साफ उपाधिका लागि नेपाल र भारत भिड्दै

नेपालभ्युज

साफ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपाल र भारत भिड्दैछन्। नेपालका अग्रपंक्तिका खेलाडी अञ्जन विष्टले भने उपाधि भिड्न्तको खेल गुमाउने छन्।

बंगलादेश विरुद्धको खेलमा एक गोलले पछि परेको अवस्थामा विष्टकै गोल मार्फत नेपाल बराबरीका पुगेको थियो। उनले नेपाले प्राप्त गरेको पेनाल्टि सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए। सोही खेलमा पाएको पहेंलो कार्डका कारण उनले उपाधि भिड्न्तको खेल गुमाउने भएका हुन्। जारी प्रतियोगितामा विष्टले दुई पहेंलो कार्ड पाएका छन्।

यस्तै भारतको रक्षापंक्तिको नेतृत्व गर्ने सुवाशिष बोसले पनि फाइनल खेल खेल्न पाउने छैनन्। लिग चरणको अन्तिम खेलमा उनले रातो कार्ड पाएकाले नेपाल विरुद्धको फाइनल खेल उनले पनि गुमाउने छन्। अर्कोतर्फ भारतकै अग्रपंक्तिका खेलाडी फारुक चौधरीले भने चोटका कारण फाइनल खेल खेल्ने छैनन्।

भारतका प्रमुख प्रशिक्षक इगोर स्टायमाच पनि फाइनल खेलमा टिमको नेतृत्व गर्न पाउने छैनन्। माल्दिभ्स विरुद्धको समुह चरणको अन्तिम खेलमा प्रमुख प्रशिक्षक स्टायमाचलाई पनि खेलका रेफ्रीले रातो कार्ड देखाएका थिए।

प्रशिक्षकले खेल मैदान बाहिर रहेर देखाउनुपर्ने आचरण नदेखाएको भन्दै उनलाई रातो कार्ड दिइएको हो। उनले मैदान बाहिर रहेर फाइनल प्रतिस्पर्धा हेर्न भने पाउने छन्।

समुह चरण अन्र्तगत नेपालले खेलको दुई खेलमा जित निकाल्दा एक खेलमा बराबरी र एक खेलमा पराजय व्यहोरेको थियो। आयोजक माल्दिभ्स र श्रीलंकालाई पाराजित गरेको नेपाल बंगलादेशसँग बराबरी खेल्दा भारतसँग भने पराजित भएको थियो।

भारतसँग समुह चरणको खेलमा पराजित भए पनि फाइनल खेलमा अघिल्लो खेलको नतिजाले असर नपार्ने बताउँछन् नेपाली टिमका कप्तान किरण चेम्जोङ। भन्छन्, “हामीले भारतसँगको समुह चरणको खेलका विषयमा सोचेका छैनौँ, त्यो खेल हाम्रा लागि पुरानो भइसक्यो।  शनिबारको खेल हाम्रा लागि निकै महत्वपूर्ण छ, हामी आक्रामक तरिकाले खेल्छौँ।”

साफ च्याम्पियनसिप अघि नेपाल–भारतबीच भएको मैत्रीपूर्ण खेलमा पनि भारत नै विजयी भएको थियो। काठमाडौँमा भएको एक खेल बारबरीमा सकिँदा अन्य खेल भने भारतले आफ्नो पक्षमा पारेको थियो।

च्याम्पियनसिपका लागि भारतसँग हुने प्रतियोगिताका विषयमा माल्दिभ्सबाट प्रतिक्रिया दिँदै नेपाली टिमका गोलकिपर समेत रहेका चेम्जोङ भन्छन्, “माल्दिभ्स मेरो दोस्रो घर हो। मैले यहाँ दुई वर्ष टीसी स्पोट्स क्लबका लागि फुटबल खेलेको छु, यहाँ मलाई चिन्ने धेरै हुनुहुन्छ, आशा छ आज हामीलाई समर्थन गर्न धेरै समर्थक मैदानमा आउनुहुन्छ।”

फाइनल खेलमा भारतलाई पराजित गरेको खण्डमा नेपाली फुटबल टोलीले इतिहास रच्नेछ। साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेसँगै इतिहास रचेको नेपालले अब उपाधिका लागि खेल्ने कप्तान चेम्जोङ बताउँछन्। शनिबार हुने खेलमा नेपाली खेलाडीले आफ्नो शतप्रतिशत दिने समेत उनले प्रतिक्रिया दिएका छन्।

यस्तै नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि फाइनलका लागि नेपालको तयारी राम्रो भएको जानकारी दिएका छन्। उनी भन्छन्, “फाइनलमा पछिल्ला खेलमा गरेको गल्तीलाई दोहोर्याउँने छैनौँ। यो खेल कठिन हुने भए पनि हामी आक्रामक र रक्षात्मक दुवै पक्षमा राम्रो गर्नेछौँ। हामी यो फाइनल खेलका लागि निक्कै मिहिनेत गर्नेछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved