विप्लवको बन्दको सास्तीमा परेकी सीता

“नेपाल बन्द भएर समयमा गाडी नै पाइएन निकै सास्ती भयो”, दिक्क मान्दै सीता भन्छिन्, “केही रुपैयाँ कमाइ होला भनेर दुःख गरेको साँवा पनि उठेन।”

विप्लवको बन्दको सास्तीमा परेकी सीता

काठमाडौं। पेटोलियम पदार्थको मूल्य वृद्धिको विरोध भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण सडकमा सवारी साधनको संख्या पातलो थियो। सार्वजनिक यातायात छिटफुट चलेका थिए। निजी सवारी साधन हुनेहरू आफ्नै तालमा हुँइकिरहेका थिए।

हस्याङफस्याङ गर्दै एक महिला लगनखेलमा रोकिएको साझा यातायातको बसतर्फ लम्किरहेकी थिइन्। एक हातमा थियो साग राखिएको प्लास्टिक झोला, अर्कोमा फलफूल।

बस छुट्न लागिसकेको थियो उनी अगाडि आएर रोकिइन्। लुभु जान्छ भनेर प्रश्न गर्दा बसको सहचालकले ‘जाँदैन’ भनेर ढोका लगाए।

लुभुकी सीता खरेल छेउकै यात्रु प्रतीक्षालयमा बसिन्। दैनिक लुभुबाट तरकारी ल्याएर लगनखेलमा बेच्ने गरेको उनले बताइन्। भनिन्, “नेपाल बन्द भन्ने पनि थाहा थिएन। तरकारी लिएर आइहाले तरकारी बिक्री भएन व्यर्थमा दुःख पाइयो।”

“नेपाल बन्द भएर समयमा गाडी नै पाइएन निकै सास्ती भयो”, दिक्क मान्दै भन्छिन्, “केही रुपैयाँ कमाइ होला भनेर दुःख गरेको साँवा पनि उठेन।” उनले थपिन, “उताबाट आउँदा भारी भए नि फर्किँदा रित्तो हुन्छ सोचेर निकैबेर बस कुरेर आ’को एक पोको मात्र बिक्री भयो। अब फिर्ता लैजान्छु, उतै लगेर बेच्छु।”

प्रतीक्षालयमा बस कुर्दा दिक्क मान्दै खरेल भन्छिन्, “खै बस पनि आएन, भोकले आँत लुलो भइसक्यो कतिबेला घर पुग्नु र खाना खान पाइएला,” उनले थपिन, “आउनै ढिला भयो अघिपछि १० बजे नै घर पुग्थें र समयमा खान पाउँथें।”

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको नाउँमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज (मंगलबार, ३० कात्तिक) मा नेपाल बन्द गरेको थियो। तर बिहानपख केही प्रभाव देखिए पनि दिउँसोबाट सवारीसाधन निर्वाध चलेका थिए। यसकै मारमा परेकी थिइन् सीता।

“कहिले नेपाल बन्द, कहिले लकडाउन दुःखीलाई दुःख मात्र थपिन्छ,” भन्छिन, “२५ सयको तरकारी बेच्दा सात सयसम्म फाइदा हुन्छ।” लगनखेलमा तरकारी बेच्न थालेको नै आठ वर्ष बढी भएको उनी बताउँछिन्। त्यसअघि उनी किराना पसलमा काम गर्थिन्। पसलबाट घाटा बेहोरेपछि तरकारी बेच्नतिर लागेको उनले बताइन्।

उनको परिवारमा श्रीमान् र एक छोरा छन्। भन्छिन्, “श्रीमान् थला परेको १५ वर्ष भइसक्यो छोरालाई पढाउन निकै गाह्रो भयो।” तरकारी बेचेर डेरा भाडा तिर्न र श्रीमान र आफ्नो औषधि खर्च पुर्‍याउन पनि धौधौ पर्ने उनी बताउँछिन्।

“हातमा सर्पले टोकेर काम गर्न समस्या हुन्छ, काठमाडौं आएपछि बस दुर्घटना भएर झन समस्या थपियो।” उनी भन्छिन, “अहिले दैनिक औषधि खानैपर्छ।” तरकारी बेचेर घर फर्कदा खाना समयमा नखाने भएकाले ग्याष्टिक बढेर त्यसको पनि औषधि खाने गरेको उनले बताइन्।

सिन्धुपाल्चोक ठोकर्पाकी खरेलका श्रीमान काठमाडौंमा जागिरे थिए। दुइ सन्तान खेर गएपछि उपचारका लागि काठमाडौं आउँदा काठमाडौं नै बसेको उनी बताउँछिन्। भन्छिन, “उपचार गरेपछि एउटा छोरो जन्मियो।” गुजारा चलिरहेको थियो। श्रीमान बिरामी परेपछि सबै जिम्मेवारी आफ्नो काधँमा परेको उनले सुनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved