काठमाडौं। बाजा घन्काउँदै सुटबुटमा सजिएर घरदैलोमा आउँदै गरेको समूह देख्नासाथ उनी घरभित्र पसिन्। त्यो समूहले घर पार गरेपछि मात्र उनी बाहिर निस्किइन्।
“भोट मागुञ्जेल त यिनीहरुको अनुहार देखिने हो नि, माथि पुगेपछि जनताको दुःख बुझ्दैनन्,” छिमेकीसँगै गुनासो गर्दै थिइन् उनी।
२७ वैशाखको राति १२ बजेबाट मौन अवधि शुरु भयो। अघिल्लो साँझसम्म त विभिन्न पार्टीका उम्मेदवारलाई ‘घरदैलो’ गर्दैमा फुर्सद थिएन। ओठमा मुस्कान च्यापेर हात जोड्दै अघिपछि कार्यकर्ताको हुल बाँधेर उम्मेदवारहरु दैलोमै आए। तर मध्यपुरथिमि नगरपालिकाको मनोहरा नदी किनारका सुकुम्बासी बस्तीकी ५० वर्षीय गंगा लामालाई भने यो चुनावी रौनकले छोएन।
अघिल्लो चुनावमा उत्साहका साथ भोट दिएर जिताएका जनप्रतिनिधि पाँच वर्षमा एकपटक पनि आफ्नो समस्या बुझ्न नआएको दुखेसो पोख्छिन् उनी। हरेक झरीमा मनोहरा नदीमा आउने बाढीका कारण रातभरी जागा बस्ने बाध्यता उस्तै रह्यो।
“पहिले भोट माग्न आउँदा घरभित्र खोला पस्ने समस्या दोहोरिँदैन भन्दै भोट हाल्न लगाए,” लामा भन्छिन्, “खोइ पोहोर त्यत्रो पानी घरभित्रै पस्यो। बिचल्ली बनायो। हप्तादिन घरभित्र पसिसक्नु भएन। कसले के गर्यो हामीलाई ?”
पाँच वर्षअघि पनि भोट माग्न आउँदा विभिन्न पार्टीका उम्मेदवारले उनीहरुलाई आशा देखाएको सुनाउँछिन् गंगा लामा। ‘राम्रो बाटो हुन्छ’, ‘घरभित्र खोला पस्दैन’, ‘सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन्छौँ’, ‘खानेपानीको सुविधा हुन्छ’, ‘खोलामा राम्रो तटबन्धन बन्छ’ लगायत आदि इत्यादी सपना बाँडे।
परिवार सुरक्षित हुने आशामा लामा लगायत मनोहरा मण्डलीको सिंगो सुकुम्बासी बस्तीले उत्साहसाथ २०७४ को स्थानीय तह निर्वाचनमा मतदान गर्यो। तर पाँच वर्ष बितिसक्दा पनि उनीहरुको समस्याको सुनुवाई भएन। पैसा नभएका बेला पानी नखाइ पनि बस्नुपर्छ। पानी पर्दा घर अगाडिको बाटो हिलै–हिलो हुन्छ। कयौँपटक बाढीले पुरै बस्ती नै डुबानमा पर्दा पनि तत्काल कुनै पहल चालिएन।
हरेक पटक घरमा बाढी पस्दा नगरपालिकाको कार्यालय धाएको सुनाउँछिन् लामा। चुनावमा हात जोड्दै घरदैलोमा आएका तिनै जनप्रतिनिधिको अगाडि हात जोडिन्। समस्या सल्टाइदिने आश्वासन बोकेर घर फर्किन्। पाँच वर्षमा एकपटक पनि जनप्रतिनिधि उनको टोलमा आएको उनीहरुले देखेनन्। त्यसैले अहिलेको निर्वाचनमा उनलाई तिनै दल र तिनका प्रतिनिधि देख्दा रीस उठ्छ।
“भोट माग्ने बेलामा मात्र नमस्कार गर्ने हो। अहिले त भोट माग्ने मान्छे आए पनि घरबाहिर निस्कनै मन लाग्दैन”, लामा आक्रोश पोख्छिन्।
समस्याको चाङ रहेको यो सुकुम्बासी बस्तीकी गंगा मात्रै होइन, अरु थुप्रै मतदाता नेता र कार्यकर्ताहरुदेखि रुष्ट छन्। अघिल्लो चुनावमा जस्तै भोट माग्न नेताहरु आएको देखेर क्रुद्ध १८ वर्षीया उमा राई आफ्नी आमासँग भन्दै थिइन्, “हामीलाई दुःख पर्दा नहेर्ने, एउटा सेवा, सुविधा नदिने अनि यिनीहरुलाई किन हामीले भोट दिने ? भोटसोट दिन जानुपर्दैन।”
१० वर्षदेखि त्यही खोलाको छेउको बस्तीमा बस्दै आइरहेकी ४० वर्षीया कुष्णदेवीको दुखेसो पनि उस्तै नै छ। खोला आएर घरभित्र पसेर बस्नै नसकिने व्यथा उनले सुनाइन्।
५५ वर्षे सीता लामाका अनुसार पोहोर मनोहरा बाढीले आवतजावत गर्न बनाइएको सानो पुल पनि बगाइदियो। अहिले उनीहरु खोलापारि जान आधा घण्टा हिँड्नुपर्छ। ढल मिसिएको खोला तर्दा खुट्टा पाक्ने समस्या हुन्छ। बर्षायामको बेला त उनीहरु खोला तर्नै सक्दैनन्।
उनीहरुसँग आफुबसेको जग्गाको लालपूर्जा पनि छैन। २५ वर्ष पसिना बगाएको घर आफ्नो नाममा हुन्छ भनेर पाँच वर्ष आशा राखे पनि पुरा नभएको उनको गुनासो थियो। उनीहरु बसेको बस्ती नै उठाउने हल्ला पनि सुन्दै आएकी छन्। बस्ती उठेमा कहाँ जाने, के गर्ने उनीहरुसँग कुनै विकल्प पनि छैन।
“ठाउँ–ठाउँमा लालपूर्जा बाँडिए पनि आफ्नो भने लालपूर्जा पाउँने कुनै पनि छाटकाट छैन,” उनी भन्छिन्, “जुन सरकारले लालपूर्जा र घरनम्बर दिन्छ उसैलाई भोट दिने हो।”
त्यही बस्तीमा सात वर्षदेखि बसोबास गर्दै आएका छन् एनु राईको परिवार। उनी पनि दल र नेताहरुदेखि रुष्ट छिन्। अघिल्लो चुनावमा गरेका प्रतिबद्दताहरु पूरा नगरिदिएकाले चित्त दुखेको छ उनको।
कतिसम्म भने बस्तीमा रहेको मानिसहरुको जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ता समेत हुँदैन। वडा, नगरपालिका धाउँदा उनीहरुलाई स्थायी बसोबास नभएको भन्दै सिफारिस नै गरिदिँदैनन्।
उनी भन्छिन्, “पहिलेपहिले त बसाइसराइको कागज देखाएपछि वडाले जुनसुकै दर्ता पनि गर्थ्यो तर अहिले पार्टीहरु परिर्वतन भइरहने भएकाले तिमीहरुको दर्तामा समस्या भएको छ भन्दै कुनै पनि दर्ता नै हुँदैन भन्नुहुन्छ।”
Facebook Comment
Comment