कस्तो आउला माओवादी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन

अध्यक्ष दाहाल एक्लैको प्रयासले पार्टीलाई पूर्व अवस्थामा फर्काउन सक्ने अवस्था देखिदैन।

नेपालभ्युज

कस्तो आउला माओवादी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन

काठमाडौं। नेकपा माओवादी (केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ। बन्दसत्रमा पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। नीतिमा रुपान्तरण गर्ने घोषणा गरेको पार्टीको राजनीतिक प्रतिवेदन कस्तो आउँछ त्यो भने चासोको विषय बनेको छ।

अध्यक्ष दाहालले ल्याउने राजनीतिक प्रतिवेदनका विषयमा पार्टीभित्र जति चासो छ पार्टीबाहिर पनि चासो रहेको देखिन्छ। आइतबार भएको पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो संकेत गरेका हुन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन अध्ययन गर्न मागेको बताउँदै पार्टीको प्रतिवेदनमा अरुको पनि चासो अध्यक्ष दाहालले दाबी गरे।

करीब सत्र सय महाधिवेशन प्रतिनिधिमाझ अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दैछन्। पार्टीलाई नयाँ जीवन दिन क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि निर्मम नीति लिने अध्यक्ष दाहालले आइतबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नै बताएका थिए।

बन्दसत्रका क्रममा प्रस्तुत हुने अध्यक्षको राजनीतिक प्रतिवेदनलाई भने तीन नेताको फरक प्रतिवेदनमार्फत चुनौती आउने देखिएको छ। नेता राम कार्की, पर्शुराम तामाङ र धर्मानन्द देवकोटाकोतर्फबाट फरक मत आउने सम्भावना छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाउने निर्णय गरेसँगै आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा नै नेतात्रयले फरक मत राख्न पाउनुपर्ने बताएका थिए।

यता पार्टीलाई पूर्ववत् अवस्था अर्थात २०६४ अघिकै अवस्थामा फर्काउने चाहना दाहालले पालेका छन्। पार्टीभित्रको वैचारिक अस्पष्टा र व्यक्तिवादी सोच बढ्दै जाँदा पार्टीले शुरुवाती समयमा लिएको विचारमा धूमिल भएको अध्यक्ष दाहालले बताउने गरेका छन्। त्यसैले पनि सोमबार प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा स्वंय आफ्नो पनि निर्मम आत्मसमीक्षा गर्ने दाहालले बताएका छन्।

नेपाली समाजवादको बाटो कस्तो हुन्छ भन्ने कार्यनीतिक श्रृंखलासहित यो महाधिवेशनबाट पार्टी अघि आउने नेता हिमाल शर्मा बताउँछन्। पार्टी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने काम भएको बताउँदै नेता शर्माले संविधानमा पनि नेपाललाई समाजवादउन्मुख राष्ट भएको घोषण पार्टीकै कारण भएको बताउँछन्।

पार्टीको शासकिय स्वरुपदेखि संगठनका विषयमा पनि बन्दसत्रमा छलफल हुने नेता शर्मा बताउँछन्। “निर्वाचन प्रणालीदेखि लिएर उत्पादन शैलीका विषयमा पनि यो महाधिवेशनका क्रममा छलफल हुन्छ” नेता शर्मा भन्छन्, “दलाल पूँजीवादको खारेजी र राष्ट्रिय पूँजीको विकास कसरी हुन्छ भन्ने विषयमा पार्टीको महाधिवेशन केन्द्रित हुन्छ।”

राष्ट्रिय पूँजीको विकास नभएको अवस्थामा देशले समाजवादी बाटो हिँड्न नसक्ने उनको विश्वास छ। यसो त माओवादी २०६२/६३ को परिवर्तनपछि अधिकांश समय सरकारमा बसेको पार्टी हो। यो अवधिमा तीनपटकसम्म पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पनि प्राप्त गर्‍यो। आठौँ महाधिवेशनमा पार्टीले लिने नीति लागू गर्नसक्ने अवस्थामा पार्टी यसअघि पनि नभएको होइन।

नेता शर्मा भने यो विषयलाई स्वीकार गर्ने पक्षमा छैनन्। भन्छन्, “गणतन्त्र स्थापना र संसदीय अभ्यासमा पार्टी अल्झिँदा नयाँ विचार आउन नसकेको हो, यो महाधिवेशनबाट पार्टी देशलाई नै नेतृत्व गर्नसक्ने नयाँ विचारको प्रतिपादन गछौँ।”

यद्यपि, माओवादी आन्दोलनलाई शुरुआती अवस्थाबाट नै अध्ययन गरेका व्यक्तिहरू भने पार्टीलाई नयाँ ढंगले अघि बढाउँछौँ भन्ने पार्टी अध्यक्षको पुरानै शैली भएको बताउँछन्। नेतृत्वमा आफूलाई स्थापित गर्ने रणनीतिमा जति दाहाल सफल हुने गरेका छन् पार्टीको नीति लागू गर्ने विषयमा उनी त्यति नै असफल भएको उनीहरूको विश्लेषण छ।

“जस्ता प्रकारका नेताहरूको गठजोडले पार्टी निर्माण भएको थियो त्यो आज माओवादीभित्र छैन,” पार्टीको महाधिवेशनमा सहभागी हुन विदेशबाट आइपुगेका ती व्यक्तिहरू भन्छन्, “अध्यक्ष दाहाल एक्लैको प्रयासले पार्टीलाई पूर्व अवस्थामा फर्काउन सक्ने अवस्था देखिदैन।”

उसो त पार्टीले अन्य पार्टीको महाधिवेशनभन्दा आफ्नो महाधिवेशन फरक हुने बताइसकेको छ। एमाले, कांग्रेस लगायतका पार्टीले महाधिवेशनका नाममा मान्छे जम्मा गर्ने काम गरेको बताउँदै आफ्नो पार्टीको महाधिवेशनमा भने विचार केन्द्रित बहस हुने नेताहरूको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved