शिक्षा, स्वास्थ्यमा नगरपालिकाको बजेट लगानी गर्नेछौँ : विजयकृष्ण श्रेष्ठ

जनताले सहज र सुपथ मुल्यमा शिक्षा र स्वास्थ्यमा पहुँच पाउनेछन्। निःशुल्क शिक्षा, स्वास्थ्यको सुविधा पाउनेछन् जसले गर्दा जनताको खर्च घट्छ नै।

शिक्षा, स्वास्थ्यमा नगरपालिकाको बजेट लगानी गर्नेछौँ : विजयकृष्ण श्रेष्ठ

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका तर्फबाट मध्यपुरथिमि नगरपालिकाको नगर उप–प्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी।

तपाईंको उम्मेदवारी केका लागि?

केही गर्ने, केही गरी देखाउने योजना, सपना बोकेरै उम्मेदवारी दिएको छु। मध्यपुरथिमि नगरपालिकामा सबैभन्दा ठूलो समस्या भनेको शिक्षा, स्वास्थ्य र रोजगारी हो। सम्भवतः देशभरिकै समस्या हो। तर यो समस्या यहाँ पनि छ। संघीयतापछि स्थानीय सरकार भनेको कार्यान्वयनको निकाय हो। जनतासँग सिधै जोडिने निकाय भनेको स्थानीय सरकार हो। त्यसैले स्थानीय सरकारलाई शक्तिशाली बनाएको छ। कार्यान्वयन गर्ने सबैभन्दा तलको निकाय बनाएको छ। जनतासँग जोडिने अभिन्न अंग बनाएको छ। त्यसकारण शिक्षा, स्वास्थ्यमा नगरपालिकाको बजेट लगानी गर्नेछौँ। त्यसले गर्दा जनताले सहज र सुपथ मुल्यमा शिक्षा र स्वास्थ्यमा पहुँच पाउनेछन्। निःशुल्क शिक्षा, स्वास्थ्यको सुविधा पाउनेछन् जसले गर्दा जनताको खर्च घट्छ नै। पैसा नपाएर पढ्न नपाउने, औषधी उपचार गर्न नपाउने कुराको अन्त गर्ने दृढ अठोटका साथ हामीले यो उम्मेदवारी दिएका छौँ। रोजगारीको सन्दर्भमा मध्यपुरका वासिन्दाहरूलाई सकभर मध्यपुरमै रोजगारी दिने एउटा ध्येय, एउटा लक्ष्यका साथ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छौँ

मतदाताले तपाईंलाई नै मतदान गर्नुपर्ने कारण के हो ?

यो भन्दा अघिको जनप्रतिनिधिले विकासको नाम दिएर, विकासको कामहरू गरेँ भनेर पोखरीहरू बनायो, पाटीहरू बनायो तर व्यवस्थित रुपमा बनाएन। हाम्रो मध्यपुर थिमि नगरपालिका भनेको पुरातात्विक, ऐतिहासिक ठाउँ हो। यो ठाउँलाई व्यवस्थित गराएन। पोखरी दुईओटा बनाएर, पाटी चार ओटा बनाएर, पार्क बनाएर टुरिस्ट(पर्यटक) आउने होइन। टुरिस्ट आउन समग्र रुपमा वातावरण राम्रो हुनुपर्छ। मध्यपुरथिमि नगरपालिकामा बिल्डिङ कोड (भवन कोड) पनि बनेन।

हाम्रो बालकुमारी मन्दिर, सिद्धिकाली मन्दिर परिसर शक्ति पीठहरू हो। सौन्दर्यको ठाउँ पनि हो। पुरातात्विक, सांस्कृतिक ठाउँ हो। तर त्यतातिर हेर्ने हो भने घरहरूको उचाइ कुनै नौ तल्ला छ, कुनै सात तल्ला छ, कुनै ६ तल्ला छ। एउटा भवन कोड लागू गरिएन। यदि भवन कोड लागू गरिएको भए घरहरूको समान उचाइ हुन्थ्यो। समान डिजाइन हुन्थ्यो। पुरानै शैलीमा बन्थ्यो जसले गर्दा घुम्न आउने ठाउँ बन्थ्यो। हामीले यो कुरा पहिले सल्लाह नदिएको होइन तर कार्यान्वयन भएन। मध्यपुरवासीको आर्थिक अवस्था मजबुत बनाउनको लागि नगरपालिकाबाट केही पनि कार्यहरू नभएको प्रमाणित भयो। जसले गर्दा केही सानो समस्याको लागि आफ्नो निजी जमिन बेच्नुपर्ने, उपचार गर्न निजी जमिन बेच्नुपर्ने अवस्था रह्यो। जसले गर्दा केही समयपछि विस्थापनको समस्या आउने अवस्था देखिइसकेको छ।

नगरपालिकाको बजेट हामीले तिरेको कर नै हो। एउटा कामै नभएको मानिसले पनि चकलेट किन्दा कर तिरिरहेको हुन्छ। त्यो करबाट बन्ने बजेटलाई जनताको अत्यन्त आधारभूत आवश्यकता वस्तुहरूमा हामीले सर्वप्रथम लगानी गर्छाैँ। अनि मात्रै अरू कुराहरूमा लगानी गर्छाैँ। त्यसो भनिरहँदा पुरानो सम्पदाहरूलाई नाश गर्ने भनेको होइन। वास्ता नगर्ने भनेको पनि होइन। पुरानो सभ्यता, कला संस्कृति छ, त्यसलाई हामी पुरानै शैलीमा संरक्षण गर्छाैँ। झिंगटीको छाना छ भने हामी झिंगटीको छाना नै राख्छौँ। त्यसमा सुनको जलप हामी लगाउँदैनौँ। सुनको जलप लगाएर जनताले शिक्षा, स्वास्थ्यको सेवा पाउने हुन सक्दैन। सुनको छाना छाउँदैमा भगवानले आशिर्वाद दिने हुँदैन। सुनको छाना नहाल्दैमा भगवान रिसाउने होइन। जनताको आधारभूत आवश्यकतालाई ध्यानमा राखेर नगरपालिकाको बजेट परिचालन गर्छाैँ। जसले गर्दा जनताले शान्ति, सुख प्राप्त होस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved