सदस्यता लिएर केही आर्थिक सहयोग दिए, उनीहरूका नाम र वतन हरेक अंकमा छाप्दै आएका छन्। पूरै पारदर्शी। दाताप्रति कृतज्ञता देखाउनुमा नै अपार हर्ष मान्छन्, ‘रचना’ परिवार। खुसी छन्, यसैमा।

विदेशमा बस्नेहरूले कहिलेकाहीं रचनाका निम्ति आर्थिक सहयोग पठाउँछन्। तर सहयोग गर्नेको पहिचान नगरी आर्थिक सहयोग स्वीकार्दैनन्। प्रतीकको भनाइ छ, ‘उनीहरूले विशुद्ध साहित्यको सेवा गर्ने हिसाबले पठाएका हुन् वा कुन स्वार्थले पठाएका हुन्, यो कुरा थाहा नभई हामी आर्थिक सहयोग स्वीकार्दैनौं।’

रचना–यात्राले १ सय ७३ अंक छिचोलिसकेको छ। अहिलेसम्म त दुई पुस्ताले नै धान्दै आएको छ। पत्रिका छापे पनि काठमाडौंमा मात्र सीमित तुल्याएका छैनन्। काठमाडौं बाहिरका कुन–कुन पत्रिका पसलमा पाइन्छन्, हरेक अंक पत्रिका पाइने पत्रिका पसलहरूका नाम छाप्न चुक्दैनन्।

इलेक्ट्रोनिक मिडिया छ्यापछ्याप्ती भइसक्यो। प्रिन्ट मिडियाको भविष्यमाथि उठाइँदैछ प्रश्नचिह्न। तर रोचक–सुधीर–प्रतीकलाई यस्ता कुराले पटक्कै छुँदैनन्। तीनै बाबु–छोराले प्रविधिमा आएको परिवर्तनलाई नबुझेका छैनन्। चलाउँछन् सबैले फेसबुक। तर, प्रिन्ट मिडियाको मजा लिँदै हुर्किएका उनीहरूलाई अझै मजा नै लाग्छ, प्रिन्ट मिडिया।

साहित्यिक पत्रकारिताको गम्भीर यात्रालाई निरन्तरता दिन क्रियाशील एउटा परिवारको यस्तो योगदानलाई कसरी हेर्ने ? लाग्छ, ‘योगदानको शृंखला’ मा तीन बाबु–छोराको योगदानलाई चानचुने ठान्ने भूल चाहिँ धेरै हिसाबले अत्युत्पादक नै हुनेछ।


Comment

4 thoughts on “पिता-पुत्रको यस्तो पारिवारिक ‘रचना’

  1. स्वादिलो आलेख विवश वस्तीको कलम बाट।
    रचना, रोचक, प्रतीक, सुधीर सवैमा नमन्।।o

  2. Hamro des ma sahitye ko halat sayad lekhne derai padhane thorai bhayera ho ki …. 60 barsa dekhi nirantrata didai aayeko rachana ko yo haal cha … mero pani pahilo katha mohabhanga chapinda kati khusi bhayeko thiye …. Dukha lagcha hamro des ma sahityakar ko bigbigi, tar pathak ko kami ….tesmathi kinera padhne bani ta lekhak ✍️ haru ma pani chhina jasto lagcha ,,, 😞

  3. The most powerful aspect of life is “time”. It will create grave situation if you fail to analyze time and where current population wants to focus. I wish you all the best!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved