चाडपर्वले चलायमान बनाएको देशको अर्थतन्त्र

दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व चाडपर्व केवल संस्कृतिको निरन्तरता होइनन्। यी त अर्थतन्त्र चलायमानका ठूला अवसर पनि हुन्।

चाडपर्वले चलायमान बनाएको देशको अर्थतन्त्र

जनकपुरधाम। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा अहिले निकै चहलपहल बढेको छ।

दशैं सकिएर दीपावली चलिरहेको र छठ पर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरूमा मानिसहरूको भीड लागेको छ।

चाडपर्वका लागि मानिसहरूले खाद्यान्नदेखि लत्ताकपडा किन्ने गरेका छन्। जनकपुरका मुख्य बजारहरू शिव चोक, राम चोक, मुरली चोक, जानकी चोकलगायत ठाउँहरूमा किनमेल गर्ने मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ।

दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजार यसैगरी चलायमान हुनेगर्छ। यी ठूला चाडपर्व केवल संस्कृतिको निरन्तरता होइनन्। यी त अर्थतन्त्र चलायमानका ठूला अवसर पनि हुन्।

सर्वसाधारणले यस्तै ठूला चाडपर्वका लागि वर्षभरि रकम जोहो गर्छन् र यही समयमा खर्च गर्ने गर्छन्। वर्षभरि कर्मचारीले सरदर १३ महीनाको तलब पाउँछन्। थप एक महीनाको तलब दशैं खर्चका लागि दिइने नेपालमा चलन छ।

करिब पाँच लाख कर्मचारीका लागि चार अर्बभन्दा बढी रकम दशैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्यांक छ। यसबाहेक निजी क्षेत्रका संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ।

पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरू बताउँछन्। अन्य महीनाको तुलनामा दशैंदेखि छठ पर्वको अवधिमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दशैंताका औसतमा करिब १०/१५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौंको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।

त्यसैले ठूला चाडपर्वले अर्थतन्त्र चलायमान बनाउने विश्लेषण छ अर्थशास्त्री डा. सुरेन्द्र लाभको।

“पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दशैंमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्। कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकतासमेत विकसित भएको देखिन्छ”, डा. लाभ भन्छन्।

दशैं तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरीदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा आदिले अर्थतन्त्र चलायमान हुने गरेको हो।

व्यवसायीहरूका अनुसार दशैंदेखि छठपर्वसम्म करिब १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवं पेय पदार्थको समेत कारोबार बढ्छ।

 

जनकपुरमा मात्र हरेक वर्ष दशैं तिहारमा २५ हजार खसीबोका खपत हुने तथ्यांक छ। यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ। अर्थविद्हरूका अनुसार दशैंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ।

अर्थविद्हरूका अनुसार दशैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ।

दशैंअघिको समयमा मात्र अन्य समयको १० महीना बराबरको व्यापार हुने गरेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृपाशंकर साह बताउँछन्। उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ।

गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दशैं , दीपावली, तिहार र छठ पर्वमा व्यापारसमेत बढ्ने गर्छ। कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दशैंअघिको दुई/तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ। व्यापारीहरूको पनि वर्षभरिको कमाइ हुने समय भनेकै दशैं, तिहार, छठजस्ता महान् चाडपर्व नै हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved