बार अध्यक्ष श्रेष्ठ भन्छन् – प्रधानन्यायाधीशविरुद्ध बार मात्र लागेर पुग्दैन

नेपालभ्युज

बार अध्यक्ष श्रेष्ठ भन्छन् – प्रधानन्यायाधीशविरुद्ध बार मात्र लागेर पुग्दैन

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलन जारी राखेको छ।

आज (बिहीबार) सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारीलगायत अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको थियो।

माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाई अधिवक्ताहरूलाई सर्वोच्च अदालतको प्राङ्गण बाहिर निकालेको हो। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरिकहरू राजीनामा माग्दै सडकमा आउनुपर्ने बताए।

न्यायपालिकाको सुधारमा बाधक बन्नेहरूको राजीनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने उनले बताए। आफूहरूलाई स्वच्छ, निर्भीक र स्वतन्त्र प्रधानन्यायाधीश चाहिएको उल्लेख गर्दै त्यस किसिमको प्रधानन्यायाधीश नल्याउञ्जेल आन्दोलन जारी रहने बताए।

“न्यायपालिकाको सुधारमा जो जो बाधक हुन्छन्। जो कोही बाधक हुन्छन्। उसको राजीनामा आइसकेपछि पनि उसको सम्पत्ति विवरण सार्वजनिक गराउने मात्र होइन, जफत गर्ने काममा हामी लागि पर्नेछौँ। यसका लागि सम्पूर्ण कानून व्यवसायीहरू, सेवाग्राहीहरू, न्यायकर्मीहरू, कर्मचारीहरू, नागरिक समाज सम्पूर्ण नेपाली नागरिक यो पार्टमा लाग्नुहुनेछ। सर्वोच्च अदालतको प्राङ्गणमा जुन सीमा दिइएको छ त्यो सीमामा सिमित भएर हामीले शान्तिपूर्ण कार्यक्रम गरेका थियौँ,” श्रेष्ठले भने।

माइक राखेर आफ्नै प्राङ्गणमा कार्यक्रम गर्दा रोक्न आउने, पुलिस लगाउने, भएको भन्दै उनले चिन्ता व्यक्त गरे। न्यायपालिकालाई प्रहरी प्रशासनबाट डोमिनेट गरेर, करप्शनलाई बढाउने काम गरिराखेको उनको आरोप थियो।

प्रधानन्यायाधीश बिचौलियाको नाइके भएका भन्दै शुद्ध न्याय दिने, निष्पक्ष न्याय दिने, स्वच्छ न्याय दिने, निर्भीक न्याय दिने, स्वतन्त्र न्यायपालिकाको प्रधानन्यायाधीश चाहिएको उनले बताए।

“त्यस किसिमको प्रधानन्यायाधीश जबसम्म हामीले ल्याउन सक्दैनौँ, तबसम्म यो आन्दोलनको कार्यक्रम हो। नेपाल बार मात्र होइन अब सम्पूर्ण नागरिकमा यो गइसकेको छ, भोलि तपाईहरू सम्पूर्ण साथीहरू प्रधानन्यायाधीशलाई गेटबाट प्रवेश गर्न नदिन भोलि १० बजे नै हामी सबै साथीहरू यहाँ भेला हुन आउनुहोला,” उनले आग्रह गरे।

नागरिकहरूलाई पनि सडकमा आउन पनि उनले आग्रह गरे। “हिजोका दिनमा हामीले सम्हाल्न सकिन्छ कि भन्ने थियो तर अब छैन। उसले बिचौलिया, भ्रष्टाचारलाई झन झाँगिन दिने भयो। त्यसकारणले उहाँहरूलाई हटाउन सम्पूर्ण नागरिक समाजको सहयोगको आवश्यकता पर्दछ। बारले आफ्नै किसिमले गर्छौं। तपाईंहरूले पनि आ-आफ्नो ठाउँबाट गर्नुहोस्। हामी बारको सहयोग हुनेछ।”

नेपाल बार एशोसिएशनले भोलि (शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ। अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरूलाई आग्रह गरे।

न्यायाधीशहरूलाई बेञ्च बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसेर आन्दोलनमा सघाउन पनि आग्रह गरे। विरोध कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले प्रधानन्यायाधीश जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताए। प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीश नचाहिएको उनल‍े बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved