इरान-इजरायल तनावले विश्व बजारमा इन्धनको मूल्य बढ्ने सम्भावना

तेल उत्पादनमा मध्यपूर्वका देशको ठूलो योगदान छ । तेलको मूल्य सधैँ आपूर्ति र मागको नियमबाट निर्धारित हुन्छ भन्ने छैन । विश्व बजारमा तेल मूल्य निर्धारणमा प्रभाव पार्ने अर्को ठूलो कारण हो— यस क्षेत्रको भूराजनीतिक तनाव ।

नेपालभ्युज

इरान-इजरायल तनावले विश्व बजारमा इन्धनको मूल्य बढ्ने सम्भावना

काठमाडौं । गाजा युद्धमा इरानले हमास र हिज्बुल्लाह समूहलाई सहयोग गर्दै आएको थियो । यी दुई समूह इजरायलको मुख्य टाउको-दुखाइ थिए । सम्भवत: इरानलाई तर्साउन इजरायलले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा क्षेप्यास्त्र आक्रमण गर्‍यो ।

त्यसक्रममा एक इरानी कन्सुलरसहित सातजना मारिए । इरानले अप्रिल १३ को रात इजरायलमाथि ३०० भन्दा बढी ड्रोन आक्रमणको कारण प्रष्ट गरेको छ । इरानले भनेको छ कि यो आक्रमण बढ्दो क्षेत्रीय युद्धको सम्भावना, इरानको सुरक्षा र प्रतिरक्षा अधिकारसँग सम्बन्धित छ ।

इरानी राष्ट्रपति इब्राहिम राइसीले आक्रमणको भोलिपल्ट यस्तो प्रतिक्रिया दिए । राष्ट्रपति राइसीले भनेका छन्— इरानको आक्रमण यहुदीवादी राज्य इजरायलविरुद्ध एक बलियो प्रहार हो ।

उनले इजरायलले दमास्कसमा आफ्नो शिविरमा गरेको आक्रमणको स्मरण गर्दै इरानी कारबाहीलाई ‘वैधानिक प्रतिरक्षा’ को संज्ञा दिएका छन् ।

इजरायलले ९९ प्रतिशत आक्रमण विफल बनाएको दाबी गरिरहँदा इरानले भने आक्रमण उद्देश्यअनुरूप सफल भएको प्रतिक्रिया दियो । इरानी सैन्य प्रमुख मोहम्मद बाघेरीले भने— उद्देश्यअनुरूप आक्रमण सफल भएको छ । थप आक्रमण जारी राख्न आवश्यक छैन ।

इरानका यी प्रतिक्रियाबाट इजरायललाई जवाफ दिने मनसाय व्यक्त हुन्छ । सम्भवत: युद्धको भावी रूप भने इजरायलको प्रत्याक्रमण रणनीतिमा भर पर्नेछ ।

यो विवादको अर्को महत्त्वपूर्ण कारण हर्मुज पासमाथिको नियन्त्रण हो भन्ने बिर्सन मिल्दैन । इरानले इजरायलमाथि आक्रमण गर्नु एक दिनअघि ओमानको खाडीमा पर्ने होर्मुज पास हुँदै गइरहेको एक कच्चा तेलबाहक जहाज नियन्त्रणमा लिएको थियो ।

होर्मुज पासमा इरानको कडा नियन्त्रण छ । विश्व तेल बजारको २०% व्यापार होर्मुज पासको बाटोबाट हुन्छ । होर्मुज पास मात्र हैन, इरानले स्वेज नहरलाई समेत नियन्त्रणमा लिने धम्की दिइरहेको छ ।

ई ईकोनोमिक टाईम्सका अनुसार स्वेज नहरबाट प्रतिदिन ५.५ मिलियिन ब्यारेल कच्चा तेलको ढुवानी हुन्छ । दक्षिण एशिया आउने ८० प्रतिशतभन्दा बढी कच्चा तेल यही बाटोबाट आउँछ ।

होर्मुज पासमा इरानले आफ्ना ब्यालेस्टिक तथा क्रूज मिसाईल तैनाथ गरेको छ । यस क्षेत्रका हुथी विद्रोहीसँग इरानको सहकार्य छ । हुथी विद्रोही आफूलाई सिया मुसलमान र इरानी ध्रुवको सहयोगी ठान्दछन् ।

होर्मुज पास र स्वेज नहरमाथि इरानी नियन्त्रण कायम भएमा विश्वको तेल बजारमा त्यसको ठूलो असर पर्नेछ । अप्रिल यता मात्रै कच्चा तेलको मूल्यमा प्रति ब्यारेल १० डलरको वृद्धि भएको छ । अनुमान छ कि आउने साता यो अझ बढ्नेछ ।

तेल उत्पादनमा मध्यपूर्वका देशको ठूलो योगदान छ । तेलको मूल्य सधैँ आपूर्ति र मागको नियमबाट निर्धारित हुन्छ भन्ने छैन । विश्व बजारमा तेल मूल्य निर्धारणमा प्रभाव पार्ने अर्को ठूलो कारण हो— यस क्षेत्रको भूराजनीतिक तनाव ।

नेपालमा तेल भारत हुँदै आउँछ । भारतका मुख्य तेल आपूर्तिकर्ता देश भने इराक, साउदी अरेबिया, यूएई, इराक र अमेरिका हुन् । सन् २०११ अघि भारतले इरानबाट तेल खरिद गर्दथ्यो । इरानमाथि भारतीय प्रतिबन्धपछि अमेरिकी कम्पनीसँग समेत तेल खरिद गर्न थालेको छ ।

इरान मध्यपूर्वको एक बलियो क्षेत्रीय शक्ति हो । इराकमा अमेरिकी आक्रमण र सद्दाम हुसेनको पतनपछि इरान यो क्षेत्रको एक मात्र क्षेत्रीय शक्ति रहँदै आएको छ । अमेरिकी साझेदार साउदी अरेबिया नयाँ क्षेत्रीय शक्तिका रूपमा विकास हुनसक्ने सम्भावनाबीच अरब अतिवादी सङ्गठनहरूलाई इरानले सहयोग गर्न थालेको थियो । हमास, हिज्जबुल्ला र हुथी विद्रोही त्यस्तै समूह हुन् ।

इरान-इराक युद्धको समयमा इजरायलले इरानलाई सहयोग गरेको थियो भने इजरायलको स्थापनादेखि नै इरानले इजरायललाई मान्यता दिएको थियो । तर, अहिले यी दुई देशको भूराजनीतिक सम्बन्धका आधार परिवर्तन भएका छन् । इरान-इजरायल तनावको राजनीतिक मूल्य आफ्नो ठाउँमा छ,यसले विश्व तेल बजार र विश्व अर्थतन्त्रमै अभाव र मूल्यवृद्धि निम्त्याउने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved