धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीसहितको अहिलेको समीकरण पूरै अवधि जाने बताएका छन् ।
धनगढी विमानस्थलमा आज संचारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा सत्य नभएको बताए ।
उनले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको भन्दै पुरै कार्यकाल टिक्ने बताए । प्रधानमन्त्रीले भने, ‘बजारमा गठबन्धनलाई लिएर अनेक खालका चर्चा भइरहन्छन्, तर अहिले कुनै समस्या छैन, यो पुरै कार्यकाल जान्छ ।’
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी पनि गरे । अन्य प्रदेशमा अहिलेको गठबन्धनबाट मुख्यमन्त्री भईसकेको भन्दै उनले अब कोशी प्रदेशमा मात्र बाँकी रहेको बताए ।
अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा मात्रै लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना पनि सम्भव भएको उनले बताए ।
उनले भने, ‘अहिलेको समीकरण वामपन्थीको मात्र नभएर यसमा गैर वाम पनि छन् । समझदारी राम्रो बन्दै गयो भने वाम एकताको सम्भावना पनि रहन्छ ।’
प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जनाए । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उनले बताए ।
Facebook Comment
Comment