लिपुलेक र कालापानीमा जनगणना नहुने, जनसंख्या ३ करोड नपुग्ने अनुमान

नेपालभ्युज

लिपुलेक र कालापानीमा जनगणना नहुने, जनसंख्या ३ करोड नपुग्ने अनुमान

काठमाडौं। बिहीबारदेखि शुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोलि(बिहीबार)देखि शुरु हुँदैछ। जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए।

जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधिमा हुने उनले बताए। जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।

काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरु मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २/२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए।

जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने जानकारी उनले दिए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भने भौतिक रुपमा जनगणना नहुने पक्काप्राय भएको छ। श्रेष्ठले भने, ‘‘भारतले भौतिक रुपमा उपस्थिति भएर जनगणना गर्न नदिएमा अनुमानित विवरण प्रकाशित गर्छौं।”  उक्त क्षेत्रमा ७ सय देखि ८ सयसम्मको हाराहारीमा जनसंख्या रहेको प्रारम्भिक तथ्यांक प्राप्त भएको जानकारी उनले दिए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए। सबै तहमा चाहिने खण्डिकृत विवरणहरु जनगणनाबाट आउने उनको भनाइ छ।

आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उनले बताए। उनले भने, ‘‘सबै तहमा चाहिने खण्डिकृत डेटाहरु जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजनाहरु तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रुपमा अहिलेको जनगणनालाई लिएका छौँ। यो धेरै महत्वपूर्ण छ। यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि दुरगामी प्रभाव पार्छ।’’

विगतदेखि नै २०७८ को जनगणनासम्म नेपालको जनसंख्या ३ करोड पुग्ने अनुमान गरिएपनि त्यति नपुग्ने विभागले जनाएको छ। विभागका महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान गरिएको जानकारी दिए। विदेश पलायन भएर उतैको नागरिकता लिने क्रम बढेको र नेपालको जन्मदर पनि घटेका कारण पूर्वअनुमानित संख्या नपुग्ने अनुमान गरिएको उनले बताए।

१२ औँ शृंखलाको जनगणना बिहीबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved