भारतमा ओमिक्रोन देखिएपछि सुदूरपश्चिमका नाकामा कडाइ

भारतमा ओमिक्रोन देखिएपछि सुदूरपश्चिमका नाकामा कडाइ

धनगढी। दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर अमेरिका, नाजरेया लगायतका देश हुँदै भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा कडाइ गरिएको छ।

भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो। यी नाकाबाट सुदूरपश्चिममा आवागमन बढी हुने गरेको छ। पहिलो चरणको कोरोना संक्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने डा. अवस्थीले बताए।

सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै संक्रमण फैलिने खतरा बढेको बताइन्छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको संक्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ। सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ। राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लङ्घन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ।

ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृत्यु भएको थियो। विश्वस्वास्थ्य संगठनले कोभिड-१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved