हमाललाई मन्त्री बनाइएकोमा गगन थापाको आपत्ति

नेपालभ्युज

काठमाडौं। कांग्रेस नेता गगन थापाले गैरसांसद् गजेन्द्र हमाललाई मन्त्री बनाएकोमा आपत्ति जनाएका छन्।

थापाले शनिबार सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा शासकले वैधानिकताको कसीमा घोटेर मात्रै नपुग्ने बताउँदै उनले त्यस्तो निर्णयको प्रतिरक्षा पनि गर्न सक्नुपर्ने बताए।

सत्ता गठबन्धनबाट शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ नयाँ सरकार बनेपनि देउवाले लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएन। करीब ३ महीनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिइएकोमा उक्त मन्त्रिमण्डलभित्र गैरसांसद् हमाल पनि समेटिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान नाता पर्ने हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको केही दिन अघिदेखि चर्चा चुलिएको थियो।

प्रधानन्यायाधीश राणाले विज्ञप्ति नै निकालेर सार्वजनिक समाचारहरूमा आपत्ति जनाएका थिए। तर चर्चामा आए जस्तै शुक्रबार सरकार विस्तारका क्रममा हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइयो। जसको चौतर्फी विरोध भइरहेको बेला कांग्रेस नेता थापाले जनताबाट अनुमोदित नभई वैधानिकताको कसीमा निर्णय लिनु गलत भएको बताएका हुन्।

”हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन,” उनले प्रश्न गरेका छन्, ”त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?”

यद्यपि, कांग्रेसले हमाल आफ्नै कोटाबाट दाबी गरिरहेको छ भने शनिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेसकै कोटाबाट हमाल मन्त्री बनेकाले न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved