अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त – माधव नेपाल

नेपालभ्युज

अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त – माधव नेपाल

सर्लाही। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त भएको बताएका छन्।

सर्लाहीको सागरनाथ जंगल क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान नभएको पनि बताएका छन्। जिल्लाको यस क्षेत्रमा केही समयदेखि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयले निकै चर्चा पाएको थियो।

सर्लाहीको हरिवन नगरपालिकाअन्तर्गत घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त स्थान भएको जिकिर गरे।

सोमबार सत्तधारी गठबन्धन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नभई सर्लाहीको सागरनाथ जंगल क्षेत्रमा बनाउनुपर्ने बताएका थिए। उक्त प्रसंग लक्षित गर्दै पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष नेपालले अध्ययनको कमी हुनेहरूले यस्तो तर्क गर्ने बताए।

“उहाँले अध्ययन गर्नु भएकै छैन, मैले त पूरै अध्ययन गरेको छु, म प्रधानमन्त्री भएकै बेला र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक भएर पनि मैले पटक पटक निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गरेको छु”, नेपालले भने, “मैले हेलिकप्टर लिएर सागरनाथ जंगल क्षेत्रको समेत निरीक्षण गरेको थिएँ, तर निजगढको जंगलजति सागरनाथ जंगल क्षेत्र उपयुक्त देखिएन।”

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गफाडी प्रधानमन्त्री नम्बर एकको रुपमा गिनिज बुकमा नाम लेखाउनुपर्ने भन्दै नेता नेपालले व्यंग्य गरे। ‘उहाँ प्रधानमन्त्री हुँदा गफबाहेक विकासका अरु केही काम गरेकै छैन, कामभन्दा कुरा बढी, एकैपटक देशभरका पालिकाहरूमा अस्पताल शिलान्यास गर्नुभयो अनि अहिले एकै पटक देशभरका वडा र पालिकाहरुमा पार्टी अधिवेशन रे”, नेपालले व्यंग्य गरे, “गफबाहेक विकासका केही काम नै गरेको छैन, तैपनि उहाँकै ठूला कुरा छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved