धुर्मुस-सुन्तलीसँग खर्च विवरण माग्दै मन्त्री गहतराजले भने, “रंगशाला अलपत्र पर्न दिँदैनौं”

नेपालभ्युज

धुर्मुस-सुन्तलीसँग खर्च विवरण माग्दै मन्त्री गहतराजले भने, “रंगशाला अलपत्र पर्न दिँदैनौं”

चितवन। युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन्।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तक्रियामा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताए

नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए। कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीले अध्ययन थाल्ने बताए। भने, “तपाईंहरू एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ।”

केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाइ थियो। खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको भन्दै दातृ निकायसँग आर्थिक सहयोगका लागि कुराकानीसमेत भइरहेको उनले बताए। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो। “राष्ट्रिय सहमति जुटेर अघि बढेको देशकै यो नमूना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ”, उनले भने।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले यो परियोजना स्थानीयस्तरबाट सम्पन्न गर्न कठिन हुने भएकाले यसको नेतृत्व सङ्घीय सरकाले लिएर सम्पन्न गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved