आज उधाैली पर्व

उधौलीका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। अन्य जिल्लामा भने पर्व मनाउने समुदायलाई बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

आज उधाैली पर्व

काठमाडौँ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन्।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन्। किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्।
उनका अनुसार अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ।

लिम्बूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्। तागेरा निङ्वाफुमाङ्लाई आकृतिविनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ।

पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रुपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन् ।

खस आर्यले मनाउने धान्यपूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ। नयाँ अन्नबाली भित्र्याएपछि आआफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परा छ। यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनःदिन थालेको छ।

यस अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। अन्य जिल्लामा भने पर्व मनाउने समुदायलाई बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved