नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान वैशाख २ गतेदेखि, घरदैलो कार्यक्रम पनि गर्ने

नेपालभ्युज

नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान वैशाख २ गतेदेखि, घरदैलो कार्यक्रम पनि गर्ने
फाइल तस्वीर

काठमाडौं । आगामी शैक्षिक सत्रका लागि सरकारले वैशाख २ गते आइतबारदेखि देशैभर एकसाथ विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न सबैमा अपिल गरेको छ ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित अभियान सुरु हुन लागेको केन्द्रले जनाएको छ ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न अभियान सुरु गर्न लागेको बताउँदै केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गर्दै अभियानको सुरुवात हुनेछ ।

वैशाख ५ गते केन्द्रले ब्यानरसहित घरदैलो कार्यक्रम गर्नेछ भने वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेलगायत कार्यक्रम गर्नेछ ।

अभियानकै क्रममा वैशाख १० गते भर्ना भएका बालबालिकालाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने कार्य योजना बनेको छ ।

केन्द्रको पछिल्लो तथ्यांकअनुसार, पूर्वप्राथमिक तहको कूल भर्ना दर ९४.९ प्रतिशत छ । यद्यपि माध्यमिक शिक्षा परीक्षासम्म पुग्दा विद्यार्थीको संख्या करिब ५० प्रतिशतले घट्ने गरेको छ । विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न आवश्यक रहेको सरोकारवालाले बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved