आजदेखि काठमाडौं उपत्यकामा विद्युत जाँदैनः कुलमान घिसिङ

शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजैदेखि यो समस्या समाधान हुने बताए।

नेपालभ्युज

आजदेखि काठमाडौं उपत्यकामा विद्युत जाँदैनः कुलमान घिसिङ
कुलमान घिसिङ, फाइल तस्वीर।

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।

शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजैदेखि यो समस्या समाधान हुने बताए।

घिसिङले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए। उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँन लागेकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले समस्याहरु आइरहेको बताए।

“विगत ३÷४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन। काठमाडौंमा मात्रै हो”, घिसिङले भने, “यो सप्लाईको कारणले भएको समस्या होइन। सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन। काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन। केही ठाउँहरुमा मात्र समस्या भएको हो।”

विद्युतको बेलुकाको पिक लोड अहिले करीब १७ सय मेगावाट र बिहानको करीब साढे १५ सयदेखि १६ सय मेगावाट आइरहेको भन्दै घिसिङले त्यसमा आफूहरुले सप्लाई गर्न सकिरहेका र अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको बताए।

काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक भएको भन्दै घिसिङले विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाटसम्म काठमाडौंको लोड बढेको बताए। उनले पानी परेपछि ठाउँ ठाउँमा लोडहरु अनएक्सपेक्टेड रुपले बढेको र त्यसले गर्दा सिस्टममा सब्स्टेशनबाट फिडरहरु निस्किएको कारण काठमाडौं भित्रको लोडलाई सप्लाई गरिरहेको बताए।

काठमाडौं उपत्यकामा मात्रै करीब ३७ सय ट्रान्सफर्मरहरु रहेका र फिडरमा नै समस्या आएको अवस्थामा १०÷२० वटा ट्रान्सफर्मरहरुमा समस्या आउने भएकाले अहिलेको समस्या आएको घिसिङको भनाइ छ।

“अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो। लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ”, घिसिङले भने, “केही फिडरहरुमा पनि आगलागी भयो। केही स्थानमा भने ट्रान्सफर्मरहरु पछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो।”

घिसिङले आजदेखि उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए। उनले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुलाई सबस्टेशन बनाउन दिन आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved