आजको मौसम

काठमाडौंसहित देशभर वर्षा, सतर्कता अपनाउन महाशाखाको अपिल

नेपालभ्युज

काठमाडौंसहित देशभर वर्षा, सतर्कता अपनाउन महाशाखाको अपिल
सांकेतिक तस्वीर

काठमाडौं। अहिले काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको र वर्षा भइरहेको हो।

देशभर वर्षा भइरहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो तथा राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार २३ भदौका दिन देशभर सामान्य बदली रही धेरै स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved