गण्डकी प्रदेशमा २ सय ६८ स्वास्थकर्मीमा कोरोना संक्रमण, अस्पताल चलाउनै धौ-धौ

गण्डकी प्रदेशमा २ सय ६८ स्वास्थकर्मीमा कोरोना संक्रमण, अस्पताल चलाउनै धौ-धौ

पोखरा । देशभर कोभिड संक्रमितको संख्या बढिरहेको बेला अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुने क्रम बढेको छ। गण्डकी प्रदेशमा पछिल्लो तीन सातामा चिकित्सक, स्टार्फ नर्स लगायत २ सय ६८ स्वास्थ्यकर्मीहरु संक्रमित छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत१७ पुसदेखि ७ माघसम्म गण्डकीका मनाङ बाहेकका जिल्लाहरुमा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्।

यसमा पनि प्रदेशको राजधानी पोखरामा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्। ७ माघको तथ्यांक अनुसार कास्कीमा १३८ स्वास्थ्यकर्मीहरू संक्रमित छन् । त्यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी ९ , गोरखा ६ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रममण पुष्टि भएको छ। हिमालपारीको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ।

प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै ७० जना स्वास्थ्यकर्मी संक्रमित छन्। स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि सेवा प्रभावित बनेको प्रदेश स्वास्थ्य निर्देशक डा. खिम खड्काले बताए। क्षेत्रीय अस्पतालमा वार्डका स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अर्थाे, गाइने वार्डको सेवा नै प्रभावित हुनेगरी जनशक्ति अभाव देखिन थालेको उनले बताए।

‘ओपिडिमा बिरामी चेकजाँचमा आउने हुँदा भीडभाड बढ्दा झन सर्ने खतरा बढेकाले इमर्जेन्सी सेवाबाहेक अन्य सेवा बन्द गर्ने रहेका छौं,’ उनले भने, ‘संक्रमणको दर बढ्दै छ। घरमा पनि भौतिक दूरी कायम गरेर बस्नुपर्छ। मास्क प्रयोग गर्ने र हात धुने बानी हटाउनु भएन।’ संक्रमणदर बढ्दै गएपछि प्रदेशमा एम्बुलेन्स सेवा, हेलो डक्टर र चालक लगायत सेवा प्रभावित भएको छ।

कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएपछि पश्चिमाञ्चल अस्पतालमा अक्सिजनका २ वटा मेसिन चलाउनु परेको उनले जानकारी दिए। ‘फ्रन्टलाइनर भएकैले चिकित्सा र स्वास्थ्यकर्मी संक्रमणको जोखिममा बढी नै रहन्छ,’ उनले भने, ‘संक्रमण दर बढ्नुको कारण स्वास्थ्य मापदण्ड पालनामा भएको हेलचेक्र्याइँ पनि हो। भीडभाडमा जाने सर्वसाधारणदेखि सबैजसोको मनोवृत्ति र प्रवृत्ति देखिएको छ। घरपरिवारबाटै कोभिडबारे गम्भीर हुनुपर्छ।’ कोरोनाको दर यही हिसाबले बढ्ने र स्वास्थ्यकर्मी संक्रमित हुने संख्या पनि बढ्दै जाने हो भने सेवा दिने स्वास्थ्यकर्मीको अभाव हुने उनी बताउँछन्।

पोखरा–३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा १३ जना कोभिडका बिरामी रहेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए। उनका अनुसार २ जना आइसियूमा र अन्य नर्मल बेडमा छन्। ‘केहीलाई हल्का अक्सिजन दिन परेको छ भने अरु सामान्य नै हुनुहुन्छ,’ उनले भने, ‘यस अस्पतालमा बिरामी र निको हुनु उस्तै उस्तै छ।’

संक्रमण हुनेको दर सबैभन्दा कास्कीमा रहेको छ। आइतबार कास्कीमा ४ सय ५१ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कुल ६ सय ९७ जना संक्रमण रहदाँ प्रदेशमा कास्कीपछि बागलुङमा ५९ जना संक्रमित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved