उपनिर्वाचन

डकेन्द्रसिं थेगिमको चुनावी सभामा हर्क साम्पाङ- मुढामा भोट हाल्नुस्, इतिहास लेख्नुस

नेपालभ्युज

डकेन्द्रसिं थेगिमको चुनावी सभामा हर्क साम्पाङ- मुढामा भोट हाल्नुस्, इतिहास लेख्नुस

इलाम । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट गर्न अपिल गरेका हुन् ।

उनले थेगिमको चुनाव चिह्न मुढामा मतदान गर्नु इतिहास लेखनमा जोडिनु भएको बताएका छन् । “मुढामा भोट गर्नुस् र इतिहास लेखनमा जोडिनुस् । इतिहास लेखनको एउटा अक्षर बन्नुस्,” साम्पाङले भने ।

अरु उम्मेदवारहरूले विभिन्न आश्वासन दिने उल्लेख गर्दै उनले भने, “यहाँ मासु, चिउरा, जागिर के-के हो के-के; धेरै आश्वासनहरू आउँछन् । तर, तपाईंहरू त्यसको पछि नलाग्नुस् । अरुको आसमा बाँच्नु पनि हुँदैन । स्वाभिमानी नेपाली अरुको आसमा बाँच्नुहुन्न । यो कुरा मनन गर्नुस् ।”

लोकतन्त्रमा सबैभन्दा ठूलो अधिकार मताधिकार भएको उनले बताए । “सबैसँग एउटै भोट हो । १० तलामाथि बस्नेको पनि त्यही एउटै भोट हो, भुइँमान्छेको पनि त्यही एउटै भोट हो । ५ वटा डिग्री भएको मान्छेसँग पनि हुने त्यही एउटा नै हो, साधारण नाम लेख्नेसँग हुने पनि त्यही एउटै हो । तपाईंहरूले आ-आफ्नो एउटा भोट सही ठाउँमा प्रयोग गर्नुस्,” उनले भने ।

वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचनमा पहिचानवादीहरूको तर्फबाट स्वतन्त्ररूपमा थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । त्यसबाहेक नेकपा (एमाले) का सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू, नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालगायत अरु पनि प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved