भाजपाको चुनावी घोषणापत्र– नाम नै ‘मोदीको ग्यारेन्टी’

नेपालभ्युज

भाजपाको चुनावी घोषणापत्र– नाम नै ‘मोदीको ग्यारेन्टी’

काठमाडौं । छिमेकी देश भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले आइतबार १८ औं लोकसभा निर्वाचनको चुनावी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रको नाम नै ‘भाजपाको संकल्प– मोदीको ग्यारेन्टी’ राखिएको छ । साथै ‘फिर एकबार, मोदी सरकार’ नारा पनि भाजपाले तय गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त मञ्चमा ४ नेता गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा र अर्थमन्त्री निर्मला सीतारमण थिए । उनीहरुले सामुहिक रुपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले भने–‘आज भाजपाले विकसित भारतको संकल्प–पत्रलाई देशका सामु राखेको छ ।’

सन् २०१४ को आम निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएका थिए । त्यसयता उनले दुई कार्यकाल पूरा गरेका छन । १० वर्ष कार्यकाल पूरा गर्ने उनी भाजपाका पहिलो प्रधानमन्त्री हुन् । भाजपामा प्रथम प्रधानमन्त्री अटलबिहारी बाजपेयीको कार्यकाल करिब साढे ६ वर्षको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफू र आफ्नो दलले ‘ह्याट्रिक’ गर्ने दाबी गर्दै आएका छन् । भाजपाले विगत १० वर्षे कार्यकालका उपलब्धिको पनि चर्चा गरेको छ ।

राम जन्मभूमिमा राममन्दिर निर्माण, संविधानको धारा–३७० को खारेजी, तीन तलाकको अन्त्य, नागरिकता ऐन संशोधन विधेयक, महिला आरक्षण विधेयक, चन्द्रायान–३ को सफलता र भारतीय अर्थतन्त्र विश्वको पाँचौं ठूलो बनेको विषयलाई ठूला उपलब्धिका रुपमा चर्चा गरिएको छ ।

घोषणापत्रले आधुनिक तथा विकसित भारतका ४ आधार स्तम्भ युवाशक्ति, नारीशक्ति, किसान शक्ति र गरिबशक्तिलाई शसक्तिकरण गर्ने लक्ष्य राखेको छ ।

घोषणापत्रले ७० वर्षमाथिका सबै जेष्ठ नागरिकलाई ५ लाखसम्मको उपचार निशुल्क गर्ने घोषणा गरेको छ । त्यसै गरी गरिब जनताका लागि ३ करोड घर बनाउने आश्वासन दिइएको छ । सन् २०२९ सम्म निशुल्क रासन कार्यक्रम जारी राख्ने बताइएको छ ।

त्यसै गरी एकीकृत नागरिक संहिता बनाउने, ‘वान नेसन, वान इलेक्सन’ लागू गर्ने, कृषि उपजमा समर्थन मूल्य वृद्धि गर्ने, पुँजीहीन उद्यमीले प्राप्त गर्ने सहज ऋणको सीमा २० लाख बनाउने, देशभरि रेलमार्गको आधुनिकीकरण गरी बुलेट ट्रेन पूर्वाधार विस्तार गर्ने लगायतका योजना ‘मोदीको ग्यारेन्टी’ मा समेटिएका छन् ।

भारतमा अप्रिल १९ देखि जुन १ सम्म गरी ७ चरणमा लोकसभाको निर्वाचन हुँदैछ । चुनावी परिणाम जुन ४ मा एकैपटक घोषणा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved