प्रचण्डसँग सहमति गरेर ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए : ओली

नेपालभ्युज

प्रचण्डसँग सहमति गरेर ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए : ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग सहमति गरेरै पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको आरोप लगाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले १९ माघ, २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै सत्ता हत्याएका थिए। त्यसको दुई महिनाअघि ज्ञानेन्द्र र प्रचण्डबीच गोप्य सहमति भएको आरोप ओलीले लगाए।

‘१८ मंसीर ०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको थियो। के सहमति भएको थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्‍नुपर्‍‍यो। यो ? कसको विरुद्ध भएको थियो ? के भएको थियो ?’’ एमालेका मनोनित केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा बोल्दै ओलीले भने,‘‘ त्यो सहमतिपछि ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाए। लोकतान्त्रिक शक्तिहरु रुकुम–रोल्पामा पाइला टेक्न नसक्ने अवस्थामा थिए। त्यहाँ भएका नेता मारिने अवस्था थियो। तर, ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत हुने ? विराटनगरमा स्वागत हुने ? यही काठमाडौंमा थापाथलीदेखि हिंडेर मंगलबजारमा उधुम स्वागत । को थिए स्वागत गर्ने ? कसरी युवा शक्तीलाई गुमराहमा गरिएको थियो ?’’

उनले प्रचण्ड र माधवकुमार नेपालले देशमा अस्थिरता फैलाउन चाहिरहेको बताए। ‘‘ अस्थिरता मच्चाउन खोज्ने शक्ति क्रियाशिल हुन खोज्दैछन्। नियन्त्रित अस्थिरता हाम्रो नीति हो नेपालका लागि भनेर केही शक्तिहरुले खुलेयाम भनिरहेका छन्,’’ ओलीले भने,‘‘ती शक्तिहरुमा सबैभन्दा चर्कोगरी चल्ने माकुने एन्ड कम्पनी र प्रचण्ड एन्ड कम्पनी हुन्। अस्थिरताका संवाहक यी नै हुन्। अझै कति साथीहरुमा कम्युनिष्ट एकता भन्ने भ्रम होला। त्यस्ता अस्थिरताका शक्तीहरुसँग एकता गरेर कहीं पुगिन्छ ? त्यो एकिकरण संभवै छैन।’’

माओवादीले विगतमा जनयुद्धका नाममा नेपाली युवाहरुलाई गुमराहमा राखेकोे आरोप उनले लगाए। ‘‘जनयुद्ध भनेर दुर्गम ठाउँहरुबाट, सुगम ठाउँहरुबाट महिला र युवाहरुलाई उरालियो। सेन्टिमेन्ट जागाइयो, उनीहरु ज्यान दिन तयार भए। तर, परिवर्तन भएन’’, ओलीले भने,‘‘ हतियार कहाँबाट आयो ? त्यतापट्टी फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो। तर यति बुझिएन, यति हेरिएन, कहाँबाट कसले ल्याउँदैछ हतियार नेपालमा अस्थिरता ल्याउन । नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैन थियो। किनकी, त्यो सफल बनाउन शुरु गरिएकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न, बार्गेनिङ गर्नका लागि गरिएको थियो। ’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved