वामदेव गौतम प्रधानमन्त्रीको आसनमा बसेपछि…

त्यसो त गौतम आफैँ प्रधानमन्त्रीका ‘रहरे’ नेता हुन् । प्रधानमन्त्री हुनका लागि हर्दम प्रयास गरेका गौतमले यसअघि ‘पाँच वर्ष मात्रै प्रधानमन्त्री बनाइए देशले पश्चिमा मुलुकहरूलाई उछिन्ने’ अभिव्यक्तिसमेत दिन्थे ।

नेपालभ्युज

वामदेव गौतम प्रधानमन्त्रीको आसनमा बसेपछि…

काठमाडौं । बुधबार उपाध्यक्ष निर्वाचित गर्ने प्रयोजनसहित राष्ट्रियसभा बैठक जारी थियो । उपाध्यक्ष पदको उम्मेदवार थिए नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी ।

अध्यक्ष नारायण दाहालले मतविभाजनको समय सुरु भएको घोषणा गरे । त्यसपछि सांसदहरू आफूले रुचाएको उम्मेदवारको पक्षमा हस्ताक्षर गर्न तोकिएको उपकक्ष लबीतिर हिँडे ।

अलि अघि लागे सांसद वामदेव गौतम (Bamdev gautam) । उनी चाँडै फर्किए पनि । उनी फर्किँदा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘सरकारको आसन’मा बसिसकेका थिए ।

मन्त्री श्रेष्ठलाई उतैबाट हेर्दै आएका गौतम ‘सम्माननीय प्रधानमन्त्री’ को आसनमा बसे र मन्त्री श्रेष्ठसँग गफिन थाले । पछि चाल पाए क्यारे ! आफ्नै पछाडिको ‘मनोनीत आसन’ मा गएर बसे ।

त्यसो त गौतम आफैँ प्रधानमन्त्रीका ‘रहरे’ नेता हुन् । प्रधानमन्त्री हुनका लागि हर्दम प्रयास गरेका गौतमले यसअघि ‘पाँच वर्ष मात्रै प्रधानमन्त्री बनाइए देशले पश्चिमा मुलुकहरूलाई उछिन्ने’ अभिव्यक्तिसमेत दिन्थे ।

उनी राष्ट्रपतिबाट मनोनीत ३ सांसदमध्येका एक सांसद हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीन समयमै राष्ट्रियसभा छिरेका हुन् । पछि नेकपा एमाले र माओवादी केन्द्रका रूपमा पूर्ववत् अवस्थामा फर्किएपछि नेकपा एकता महाअभियान चलाएका उनले त्यसबेला आफू प्रधानमन्त्री बन्नैका लागि राष्ट्रियसभा आएको बताउँथे ।

उनले त्यसैगरी ठूला नेताकहाँ ‘लबिइङ’समेत गरेका थिए । उसो त राष्ट्रियसभा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने प्रावधान छैन । तर, उनी त्यो संशोधन गरेरै भएपनि आफू प्रधानमन्त्री बन्ने बताउँथे ।

नेकपा फुटेदेखि बेचैन रहेका गौतम पछिल्लो एमाले-माओवादी गठबन्धनबाट हौसिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved