भारतबाट आएका नागरिकको व्यवस्थापन नहुँदा नाकाबाटै सम्पर्कविहीन हुँदै संक्रमित

दैनिक रूपमा एण्टिजेन पोजेटिभ देखिएका १५/२० जना नाकाबाटै सम्पर्कविहीन हुने गरेका स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

भारतबाट आएका नागरिकको व्यवस्थापन नहुँदा नाकाबाटै सम्पर्कविहीन हुँदै संक्रमित
फाइल तस्वीर

धनगढी। सुदूरपश्चिमलाई भारतसँग जोड्ने कञ्चनपुरको गौरीफन्टा नाकामा भारतबाट आएका कोरोना संक्रमित व्यवस्थापनमा चुनौती देखीएको छ। कोरोना पोजेटिभ देखिएकाहरूलाई व्यवस्थापन गर्न नियमनकारी निकाय नहुँदा सीमा नाकाबाटै संक्रमित सम्पर्कविहीन हुन थालेका हुन।

त्रिनगर भन्सार नाकाबाट एण्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरू सम्पर्कविहीन हुने संख्या बढ्दो छ। एण्टिजेन पोजेटिभ देखिएका १५/२० जना दैनिक सम्पर्कविहीन हुने गरेका स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। भारतबाट फर्किनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रूपमा बढिरहेकाको छ। भीड बढेका बेला संक्रमण देखिएकाहरू सम्पर्कविहीन हुने गरेका त्रिनगनर नाकाको हेल्थ डेस्कका इन्चार्ज अहेब गणेश साउँदले बताए।

‘‘दैनिक १५–२० जना संक्रमित सम्पर्कविहीन हुन्छन्। भीडभाड धेरै हुन्छ, यत्रो भीडमा को कतिबेला छलेर जान्छ थाहै हुँदैन,’’ अहेब साउँदले भने, ‘त्यसरी जानेहरू सार्वजनिक यातायातमै घर जान्छन् होला, यसले संक्रमण फैलने जोखिम बढेको छ।’’ कतिपय रिपोर्ट आउनुअघि नै र कतिपय रिपोर्ट लिएर सम्पर्कविहीन हुने गरेका स्वास्थ्यकर्मीले बताएका छन्।

एण्टिजेन जाँच गर्ने स्थान नजिकै पोजेटिभ देखिएकालाई तत्काल राख्न त्रिपालको टेण्टभित्र बस्ने व्यवस्था गरिएको छ। भारतबाट फर्किनेको भीड बढेका बेला टेण्टको छेउसम्मै परीक्षण गर्नेहरूको लाइन लाग्छ। भीड बढ्न थालेसँगै संक्रमितहरू बेपत्ता हुने क्रम बढेको हो।

भारतबाट फर्किनेको घुँइचोले नाकामा व्यवस्थापन अस्तव्यस्त छ। भीडमा परीक्षण नगरेर जानेको संख्या पनि उत्तीकै छ। नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भीड व्यवस्थापन गर्न र संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको देखिन्छ। त्रिनगर नाकामा सडकभन्दा केही तल त्रिपालको टेण्ट बनाएर एण्टिजेन परीक्षण गर्न हेल्थ डेस्क राखिएको छ। कतिपय व्यक्ति परीक्षण नगरेरै गइरहेका छन्।

डेस्कमा भीड व्यवस्थापनमा दुई जनामात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेब साउँदले बताए। ‘‘दुई जनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पोजेटिभ देखिएकालाई रोकेर राख्ने ?’’ उनले भने, ‘‘लाइन व्यवस्थापनमा रेडक्रसका स्वयम् सेवक पनि खटिएका छन् तर धेरैले प्रहरीबाहेक अरुलाई टेर्दैनन्।’’ यात्रु पाउने आशमा नाकासम्मै पुग्ने रिक्सा चालकले पनि संक्रमितलाई भगाउन मद्दत गर्ने गरेका उनले बताए। नाकामा केहीदिनयता परीक्षण दर भने बढाइएको छ।

नाकामा एण्टिजेन पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका-१५, कनरीस्थित आइसोलेशनमा लग्ने व्यवस्था गरिएको छ। संक्रमित बोक्न एउटा एम्बुलेन्स खटाइएको छ तर उक्त आइसोलेसनमा जानेको संख्या न्यून छ। कतिपय घरमै आइसोलेसनमा बस्ने भनेर जाने गर्छन्।

कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको छ। त्यसरी जान चाहनेलाई निजि गाडीमा मात्र जान दिने गरिएको स्वास्थ्यकर्मीले बताएका छन्। तर उनीहरू कसरी गए र घरमा आइसोलेसनमा बसे/बसेनन् त्यसको जानकारी कुनै निकायमा छैन। नाकामा भइरहेको लापरबाहीले समुदायमा पनि संक्रमण फैलने जोखिम बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved