आफ्नैले हराए गुरु बराललाई

नेपालभ्युज

आफ्नैले हराए गुरु बराललाई

विराटनगर। प्रदेश १ राष्ट्रिय सभा निर्वाचनमा एमालेका सांसदहरू (आफ्नै) ले भोट नदिँदा गुरु बराल पराजित भएका छन्।

‘क्लिन स्विप’ हुनबाट झण्डै जोगिएको एमालेका सांसदहरूले खुलातर्फका आफ्नै उम्मेदवार बरालमाथि अन्तर्घात गरेका हुन्। एमालेका १ सांसदको मत बदर हुँदा अर्का एक सांसदले राप्रपाका उम्मेदवार अमर विष्टलाई मतदान गरेको पाइएको छ।

बुधबार साँझ आएको मतपरिमाणअनुसार खुलातर्फ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले बराबरी ४ हजार ४८८ मत प्राप्त गरेका थिए। पछि गोलाप्रथाबाट बस्नेतले जित हासिल गरे पनि एमालेका बरालले उनलाई दरिलो टक्कर दिए। तर, आफ्नै सांसदले ‘फ्लोर क्रस’ गरेपछि उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन पाएनन्।

प्रदेशसभामा गठबन्धनसँग ५० सांसद रहेकोमा बस्नेतले ५० जनाकै मत प्राप्त गरे। तर, एमालेसँग ४१ जना सांसदहरू रहेकोमा बरालले मात्र ३८ जना सांसदहरूको मत प्राप्त गरे।

प्रदेशसभामा नेकपा एमालेसँग ४१ सांसद छन्। एमाले सांसद गुलेफुन खातुन फरार अभियुक्तको सूचीमा रहेकीले उनी बुधबारको मतदानमा सहभागी भइनन्। एमाले सांसदहरूको तर्फबाट कुल ४० मत खसेकोमा १ मत बदर भएको थियो। त्यसो हुँदा ३९ मत पाउनुपर्ने बरालले ३८ मत मात्र प्राप्त गरेका छन्। बाँकी १ मत राप्रपाको मतपेटिकामा गएको देखिएको छ।

बुधबारको निर्वाचनमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बस्नेतललाई प्रदेशसभाका ५० र स्थानीय तहका ११६ जनप्रतिनिधिले मतदान गरेका थिए। यस्तै एमाले उम्मेदवार बराललाई ३८ जना प्रदेशसभा सदस्य र १४८ जना स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved