मधेश प्रदेशमा ११ हजारले लगाए बुस्टर खोप

नेपालभ्युज

मधेश प्रदेशमा ११ हजारले लगाए बुस्टर खोप

जनकपुरधाम। कोरोना भाइरसको तेस्रो लहर चलिरहेको बेला मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा र करीब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् ।

कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समय मधेश प्रदेशमा हालसम्म १२ वर्ष माथिका उमेरका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सर्लाहीमा ५५.५ प्रतिशत, बारामा ४९.४ प्रतिशत, धनुषामा ४९.१ प्रतिशत, पर्सामा ४३.८ प्रतिशत, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७ प्रतिशत, महोत्तरीमा ३५.४ प्रतिशत र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।

यस प्रदेशमा पहिलो डोज भने ५१.५ प्रतिशत नागरिकले लगाएका छन् ।

त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटिएकाहरूलाई बुस्टर डोज दिन शुरु गरेकोमा मधेश प्रदेशमा करीब ११ हजार जनाले बुस्टर डोज लगाएका छन् ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएकोे जानकारी दिए।

बारामा सबैभन्दा बढी ३ हजार २ सय २० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुस्टर डोज पाउनेहरूमा कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार, जनप्रतिनिधिहरू, कानून व्यवसायी तथा अग्रपंक्तिमा रहेका अन्य व्यक्तिहरू रहेका छन् ।

बुस्टर डोजको अवधि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार थप हुने पनि स्वास्थ्य निर्देशक झाले जानकारी दिए ।

यसैगरी माघ १४ गतेबाट ६० वर्ष माथिका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । बुस्टर डोजसँगै नियमित खोप कार्यक्रम जारी रहेको छ ।

धनुषाका खोप अधिकृत राजदेव यादवले वैदेशिक रोजगारीमा जानेलाई जोनसन एण्ड जोनसनको खोप दिने काम भइरहेको जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई जोन्सनको मान्यता बढी रहेकाले जोन्सन खोप दिने काम भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved