स्वास्थ्यविद्हरू भन्छन् : ओमिक्रोन बढी संक्रामक, खोप नलगाउनेलाई बढी जोखिम

खोप नलगाउने व्यक्तिमा तत्काल रोगको संक्रमण हुनसक्ने उनीहरूको दाबी छ। भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए।

नेपालभ्युज

स्वास्थ्यविद्हरू भन्छन् : ओमिक्रोन बढी संक्रामक, खोप नलगाउनेलाई बढी जोखिम

चितवन। कोरोना भाइरस संक्रमणविरुद्ध खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन्।

खोप नलगाउने व्यक्तिमा तत्काल रोगको संक्रमण हुनसक्ने उनीहरूको दाबी छ। भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए।

अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट संक्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएकामा जोखिम बढी हुने उनले बताए। चिकित्सक अधिकारीले भने, “कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ।”

२४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उनले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जान सक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्ने बताए। कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभई स्थिर पान्डेमिकको रुपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उनको भनाइ छ।

ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उनले बताए। उनले भने, “अहिलेसम्मको तथ्यांकले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अंग नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ।” यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाई एकैचोटि संक्रमित गर्नसक्ने देखिएको चिकित्सक अधिकारीको भनाइ छ। खोपले समेत कम सुरक्षा दिनसक्ने भन्दै उनले थपे, “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकाले खोपले कम सुरक्षा दिनसक्ने खतरा देखिन्छ।” पहिलेको भेरियन्टभन्दा सर्ने अवधि औसत तीन दिन देखिएको उनले बताए। भने, “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो।”

भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताए। ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुक्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उनको भनाइ छ। चिकित्सक अग्रहरीले भने, “मौसमी फ्लू जस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन्।” अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै उनले यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्डपालना गर्नसमेत सबैलाई आग्रह गरे।

उनले भने, “पहिलाको जस्तो लक्षण नभएकाले कोभिड नदेखिए पनि पीसीआर नेगेटिभ आउँदैमा ओमिक्रोन होइन भन्न सकिने अवस्था छैन।” जिल्लामा हालसम्म ओमिक्रोनको परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उनले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए। कोभिडविरुद्ध खोप लगाउन छुटेकालाई लगाउन आग्रह गर्दै चिकित्सक अग्रहरीले भने, “यसले मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएकालाई बढी जोखिम बनाउने हुँदा तत्काल खोप लगाउन आग्रह गर्दछु।”

धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरूलाई बुस्टर डोज दिन समेत चिकित्सकहरूले सुझाएका छन्। भेला, महोत्सव, मेला, सभासम्मेलन, भौतिक रूपमा विद्यालय र भीडभाड हुने ठाउँलाई स्मार्ट लकाडाउनमार्फत व्यवस्थित गर्न जरुरी रहेको उनीहरूको भनाइ छ। परीक्षणलाई सजिलो, दायारा फराकिलो र द्रुत रिपोर्टिङको संयन्त्र बनाउँदै अस्पतालमा तेर्सो लहर सामना गर्न व्यापक तयारी गरी विगतमा भएका कमजोरी सच्याउनुपर्ने चिकित्सक अग्रहरीले बताए।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले खोप नलगाएकामा जोखिम रहेको बताए। भने, “खोप नलगाउनेलाई जोखिम मात्रै नभएर संक्रमण देखिएमा सिकिस्त बन्ने सम्भावना बढी हुन्छ।” खोप लगाएकाभन्दा नलगाएका बिरामी अस्पताल धेरै आउने गरेको विदेशी तथ्यांकले देखाएको छ। खोपले सके रोग रोक्ने नभए गम्भीर बिरामी हुनबाट रोक्ने तिवारीले बताए।

देवघाट क्षेत्र सिल गरिने

पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ। ३० पुसको बिहानबाट १ माघको बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो। कोभिडको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ।

माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने गर्दछन्। प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताए। उनले भने, “स्नानका लागि भक्तजनले दुःख नहोस् भनेर हामीले पूर्व जानकारी गराइसकेका छौं।”

स्थानीय प्रशासनले पूर्वी र पश्चिम नवलपरासी, तनहुँ, रुपन्देही, बारा, पर्सालगायत जिल्लामा पत्राचारसमेत गरिसकेको छ। कसैकसैलाई स्नान गर्न पाइएला भन्ने लागेर दुःख नपाउन भन्न आवश्यक जानकारी दिने काम भएको उनले बताए। देवघाट छिर्ने नाका आँपटारी, रामनगर, ठिमुरा र देवघाटमा सुरक्षाकर्मी राखेर सिल गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। मेला भर्न अघिल्लो दिनबाट भक्तजन आउने गर्दछन्। अघिल्लो दिन बिहान देवघाटको वेणीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिन्छ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जिल्ला प्रशासन कार्यालय चितवनको पत्रानुसार मेला बन्द गरिएको बताए। सो कार्यालयले २५ जनाभन्दा बढी भौतिक रूपमा उपस्थित भएर कार्यक्रम गर्न र मेला, महोत्सव नगर्न सूचना जारी गरेको छ।

कार्यकारी निर्देशक घिमिरेले मेलाको तयारी गरिएको भए पनि संक्रमण बढेसँगै बन्द गर्नुपरेको बताए। देवघाटमा वृद्धवृद्धा धेरै रहेकाले बाहिरबाट आउने भक्तजनबाट संक्रमण फैलिनसक्ने भन्दै कडाइ गरिएको उनले बताए। उनले भने, “देवघाटमै कल्पबास बसेकाहरूलाई भने दूरी कायम गरी स्नान गर्ने व्यवस्था गरिएको छ।”

समितिले २० वटा उपसमिति बनाएर मेलाको तयारी गरेको थियो। यसवर्ष ५ देखि ७ लाख भक्तजन आउने अनुमान गरिएको थियो। मकर सङ्क्रान्तिमा देवघाटमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास छ। माघे सङ्क्रान्तिमा देवघाटमा देवतासमेत स्नानका लागि आउँछन् भन्ने मान्यता रहिआएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved