कुनै पनि बाबु-आमालाई आफ्ना हरेक छोराछोरी राम्रा लागेजस्तै हरेक स्रष्टालाई आफ्ना हरेक सिर्जना राम्रा लाग्छन्। हो। मलाई पनि आफ्ना हरेक सिर्जना त्यस्तै लाग्छन्। तर मेरा केही चर्चित गीतका सिर्जना-गर्भबारे बताउनुपर्दा केही गीतको चर्चा गर्न सान्दर्भिक लाग्दछ।
१. रातो टीका निधारमा….
करिब चौबीस वर्षअघि ‘अल्लारे’ नामक चलचित्र निर्माण भएको थियो। सो चलचित्रका निर्देशकले मलाई फिल्मको कथावस्तु बताउनुभयो र एउटा दृश्यका लागि यस्तो-यस्तो भावको गीत चाहियो भन्नुभयो। मैले सो फिल्मको कथाभावलाई मिल्दो एउटा गीत लेखेँ।
यो गीत निकै चल्यो। पछि त यही गीतको शीर्षक ‘रातो टीका निधारमा’ भन्ने नामक फिल्म नै बन्यो।
यो गीत लेख्दा मैले दसैँको दृश्य सम्झिएँ। किनभने मलाई त्यस्तै कथावस्तु बताइएको थियो। तसर्थ मैले दसैँको बेला परिवारका सबै सदस्य र आफन्तहरू बसेर टीका लगाएको र निधारमा रातो टीका टल्किएको सम्झिएँ र गीत लेखँे।
मैले यो गीत एकै बसाइमा लेखिसिध्याएको हुँ। करिब एक घण्टाको बसाइमा लेखिसिध्याएको हुँ।
२. छुन्छन तिम्लाई चञ्चल हावा….
यो गीत फिल्म ‘करोडपति’ मा समेटिएको छ। प्रसिद्ध गायक÷गायिका उदितनारायण झा र आशा भोसलेको स्वरमा यो गीत रेकर्ड भएको हो।
यो गीत लेख्न मलाई केही समय लाग्यो। किनभने, यो गीतमा व्यक्त भाव उतार्न निकै गाह्रो थियो।
एक पटक म त्रिशूली जाने बाटोहुँदै अघि बढिरहेको थिएँ। बाटोमा एउटा दृश्य देखेँ। एउटी युवतीले ओढिरहेकी पछ्यौरी हावाले उडाइरहेको दृश्य देखेँ। पछ्यौरीले हावाले उडाइरहेको र ती युवतीले त्यो पछ्यौरी सम्हालिरहेकी देख्दा मलाई यो गीत सिर्जना गर्न सहज भयो। त्यही दृश्यलाई सम्झिँदै मैले लेखेँ-
‘छुन्छन् तिम्लाई चञ्चल हावा
मनमा हुन्छ तिम्लाई डाहा’
यो गीत मैले लेख्न त एकै घण्टामा लेखेँ तर कथावस्तुअनुसार भाव उतार्न भने समय लागेको थियो।
३. भरे आउँछु सपनीमा…
यो गीत ‘माइली’ नामक फिल्मको लागि लेखेको गीत हो। यो गीतमा कुमार सानु र आनन्द कार्कीलगायतले गाउनुभएको छ। यो गीतको पूरा शब्द यस्तो छ-
‘भरे आउँछु सपनीमा पर्खि राख है
परेलीको ढोका खोली कुरी राख है’
यो गीतको शब्दलाई लिएर केहीले टिप्पणी पनि गरे। खासगरी, ‘परेलीको ढोका खोली’ भन्ने शब्दलाई लिएर टिप्पणी गरिएको थियो। टिप्पणी गर्नेहरूले भने, ‘निदाएको मान्छेले कतै परेलीको ढोका खोल्छ र ?’
टिप्पणी गर्नेहरूलाई मैले कस्तो जवाफ दिएँ भने, ‘निदाएर देख्ने सपना र माया-प्रेममा देख्ने सपना फरक कुरा हुन्। आँखा खोलेर पनि मानिसले प्रेमको झझल्को लिइरहेका हुन्छन्, आनन्द लिइरहेका हुन्छन्। देखिने र मायाको सपना फरक हुन्छ।’
४. हाम्लाई पनि मायाले हेर पार्वती…
यो फिल्म ‘अग्निपरीक्षा’ को गीत हो।
फिल्मका निर्देशकले गीतको ‘सिचुएसन’ बताएपछि म गीत लेख्ने तर्खरमा थिएँ। एकदिन म घरको कौसीमा बसिरहेको थिएँ। मेरो घरमा बस्ने एकजना युवाले पल्लो घरमा बस्ने केटीलाई जिस्काउँदै भनेको सुनेँ, ‘ए पार्वती हाम्लाई पनि मायाले हेर न…।’
यो वाक्यले मलाई छोयो। म तत्काल आफ्नो अध्ययन-कक्षमा छिरेँ र यही वाक्यलाई समेटेर गीत लेखेँ। पछि त ‘अग्निपरीक्षा’ यही गीतबाट नै चर्चित भयो।
५. नारायणघाटैमा, कति चाँडो माया बस्यो एकै रातैमा…
यो फिल्म ‘देवदुत’ का निम्ति लेखेको गीत हो।
यो गीत फिल्ममा समेटिएपछि निकै चर्चित भयो। गीत चर्चित भएसँगै मैले एउटा घटनाको पनि सामना गर्नुप¥यो।
यो गीतको छायाँकन नायक र नायिकालाई रिक्सामा चढाएर नारायणगढमा गर्ने सल्लाह बमोजिम नारायणगढमै भएको थियो। गीत निकै चल्यो। यही गीत चर्चित रहेकै बेला म काम विशेषले नारायणगढ गएँ। त्यतिबेला म ब्रिटिस एम्वेसीमा जागिरे थिएँ। नारायणगढ पुगेपछि म होटलमा बसिरहेको थिएँ, मेरा चालकले भने गाडीमा त्यो गीत बजाएछ। त्यही नजिकै एक जना व्यक्तिको पास्नी भइरहेको रहेछ र यो गीत सुनेपछि केही हुल्लडबाजहरू गीत बजिरहेको ठाउँमा आएछन् र चालकलाई सोधेछन्, ‘यो गीत कल्ले लेखेको हो ? नारायणगढ भनेको एकै रातमा माया बस्ने ठाउँ हो ?’
चालकले भनेछन्, ‘हाम्रो सरले लेख्नुभएको हो।’
ती हुल्लडबाजले सोधेछन्, ‘कहाँ हुनुहुन्छ तिम्रो सर ?’
‘माथि बस्नुभएको छ।’ चालकले भनेछन्।
ती हुल्लडबाज होटलमा छिरे र मसँग गीतको शब्दलाई लिएर विवाद गर्न थाले। मलाई होटलको वेयराले अन्तै लुकाइदिए। ती हुल्लडबाजको पिटाइ खानबाट म जोगिएँ।
कुनै पनि गीतबारे मानिसहरूले एउटा-एउटा टिप्पणी गर्दा रहेछन्। त्यस्तो टिप्पणी हाम्रा लागि ठुलो पाठ हो भन्ने मलाई लाग्छ।
Facebook Comment
Comment