कांग्रेस महाधिवेशन

नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान हुँदै

नेपालभ्युज

नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान हुँदै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।

सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन्।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।

निर्वाचनलाई मध्यनजर गरेर आइतबार दिउँसोदेखि नै महाधिवेशनस्थल र वरपर भृकुटीमण्डप, राष्ट्रियसभा गृह र नेपाल प्रहरी क्लबमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्रमा रहेको फोटो हेरेर मात्रै भित्र छिर्न दिइनेछ। महाधिवेशन प्रतिनिधिबाहेकलाई छिर्न रोक लगाइएको छ।

कसैलाई छिर्न दिइएको छैन। प्रतिनिधि नभएका नेता कार्यकर्तालाई आइतबार दिउँसैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपसहित राष्ट्रियसभा गृहमा प्रवेशमा रोक लगाइएको छ।

कांग्रेसको निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार चुनावमा सभापतिका लागि पाँच जना भिड्दै छन् भने दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै खुला तथा समावेशी गरी ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ।

कांग्रेसमा सभापतिमा निर्वाचित कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved