प्रियकथा

कथा : जन्मिन नपाएका नानीहरू

कथा : जन्मिन नपाएका नानीहरू
नीलम कार्की ‘निहारिका’

(रचनागर्भ -त्यो समय, जब म नेपालगञ्जमा नर्सिङ विषय लिएर अध्ययनरत थिएँ। मेरा एउटी साथी थिइन्, उनकी भाउजूले हामीलाई धेरै माया गर्नु हुन्थ्यो। उहाँ गर्भवती भएको केही महिनापछि लखनउ जानु हुन्थ्यो र आउँदा भने रित्तिएर। उहाँ भारी हृदयका साथ नेपाल फर्किनु हुन्थ्यो भन्ने थाहा पाएँ।

तत्कालीन समयमा नेपालमा कुनै नारी गर्भवती हुँदा भिडियो-एक्सरे गर्ने, गर्भको बच्चाको लिङ्ग पहिचान गर्ने र अनिश्चित गर्भपतन गर्ने प्रविधि र पहुँच थिएन। कानुनतः दण्डनीय थियो, गर्भपतन।

एकदिनको कुरा हो, मैले भाउजूसँग गर्भपतनको कारण सोधेँ। उहाँले अश्रुमिश्रित शब्दमा भन्नुभयो, ”हाम्रो प्रेमविवाह भएको हो। विवाह गर्दा म १६ वर्षकी थिएँ। मैले उहाँलाई पछि मलाई धोका दिनु हुन्छ कि भनी सोधेँ।”

उहाँले भन्नुभयो, ”म एक्लो छोरा हुँ। मैले वंश धान्नुपर्छ। यदि तिम्ले छोरा पाइनौं भने मैले अर्को विवाह गर्नुपर्छ।” यही शर्त मञ्जुर गरेर नै मैले विवाह गरेँ। तर मेरो भाग्य- यति माया गर्ने लोग्ने हुनुहुन्छ। मेरो दुःख भनेकै मैले छोरा पाउन सकेकी छैन। म पाँच भाइकी एउटी बहिनी हुँ। आमाले पाँच जना छोरा पाएकी हुँदा मैले पनि लगालग छोरा पाउँछु भन्ने सोचेकी थिएँ। तर भइदियो उल्टो। हरेक पटक छोरी नै छोरी जन्मिई।”

”तीन वटी छोरीले जन्मिने अवसर पाए। मैले थाहा पाएअनुसार तीन वटी नै लखनउको कुनै क्लिनिकको डस्टविनमा फालिइसकेका थिए। त्यसपछि पनि दुई थपिए, पाँच पुगेछन्।” भाउजूले भनिन्।

त्यस घटनालाई हृदयमा गह्रौंगरी बोकेर हिँडिरहेकी थिएँ म। त्यसपछि मैले सुनेका गर्भपतनका आ-आफ्नै कारण थिए। कारण जे भए पनि, कुरा त उही जन्मिन नपाएका नानीहरूको थियो।

२००२ देखि गर्भपतन गर्ने कानुनी ”सुविधा” प्राप्त छ। महिलाको मञ्जुरीमा १२ हप्ता र करणी र जबरजस्तीबाट बसेको गर्भको हकमा १८ हप्तासम्म गर्भपतनलाई रोकतोक छैन।

फेरि पनि कथा त उही जन्मिन नपाएका नानीहरूकै छ।)

हतार-हतार घरबाट बाहिरिन्छु, केही दिन भयो शोध-कार्यमा व्यस्त छु। मेरो शोधकार्य- एक नवीन तथ्यको खोजी : नवज्ञानोन्मुख क्रियाकलाप।
बौद्धिक खोजपूर्ण क्रियाकलाप। मभित्र अटेसमटेस प्रश्न छन्। अन्तरवार्ता-प्रश्न, अवलोकन फाराममा प्रश्न छन्। प्रश्नको ठेली बोकेर केही दिनको नियमित दिनचर्याभैmं पुग्छु उही क्लिनिकमा।

एक विख्यात स्त्रीरोग विशेषज्ञको क्लिनिक।
मेरो शोध-प्रश्नको विषय- जन्मन नपाएका नानीहरू।
मेरो शोधको प्रयोजन- उपाधि हासिल गर्नु।
शोधको क्षेत्र- भ्रुणहत्याको अध्ययन र विश्लेषण।
शोध-शीर्षक चयनका आधार- मेरो रुचि, सामग्रीको उपलब्धता, आजको आवश्यकता, अनि स्वयम् मेरै व्यावहारिक ज्ञान, अनुभव र दक्षता।
शोधको औचित्य- वास्तवमै भन्ने हो भने आत्मसन्तुष्टि।
म शोधार्थी, आफैंसँग र ती आमासँग।
ममा धैर्य छैन, तर तृष्णा छ। लगनशील छु। पूर्वाग्रह हुन्छ-हुन्न, म भन्न सक्दिनँ। ममा ज्ञान छ, अभ्यास छ।

रातो फाइल बोकेर दिनहुँजस्तै, म आज पनि उपस्थित हुन्छु क्लिनिकमा। म पुग्दा क्रमबद्ध मिलेर लस्करै कुर्सीमा बसेका छन् ”आमाहरू”, सन्तानको हत्या गर्ने पालो पर्खेर। आतुर छन् आमाहरू, बेचैनी छ- पालो कहिले आउने हो मेरो ? पल-पलको हतारो छ। पटक-पटक सोध्छन्- ”अब मेरो पालो कहिले ? मेरो बेला भएन ? छिट्टै गरिदिनुस् न।” ऊभित्रको नानी पनि पर्खेर बसेको हुन सक्छ- कहिले पूरा हुने नौ महिना अनि च्याँ-च्याँ गर्दै यो धर्तीमा सफल अवतरण गर्ने ? सपना देख्दा हुन् सुन्दर संसारको।

आमाको पेटभित्र पाठेघर, पाठेघरभित्र तरल पानी, पानीभित्र सुरक्षाको जाली, जालीभित्र ऊ। प्रकृतिले कति सुरक्षा दिएकी नानीका लागि न्यानो सुरक्षा। सुरक्षामा मस्त सुतेको ऊ। ऊ, आफ्नो हत्याको तयारीबाट कति अनभिज्ञ। शङ्का छैन कुनै। आफ्नै आमामाथि शङ्का ऊ कसरी गर्न सक्छ ? ऊ मस्त छ। ९ महिना गनिरहेछ। सबैसँग अपरिचित उसले चिनेको-जानेको छ त आफ्नै आमाको तातो रगत जानेको छ। अरू नाता-सम्बन्धसँग अहिले के सरोकार ?

ऊ जन्मँदा पहिलो बोली च्याँ गरी रुनुपर्छ। रोएपछि जीवनको शुरूवात हुन्छ। अब ऊ रुन नपाउने त ? भ्रूण सोच्दो हो- ”मेरी आमाले प्रसववेदना सहेर यस धर्तीमा टेकाउनेछिन्। धन्य आमा धन्य, तिमी पूजनीय छौ।”

भित्री कोठाको एक कुनामा बसेर म झ्यालबाट चियाइरहेकी छु। अवलोकन गरिरहेछु। मेरो पालो आयो। अब प्रतीक्षा सकिएकोमा दङ्ग पर्दछन् पालो आउनेहरू। प्रत्येक आमाले आफ्नो गर्भ मिल्काउनुअघि मलाई भेटेर छोटो वार्तालाप गर्ने चाँजोपाँजो मिलाइएको छ। म त्यहीँको कर्मचारीजस्तै भएर बसेकी छु, पोशाक परिवर्तन गरेर। मैले जम्मा लिने सेम्पल एक सय। म क्रमशः अन्तरवार्ता लिन्छु।

१. नाम- रीता सिम्खडा
वर्ष- ३५
ठेगाना- ललितपुर, इमाडोल
पेशा- नोकरी
गर्भपतन गराउनुको कारण- दुइटा छँदै छन्, अब नपाउने, पुग्यो। नराख्ने भन्दाभन्दै बसिहाल्यो।

२. नाम- अञ्जना थापा
वर्ष- ३२
ठेगाना- कैलाली, टीकापुर
पेशा- गृहिणी
कारण- तीनवटी छोरी छन्, अहिले पनि छोरी नै छ रे।

३. नाम- प्रिया पोखरेल
वर्ष- २२
ठेगाना- झापा
पेशा- कुखुरापालन
कारण- मौन। उसले अर्की स्वास्नी लिएर भाग्यो। अनुहारमा घृणा र रीस छ।

४. नाम- नम्रता जोशी
वर्ष- २२
ठेगाना- सिन्धुली माडी
पेशा- अध्ययन
कारण- मौन-मौन-मौन। ”विवाह भएको छैन हो ? केही छैन मसँग लुकाउनु पर्दैन।” म उसको हात सुम्सुम्याउँछु, नम्रता आँसु चुहाउँछे।
– ”कसरी भयो ?”
– ”मैले ठूलो विश्वास गरेँ, उसले धोका दियो। बिहे गरेन।”

५. नाम- कोपिला श्रेष्ठ
वर्ष- २९
ठेगाना- तानसेन, पाल्पा
पेशा- व्यवसाय (ब्युटीपार्लर)
कारण- एउटा छ, धेरै पाएर के गर्नु ? शिक्षादीक्षा, खान-लाउन राम्रो दिन सकिँदैन।

६. नाम- कुमारी चौधरी
वर्ष- ३५
ठेगाना- कपिलवस्तु
पेशा- कृषि
कारण- पाँच जना छन्। फेरि। ना बाबा ना। अब पुग्यो।
”पुग्यो त किन ? बन्द गर्नु पर्दैन ?”
– ”मान्दैनन्। मान्दै मान्दैनन् लाहानीका बाबुले।”

७. नाम- कमला प्रसाईं
वर्ष- १९
ठेगाना- धरान
पेशा- अध्ययन
कारण- बिहे गरेको तीन महिना मात्र भएको थियो। घरमा भित्र्याएका पनि छैनन्, श्रीमानलाई गोली लागेर हुनु हुन्न। राख्न चाहन्थेँ। पाउन चाहन्थेँ, तर के गर्नु ?

८. नाम- सम्झना ओझा
वर्ष- २८
ठेगाना- विराटनगर
पेशा- गृहिणी
कारण- ”तीन वर्ष भयो, श्रीमान् विदेश गएको आइस्या छैन।” लाज मान्दै भन्छिन्।

९. नाम- रीता गुरुङ
वर्ष- २४
पेशा- होटल व्यवसाय
ठेगाना- पर्सा
कारण- यसलाई कसले स्वीकार्छ ? को बाबु बन्छ ?

१०. नाम- सविना नेपाली
वर्ष- १६
ठेगाना- पोखरा
पेशा- कृषि
कारण- चार महिनाअघि सामूहिक बलात्कार। बलात्कारी निर्दोष सावित।

११. नाम- डोल्मा शेर्पा
वर्ष- ४६
ठेगाना- काभ्रे
पेशा- अध्ययन
कारण- ”चालीस वर्ष काटिसकेँ, नाति-नातिना जन्मिसके, अब समाजले के भन्छ ?”
पालोमा परेकाहरूलाई प्रश्न गर्दै जान्छु।
००

यो क्रम चलिरहेछ केही दिनदेखि।

हत्याको प्रत्यक्षदर्शी म। हत्यामा संलग्न छन् डाक्टर, नर्स। सहयोगी छन् नानीका बाबु-आमा, आफन्त जो सबैभन्दा नजिकका छन्। प्रत्यक्षदर्शी म। तर यो हत्याको न मलाई कहीँ बयान दिनु छ, न कहीँ सुनुवाइ नै हुन्छ। हत्या भइरहेछ धमाधम।

अर्को दिन, म त्यही ठाउँमा पुग्छु, ठीक त्यही समयमा। आफूसँग भएको अवलोकन-फाराम भर्छु। अन्तरवार्ता पथमादर्शिका भर्छु। मेरो काम शोध-कार्य पूरा गर्नु मात्र न हो।

गर्भपतन गराउनु या नानीहरूको अकाल हत्याको कारण आज जे मैले सुनेँ, यस्तो छ, प्रस्तुत गर्छु-

– ”विदेश जान लागेकी छु त्यसैले।”
– ”मेरो पढाइ पूरा भएको छैन, पढाइमा बाधा पार्छ।”
– ”श्रीमानको पहिलाकी श्रीमतीपट्टिबाट नै छोरा-बुहारी, छोरी-ज्वाइँ सबै छन्। मैले नपाउने शर्तमा बिहे भा”को रे। मेरै बुबासँग त्यही दिन कुरा भा”थ्यो भन्छन्।”
– ”मालिक्नीले थाहा पाए बित्यास परिहाल्छ नि। कहाँ मालिक कहाँ म ?”
– ”बल्ल एघार पढ्दै छु, ऊ बाह्रमा। हाम्रो अहिले बिहे गर्ने बेला पनि त भा”छैन।”
– ”पाल्न सकिँदैन हजुर। रहर”थ्यो नि। श्रीमान् सधैँको बिरामी। आज मजदुरी नगरे भरे मुखमा माड लाग्दैन।”
– ”हामीलाई निको नहुने सरुवा रोग लागेको छ।”
– ”बन्दुकको कुन्दाले हिर्कायो, बच्चा भित्रै मरिसकेछ।”
– ”कलाकारको बिहे हुँदैमा त दर्शकको क्रेज घट्दो रहेछ। केही वर्ष नपाउने, अभैm केही गर्नु छ, अहिले क्रिएसनको बेला हो, कसरी आफ्नो क्यारियर बिगार्नु ?”
– ”हाम्रो धन्दामा बच्चा भए फाल्नुपर्छ, जन्माउन कहाँ पाइन्छ र ?”
– ”उसले भूmटो माया गरेको रहेछ, मैले त चोखो सम्झेँ। जन्माउन त इच्छा थियो तर…।”
– ”आफ्नै नाताभित्रको, हाडनाताको सम्बन्ध।”
हातको सेता पञ्जा रगतले लतपतिएको छ। डाक्टरले एउटा भ्रूणलाई वकेटमा मिल्काएपछि, अर्को मिल्काउने तयारीमा नयाँ पञ्जा फेर्छ। रगत नलागेको कीटाणुरहित पञ्जा।

ऐया…।
कुनै बेला सुनिन्छ आमाको चीत्कार। ऐया…। मैले सुनेँ, अरूले पनि सुने आवाज, आमाको। तिखो औजारले छेडी-छेडी टुक्रा-टुक्रा पार्दा नानी पनि ऐया गर्दा हुन्। आमाकै गर्भमा चिच्याउँदा हुन् नानी। स्वयम् आमासँग पनि पुग्न पाउँदैन उनीहरूको चीत्कार। उनीहरू टुक्रा-टुक्रा भएर फोहोरको डङ्गुरभित्र बाल्टीमा मिल्कन्छन्।

दिनहुँ, दर्जनौं भ्रूणहरूको एकै अवशेष।

नानीहरूको हत्यामा मृत्यु-गीत गाइदिने कोही छैन। हत्याविरुद्ध जुलुस छैन, नारा छैन, तोडफोड केही छैन। मात्र हत्यामा संलग्न रहनेहरू पैसाको लेनदेन गर्छन् र बाटो नाप्छन्।

मेरो कोख दुख्छ चसक्क।
००

मेरो तथ्याङ्क-सङ्कलनको अन्तिम दिन।

मेरो तथ्याङ्कभित्र परेका एकसय नानीहरू एकै चिहानमा जलिसकेका छन्, फोहोर जलाउने मेसिनभित्र चर्को रापमा दनदनी। यतिबेला शोक-धुन कुनै बज्दैन, यतिबेला शोकको आँसु कतै झर्दैन। मातृहृदयसमेत चस्कन्छ चसक्क। नानीहरू खरानी भइसके। मसँग अवशेष छ सङ्कलित खेस्रा सामग्रीको। मैले त्यसको अध्ययन, प्रशोधन, व्यवस्थापन, सम्पादन गर्नु छ कागजको पानामा।

एकसय नानी हत्याको वर्गीकरण, तालिकीकरण गर्नु छ। चित्रात्मक प्रस्तुति गर्नु छ डन्डारेखामा बाँड्नु छ, वृत्तरेखामा कोर्नु छ, प्रतिशतमा बागडोर गरेर रेखाचित्रमा ढाल्नु छ।

नानीहरूको हत्याको व्याख्या-विश्लेषण गर्नु छ, खण्डनमण्डन, संशोधन गरी निष्कर्ष निकाल्नु पनि छ।
००

सम्पूर्ण एकसय नानीहरूको हत्या-विवरण बोकेर म फर्किरहेकी छु घरतिर। मैले अब टङ्कन गरेर सुन्दर गाताबन्दीमा पेश गर्नुपर्छ जन्मन नपाएका नानीहरूको कथा।
सुन्दर गाता, नानीहरूका लागि सुन्दर नाना।

मेरो अगिल्तिर नानीहरू छुनमुन-छुनमुन गर्दै हिँडेका छन्। ता… ताते… ताते…, बामे सरेका छन्। पूmलजस्ता कोमल पुष्प। सुनौला हातहरू, सुनकेस्रा कपाल, गुलाबी छाला, सुन्दर आँखा। खेल्छन्, कुद्छन्, छरपस्ट बाटोमा। म बाटो मोडिन्छु।

अर्को घुम्तीमा भेट्छु स्कुलको पोशाकमा लामबद्ध नानीहरू, मलाई बिदाइको हात हल्लाउँदै। बाटो मेरै अगिल्तिरबाट। म गन्दै जान्छु- एक, दुई, तीन…। अन्ठानब्बे, उनान्सय, सय र एक सय एक। १०१ ले मलाई फर्की-फर्की हेर्छ दुरुस्त म, मेरो बचपनको फोटोजस्तै। म हेरिरहन्छु।

मेरो कोख दुख्छ चसक्क।

म भुइँमा बस्छु थचक्क। टाउको उठाउँछु बिस्तारै। त्यहाँ केही छैन, उदाङ्ग सडक र सडकछेउमा पुनःनिर्माणका लागि भत्काउँदै गरिएको पुरानो घरबाहेक।
मेरो कोख दुखिरहन्छ मन्द-मन्द।

(सबै कला- रमेश श्रेष्ठ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved