कैलाली युवक हत्या अपडेट : एक जना पक्राउ

कैलाली युवक हत्या अपडेट : एक जना पक्राउ

धनगढी। कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा लम्की-टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको हो। तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।

दासको शव शनिवार दिउँसो अमरावती सामुदायिक वनमा फेला परेको थियो। दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन्। उनीहरूले शव फेला परेको स्थानलाई घेराउ गरेका छन्।

यस्तै दासको विभत्स हत्यासंग सम्बन्धित अडियो रेकर्ड प्रहरीले फेला पारेको छ। शव फेलापछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुई युवाबीचको संवादसहितको फोन अडियो रेकर्ड फेला पारेको हो।

जुन, संवाद युवकको हत्यापछि फोनमा गरिएको हो। अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसंग घटनाको बारेमा कुरा गरेका छन्।

उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्–‘दाइ उसको घाँटी अलग छ। शरीर अलग छ। एक/दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ। म यहाँ कहाँ पुगि सके, कहाँ पुगिसकें।’

उनले आफूले रुपडियाबाट फोन गरेको र बैंगलोरका लागि हिँडेका फोनमा बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीकाअनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करीब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ।

उनले भने, ‘‘रुखमा बाँधिएर नग्न बनाइएको छ। दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ। पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ।’’ सामान्य परिवारका दास २ पुस साँझ घरबाट निस्केका थिए। राति घर नफर्केका दास ३ पुसमा दिउँसो स्थानीय घाँस काट्ने महिलाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली अनुसन्धानमा जुटेको छ।

कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि ३ पुस बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ। त्यस्तै, प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड फेला पारेको हो। अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। ‘‘हामी अनुसन्धानमै छौ। डग स्निफिङ गरायौँ। अडियो रेकर्डसहित केही क्लु फेला परेको छ। हामी शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाएका छौँ,” उनले भने।

स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन्। उनी पनि भारत आउने जाने गर्दै आएका थिए। करीब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए। यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए।

स्थानीयका अनुसार सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरूको अखडा बन्दै आएको छ। घटना लागुऔषध प्रयोगकर्ताबाटै  भएको हुनसक्ने आशंका गरिएको छ। तर यसबारे प्रहरीले पुष्टि गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved