नयाँ प्रयोगसहितको शहीद स्मारक ‘ए’ डिभिजन लिग

यो पटकको लिगमा फ्लड लाइट, खेलका लागि धेरै मैदान, ‘विकेण्ड’ मा लिग र खेल म्याच प्राइज मनी लगायतका नयाँ प्रयोगहरू भएका छन्।

नयाँ प्रयोगसहितको शहीद स्मारक ‘ए’ डिभिजन लिग

काठमाडौं। विभिन्न नयाँ प्रयोगसहित शुरु भएको ४३ औँ संस्करणको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा एक गोल पनि हुन सकेन। नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो यो प्रतियोगिता शुक्रबारदेखि काठमाडौमा शुरु भयो।

सातदोबाटो युथ क्लबले इतिहासमा नै पहिलो पटक खेलेको ‘ए’ डिभिजन लिगमा दशरथ रङगशालामा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीको खेल खेल्यो। दोस्रो हाफमा १० जनामा समेटिएको फ्रेण्ड्सविरुद्ध सातदोबाटोले एक गोल पनि गर्न सकेन।

गत वर्षको ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजन मा उक्लिएको सातदोबाटोले खेलमा तुलनात्मक रुपमा फ्रेन्ड्स क्लबलाई दबाबमा राखेको थियो तर प्राप्त धेरै मौका सदुपयोग गर्न सकेन।

खेलको २० औँ र ३३ औँ मिनेटमा सातदोबाटोका मिडफिल्डर आकाश बुढामगरले गोल गर्ने मौका खेर फालेका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएपपछि दोस्रो हाफमा दुवै टिमले आक्रमण बढाए। ५४ औँ मिनेटमा सातदोबाटोको बिदेशी खेलाडी मार्टिन्स्को गोलपोष्ट नजिकैको हेडरले सहि दिशा लिन सकेन भने लगतै सातदोबाटोका आकास बुढा मगरको पेनाल्टि बक्सभित्रको कडा शटलाई फ्रेण्ड्सका किप्परले बचाए ।

५८ औँ मिनेटमा विदेशी खेलाडी फ्रान्कोइसको प्रहार क्रसबारमा लाग्यो भने ६६ औँ मिनेटमा जुड गार्सियाको डिफेल्कटेड शटलाई सातदोबाटोका किप्परले बचाउँदा फ्रेण्ड्सले पनि गोल गर्न सकेको थिएन।

यसपछि ७६ औँ मिनेटमा विदेशी खेलाडी रोनेल पौल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि फ्रेण्डस १० जनामा समेटिएको थियो । तर एक खेलाडी बढी भएको फाइदा सातदोवटोले उठाउन सकेन। खेल बराबरीमा सकिएपछि लिगको पहिलो खेलबाट दुवै टिमले एक-एक अंक बाडेका छन्।

यो पटक लिगमा भएका नयाँ प्रयोग

‘ए’ डिभिजन लिगले करीब सात दशकको यात्रा पूरा गर्न लाग्दा विभिन्न कारणले यो लिग नियमित रुपमा हरेक वर्ष आयोजना हुन भने सकिरहेको छैन। गतवर्ष त कोभिडका कारण विश्व खेलकुद नै ठप्प हुँदा नेपालमा लिग आयोजना हुन नसक्नु स्वाभाविक थियो।

विश्व फुटबल सँधैं परिवर्तनशील छ र यसमा हरेक वर्ष केही न केही नयाँ प्रयोग भइरहन्छ। सोही परिवर्तन अनुसार चल्ने प्रयास गर्दै एन्फाले पनि यस पटक लिगमा केही फरकपन ल्याउन नयाँ प्रयोगहरू गरेको छ।

फ्लड लाइटमा लिग

नेपाली फुटबल इतिहासमा पहिलो पटक यसै प्रतियोगितादेखि फ्लड लाइट अर्थात कृतिम प्रकाशमा ‘ए’ डिभिजन लिग संचालन भएको छ। लिगको उद्घाटन खेलमा नै सातदोबाटो र फ्रेण्डस् क्लबले फ्लड लाइटमा पहिलो खेल खेले। नेपालमा ‘ए’ डिभिजन लिगका खेलहरू साँझको समयमा आयोजना गरिएको यो पहिलो पटक हो।

दोस्रो चरण सम्मको सार्वजनिक खेलतालिका अनुसार दिनको पहिलो खेल एक बजे र दोस्रो खेल पौने पाँच बजे खेलाइनेछ। दोस्रो खेलको लागि प्रकास कम हुने हुनाले दशरथ रंगाशालामा रहेको फ्लड लाइट बालिनेछ। तुलनात्मक रुपमा प्राकृतिक प्रकाशमा भन्दा फ्लड लाइटमा फुटबल खेल्न सजिलो हुने मानिन्छ। प्रत्यक्ष खेल हेर्ने दर्शकले पनि फ्लड लाइटमा भएको खेल बढी रुचाउँछन्।

‘फिफा म्याच डे’ मा खेल नहुने

‘फिफा म्याच डे’ को अर्थ विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने अन्तराष्ट्रिय खेल हुने दिन हो। यो दिनमा विश्वभरि विभिन्न देशमा आयोजना हुने क्लबका खेलहरू भने सकेसम्म संचालन गरिदैन, जसलाई ‘फिफा डे ब्रेक’ भनिन्छ।

फिफाले हरेक वर्षको लागि बनाउने बार्षिक क्यालेण्डरमा पहिले नै ‘फिफा म्याच डे’ तोकेको हन्छ, जसमा अन्तराष्ट्रिय म्याच हुन्छन्। त्यसैले

विभिन्न देशका विभिन्न क्लबहरूबाट खेल्ने खेलाडीलाई ‘फिफा म्याच डे’ मा राष्ट्रिय टिमबाट खेल्ने आफ्नो दायित्व पूरा गर्नुपर्ने हुन्छ। त्यो बेला क्लबको पनि खेल जुधेमा एक खेलाडीले क्लब र राष्ट्र दुवैबाट खेल खेल्न सक्दैन।

त्यसैले ‘फिफा म्याच डे’ मा क्लब फुटबललाई ‘ब्रेक’ दिने गरिन्छ। यो लिगमा एन्फाले पनि यो चलनलाई मान्ने बताएको छ। जुन नेपाली फुटबलमा पहिलो पटक गर्न लागिएको अभ्यास हो। यो पटक फिफाको नियम अनुुसार अन्तराष्ट्रिय खेल हुने दिनमा ‘ए’ डिभिजन लिगका खेल हुने छैनन्। आसन्न ‘फिफा म्याच डे’ सन् २०२२ को जानवरि २४ देखि एक फेब्रुअरीसम्म छ।

धेरै मैदानामा लिगका खेल

यो पटक ‘ए’ डिभिजन लिगका खेल चारओटा मैदानमा गर्ने एन्फाको लक्ष्य छ। नेपालको प्रमुख फुटबल स्टेडियम दशरथ रंगशालासँगै, एन्फा कम्पेल्क्स सातदोबाटोको मैदान र च्यासलको मैदानमा पनि लिगका खेल आयोजना गर्ने एन्फाले बताइसकेको छ।

पहिलो पटक निकालेको खेल तालिकामा यी तिनऔटै मैदानमा खेल हुने लेखिएको थियो। तर एन्फाले खेल तालिकालाई परिमार्जन गरेर हाल दोस्रो चरणसम्मका खेल भने दशरथ रंगशालामा मात्र गर्ने जनाएको छ।

त्यसैगरी पहिलो पटक काठमाडौंबाहिर ‘ए’ डिभिजन लिगका खेल गराउने योजनामा पनि एन्फा छ। विशेषगरी मनाङ मर्स्यांग्दी क्लबले पोखराको स्टेडियमलाई आफ्नो होम ग्राउण्डको रुपमा प्रयोग गर्न चाहिरहेको छ। त्यसैले एन्फाले कम्तिमा लिगका पाँच खेल पोखरामा गराउने प्रयास गरिरहेकोछ।

‘विकेण्ड’ मा लिगका खेल

एन्फाले अघिल्ला लिगमा प्राय: हरेक दिन खेल संचालन गर्थ्यो। त्यसैले एकै हप्तामा पनि क्लबहरूले एकभन्दा बढी खेल खेल्नुपर्ने हुनाले खेलाडीमा आरामको कमीसँगै नियमित खेलले चोटको संभावना पनि बढी हुन्थ्यो। एन्फा भने यस कुरामा ध्यान दिनुको सट्टा लगातार खेल गराएर लिग सक्नतर्फ मात्र लाग्थ्यो।

यो पटक भने एन्फाले ‘विकेण्ड’मा मात्र लिगका खेल गराउन लागेको छ। पहिला साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार मात्र खेल हुने जनाइएपनि हाल एन्फाले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार सोमबार समेत गरी हप्ताको चार दिन खेल हुनेछ। जसअनुसार यो लिगमा कुनै एक टिमले हप्तामा एक मात्र खेल खेल्नुपर्नेछ।

साताको अन्त्यमा खेल गराउँदा बिदा पनि पर्ने हुनाले दर्शकको संख्या बढ्ने अनुमान एन्फाको छ। जसको लागि टिकट मुल्य घटाएर एन्फाले साधारण प्याराफिटतर्फ एक सय र भीआईपी प्याराफिट तर्फ पाँच सय रुपैयाँ तोकेको छ।

यसअघि २०५२ सालको लिगमा पनि साताको अन्त्यमा मात्र लिग गराउने भनेर शनिबार र शुक्रबार मात्र लिगका खेलहरू खेलाइएका थिए। तर यसपछिका लिगमा एन्फाले यसलाई निरन्तरता दिन सकेको थिएन।

म्याच प्राइज मनी

यो पटक ‘ए’ डिभिजन लिग विजेता टिमले पाउने नगद पुरस्कार बढाइएको छ। जहाँ लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो स्थान प्राप्त गर्ने टिमले २५ लाख प्राप्त गर्नेछन्। २०७६ सालको गत लिगमा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमसः ५० लाख, ३० लाख र २५ लाख नगद पुरस्कार पाएका थिए।

साथै यो पटक एन्फाले लिग खेल्ने टिमले हरेक खेलमा नतिजाका आधारमा नगद पुरस्कार पाउने व्यवस्था पनि गरेको छ, यसैलाई भनिन्छ  ‘म्याच प्राइज मनी’। जसमा हरेक खेलमा विजेताले ५० हजार पाउनेछ भने खेल बराबरीमा सकिएमा दुवै टिमले २५-२५ हजार पाउने नयाँ व्यवस्था गरिएको छ।

यो पटकको लिग देखि एन्फाले गरेका यी प्रयोगहरूले ‘ए’ डिभिजन लिग र नेपालको फुटबलको स्तर सुधार गर्न कति मद्दत गर्नेछ त्यो भने आउँदा दिनमा हेर्न बाँकी नै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved